धादिङबेसीमा फुटपाथ अतिक्रमण र अव्यवस्थित पार्किङ हटाईने

1115 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी- सदरमुकाम धादिङबेसीको वजार क्षेत्रमा बर्षौ देखि बढ्दै गएको फुटपाथ अतिक्रमण र अव्यवस्थित पार्किङ हटाईने भएको छ ।  वजारमा फुटपाथ नभएका कारण सर्वसाधरणले हिंडडुल गर्न कठिनाई भोग्नु परेकोे, अपाङ्गता भएका व्यक्तिहरु आवात जावतमा निकै समस्या बढेको जस्ता जनगुनासो बढ्दै गएपछि नीलकण्ठ नगरपालिकाले सरोकारवाला पक्षसंग समन्वय गरी सदरमुकाम भित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने तयारी गरेको हो । घर पसलको अगाडी सडक सम्म सामान राख्ने, जताततै मोटरसाईकल पार्किङ गर्ने, पैदलयात्रुलाई हिंडडुल तथा सडक वारपार गर्न समेत नदिने प्रवृति बढ्दै गएकाले कडाईका साथ सडक छेउ खाली गर्ने अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
नगरपालिकाले विभिन्न निकायको सहकार्यमा धादिङबेसी वजार क्षेत्रभित्रको मु्ख्य सडकमा फुटपाथ पसल तथा अव्यवस्थित पार्किङ हटाउन लागेको हो । नगरपालिकाको प्रस्तावलाई जिल्लाका यातायात व्यवसायी, निजी क्षेत्रका संस्थाहरु, टोल सुधार समितिले राम्रो कामको शुरुवात हुन लागेको भन्दै सहयोगको माप्रतिवद्धता जनाएका छन । सदरमुकाम क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन यही चैत २४ गतेदेखि नै उक्त अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
वजारक्षेत्रको ट्राफिक सुधारका लागि लेनलाई विशेष व्यवस्थापन गर्ने, बस पकेट नियमन गर्ने, जेव्रा क्रसिङको व्यवस्था गर्ने, वजार भित्र सडक छेउ र फुटपाथ समेत कव्जा गरी रोकिने सवारी साधन हटाएर पैदलयात्रुको आवतजावतलाई सहज वनाउने कार्ययोजना रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले वताउनु भयो ।
सडकको किनारामा फुटपाथ समेत नराखि जथाभावी पसल राख्दा वा पार्किङ गर्दा सवारी जाम हुनुका साथै पैदलयात्रीलाई सास्ती भएको जनगुनासो बढेपछि सडक किनार र फुटपाथ अतिक्रमण खाली गर्न लागिएको पनि प्रहरी उपरिक्षक वैदवारले जानकारी दिनु भयो । धादिङबेसीको वजार क्षेत्रमा अव्यवस्थित पार्किङ हटाउन विगतमा पनि पटक पटक प्रयास हुदै आएको भएपनि सफल हुन नसकेकाले यस पटक पनि पुरानै प्रवृति दोहोरिने होकि भन्ने आशंका धेरैले गरेका छन ।
वजार क्षेत्र भित्र रहेका बैक तथा वित्तिय संस्थाको कारण वजार क्षेत्रमा सबैभन्दा धेरै अव्यवस्थित पार्किङ हुने गरेको पाईएकाले बैक तथा वित्तिय संस्थालाई तत्काल पार्किङको व्यवस्था मिलाउन निर्देशन दिईसकिएको र वजार भित्र ठाउँ ठाउँमा निःशुल्क तथा सशुल्क पार्किङको लागि स्थानको खोजी भईरहेको नगरपालिकाले जनाएको छ ।