डण्डीवियो खेलेर पचास हजार नगद पुरस्कार जित्यो अमरावतीले

1331 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- प्रतियोगिताको आयोजना भए देखि धेरैले निकै चासो देखाएको र सर्वत्र चर्चा कमाएको धादिङ जिल्लास्तरीय अन्तर मावि डण्डीवियो प्रतियोगिता सम्पन्न भएको छ । पचास हजार राशी पुरस्कार रहेको जिल्ला स्तरीय डण्डीवियो प्रतियोगिता अमरावती माध्यमिक बिद्यालय मैदीले जितेको छ । डण्डीबियो प्रतियोगिता जिल्लामा पहिलो पटक आयोजना गरिएको हो ।
धादिङ स्काउट र डण्डीबियो संघले आयोजना गरेको जिल्ला स्तरिय माध्यमिक विद्यालय डण्डीबियो प्रतियोगितामा ज्वालामुखी गाउँपालिका ३ मैदी अमराई स्थित अमरावती मावि मैदी प्रथम भएको हो । डण्डीबियो प्रतियोगितामा प्रथम भएको अमरावतीले पचास हजार रुपैयाँ नगद पुरस्कार ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा नीलकण्ठ माविले द्धितीय भई तीस हजार ,तृतीय हुने रानीपौवा मावि सल्यानटारले बीस हजार र कुमारीदेवी मावि ज्यामरुङले सान्त्वना पुरस्कार स्वरुप दश हजार रुपैयाँ नगद प्राप्त गरेको छ ।
नेपाल स्काउटका जिल्ला आयुक्त विनोदमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन समारोहमा विजयी विद्यालयका खेलाडी समूहलाई नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्गाकुमार शाक्यले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको संचालन जिल्ला समन्वय आयुक्त शिवराज सापकोटाले गर्नुभएको थियो ।

नेपाली मौलिकता बोकेको डण्डीवियो खेल संरक्षण र प्रचार प्रसारको अभावले लोप हुने अवस्थामा पुगेकोले यस्को महत्वको बारेमा युवा पुस्तालाई जानकारी दिएर खेलप्रति आकर्षण बढाउने उद्धेश्यले जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिएको नेपाल डण्डिवियो संघका राजकुमार श्रेष्ठले वताउनु भयो । तीन दिन सम्म धादिङबेसी खुल्लामञ्चमा भएको खेल हेर्न सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो । प्रतियोगितामा जिल्लाका संस्थागत र सामुदायिक दुवै तर्फका गरी ४३ वटा माध्यमिक विद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । खेलको वारेमा पुर्व जानकारी दिन यस अघि सहभागिहरुलाई प्रशिक्षण समेत दिईएको थियो ।

(फोटो फिचर सहित )