हत्या गरी फरार अभियुक्त १७ बर्ष पछि यसरी पक्राउ परे

1043 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-हत्या गरी फरार रहेका धादिङ दार्खाका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेको समाचार यति बेला निकै चासोको बिषय बनेको छ । पक्राउ परेका दुवै जना माथि १७ बर्ष अघि भारतीय सेनामा कार्यरत परशुराम तामाङको निर्मम हत्या गरेको अभियोग लागेको छ ।

फरार भनिएका अभियुक्त १७ बर्ष सम्म कहाँ गएका थिए । प्रहरीले उनिहरुलाई किन पक्राउ गर्न सकेको थिएन । यस बिषयमा धादिङ न्यूज डट कमले केही तथ्यहरुको खोजी गरेको छ ।

०५९ कात्तिक २९ गते धादिङ साबिक दार्खा गाबिस(२ हाल खनियाबास गाउँपालिका(३ मा पर्ने २४ वर्षीय पशुराम तामाङलाई धारिलो हतियार खुकरी र नाईन स्टिक प्रहार गरी हत्या गरी फरार रहेका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ खनियाबास गाउँपालिका(३ बस्ने ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौं कागेश्वरी मनहरा नगरपालिका(६ मुलपानी बस्ने धादिङ खनियाबास गाउँपालिका(३ घर भएका ३७ वर्षीय शुक लामा तामाङ रहेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो महारागजंबाट खटिएको प्रहरीले गोम लामालाई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका(१ गागलफेदी र शुक लामालाई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका(१ बाबा चोक मुलपानीबाट फेला पारी पक्राउ गरेको हो । उनीहरुले पशुराम तामाङलाई पुरानो रिसईबी तथा युवतीको विषयलाई लिएर भएको बिबादमा धारिलो हतियार खकुरी तथा नाईन स्टिक समेत प्रहार गरी हत्या फरार भएका थिए ।

साथै वारदात समयबाटै फरार रहेका गोम लामा तामाङ बैदेशिक रोजगारीको सिलसिलामा दुबई गई ३ वर्ष बसी फर्की आए पश्चात गागलफेदीमा कृषि फर्म तथा घर जग्गाको व्यबसाय गर्दै आएको र शुक लामा तामाङ कतार तथा मलेशिया समेतमा ६ वर्ष बसेर फर्की मुलपानीमा खाजा नास्ता पसल संचालन गरी लुकीछिपि बस्दै आएको अनुसन्धानबाट खुल्न आएको व्यूरोले जनाएको छ । पक्राउ परेका  दुवै जनालाई आवश्यक कारवाहीको लागि व्युरोले कात्तिक २४ गते आईतबार जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको थियो ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले सोमवार जिल्ला अदालत पेश गरेकोमा अदालतले थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएपछि दुवै जनालाई थुनामा राखीएको छ ।