भूकम्पले भत्काउन नसकेको बुद्धिमानको जाँगर

892 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 सिम्ले धादिङ ,  – वैशाख १२ गते भूकम्प जाँदा धादिङ भुमेस्थान गाविस ८ सिम्ले गाउँका बुद्धिमान विश्वकर्मा गाविस कार्यालयले बोलाएको बैठकमा जाँदै हुनुहुन्थ्यो । बैठकमा गाविसभरका जनजाति र दलितहरुको हीत गर्ने कामहरु कसरी गर्न सकिएला भन्नेबारे छलफल हुने भएकाले उहाँलाई जसरी पनि त्यहाँ पुग्नु थियो । ‘बैठकमा सुधारिएको आरान चाहियो भन्ने विचारले जाँदै थिएँ’ ६५ वर्षका बुद्धिमान भन्नुहुन्छ, “सुधारिएको आरनको त कुनै सिद्धिगो, भुईँचालोले भएको आरन पनि पुरिदियो ।’

???????????????????????गाविसतिर लम्किरहेका उहाँलाई शुरुको केहीबेर त के हुन लागेको भन्ने पनि थाहा भएन रे । पछि सँगै रहेका काकाले भुइँचालो आयो भनेपछि र वरपरका घर ढल्न थालेको देखेपछि उहाँ बेहोश हुनुभएछ । ‘एकछिनमा होश आएपछि घरतिर दौडिएँ’ गम्भीर हुँदै बुद्धिमानले भन्नुभयो ‘घरको अवस्था देख्दा त झन् भाउन्न पो भएर आयो त ।’ भुइँचालोले उहाँको एकतले कच्ची घर मात्रै लडाएन, भएभरका सबै वस्तुभाउ र कुखुरा समेत पुरिदिएको उहाँले बताउनुभयो । नातिलाई खेलाउँदै घरभित्र पल्टिरहेकी बुहारी र नाति बाँचेकोमा उहाँले ठूलो सन्तोष मान्नुभएको छ ।

घर लडेपछि लत्ताकपडा र अलिअलि भएको अन्नपात पनि पुरिएपछि बुद्धिमानको ११ जनाको परिवार असजिलोमा पर्‍यो । पहिलो र दोस्रो दिन त छरछिमेक मिलेर गुजारा चलाए । ‘दुई चार दिन पो दुःखसुख बाँडियो’ उहाँ भन्नुहुन्छ, ‘सबै दुखि भएको ठाउँमा कसले कसलाई हेर्ने ?’ त्यसपछि उहाँलाई गाउँमा पुग्न थालेको राहत लिने विचार आयो । राजमार्गको सिम्ले वजारमा दिनभर पर्खेर एउटा त्रिपाल, २ पाकेट चाऊचाऊ र अरु खित्रिङमित्रिङ सामान बोकेर साँझ घरतिर उकालो लाग्दा उहाँलाई नमज्जा लागेछ ।

???????????????????????‘दिनभर पर्खेर एक पोको चाउचाउ बोकेर घर जाँदा परिवारले के भन्ठान्ने हुन् जस्तो लाग्यो’ बुद्धिमानले भन्नुभयो, ‘बरु दिनभर ज्यामी काम गरेर आफ्नै कमाईले पेट पाल्नु ठीक जस्तो लाग्यो ।’ तैपनि छरछिमेकका साथीभाईको लहैलहैमा उहाँ अरु केही दिन राहत थाप्ने लाइनमा बस्नुभयो । ‘कस्तो भयो भने सर, मुड्की नबजारेसम्म त भएको चीज पनि नदेलान् जस्तो भयो ।’ राहतका नाममा आएको त्रिपालबाट उहाँले अस्थायी वसोवासको ब्यवस्था गर्नुभएको छ । ‘५ भाइ छोरामध्ये कान्छोको मात्रै बिहे हुन बाँकी छ, अरु सबैले आआफ्नै सुर गरेर खाएका छन् ।’ यसो भनिरहँदा बुद्धिमान अलि हँसिलो देखिनुभयो ।

छोराहरुको कमाई उनीहरुको परिवार पाल्नमै ठिक्क हुने जस्तो लागेपछि उहाँलाई केही इलम गर्नैपर्छ भन्ने लाग्यो । ‘यो बूढेसकालमा ज्यामी काम गर्न सक्ने कुरै भएन, जानेको यही काम हो, यही शुरु गरियो’ उहाँले भन्नुभयो ।बुद्धिमानले भुईँचालोले पुरिएको आरन खोतलेर काम लाग्दा सरसामान जम्मा गर्नुभयो । टुटेफुटेका सामानको सट्टा नयाँको जोहो गर्नुभयो र पृथ्वी राजमार्ग अन्तर्गतको सिम्ले बजार झर्नुभयो । ‘यहाँ चिनेको होटलको एकजना दाईले जग्गा मिलाईदिनुभयो’ बुद्धिमान भन्नुहुन्छ, ‘बजारतिर अलि धेरै काम पाइन्छ भनेपछि यतै झरें ।’

राजमार्ग छेऊमै उहाँले अस्थायी टहरा बनाएर आरन चलाउन शुरु गर्नु भएको छ । दिनमा कत्तिको कमाई हुन्छ त ? प्रश्न सकिन नपाउँदै उहाँले भन्नुभयो, ‘यहाँ थालेको एक हप्ता त भको छैन सर, तर रामै्र होला जस्तो छ ।’ किरण लोहनीले  उज्यालो अनलाइनमा खबर लेख्नु भएको छ ।