धादिङ बचत तथा ऋण सहकारी संघको १६ औं वार्षिक साधारणसभा सम्पन्न

978 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी । धादिङ बचत तथा ऋण सहकारी संघको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष टाप बहादुर श्रेष्ठको अध्यक्षतामा शुक्रवार धादिङवेसीमा सम्पन्न साधारणसभामा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्य रहेको थियो ।संघमा जिल्लाका बचत तथा ऋणको कारोवार गर्ने ६७ वटा सहकारी संस्थाहरु आवद्ध भएका छन् ।


साधारणसभाको अवसरमा धादिङ बचत तथा ऋण सहकारी संघका सचिव तुलसी प्रसाद अधिकारीले वार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्ष चमेली बगाले काप्रीले आर्थिक प्रतिवेदन र प्रमुख व्यवस्थापक गोकर्ण दुवाडीले संघको रणनीतिक व्यवशायिक योजनाको बारेमा प्रस्तुती राख्नु भएको थियो । लामो समय सम्म व्यवशाय विकासमा क्रियाशिल हुन नसकेको संघले गत आर्थिक वर्ष २०७६÷२०७७ वाट व्यवशायिक योजना बनाई योजनावद्ध रुपमा आफ्ना क्रियाकलापहरु सञ्चालन गरिरहेको साधारणसभामा बताइएको छ । गत आर्थिक वर्ष २०७६÷२०७७ को असार मसान्तमा कुल पूँजी ७३ लाख ४४ हजार ७ सय ३५ रुपैंया १३ पैसा रहेको संघमा यस आर्थिक वर्ष २०७७÷२०७८ को मंसिर मसान्त सम्ममा ३ करोड २५ लाख ९ हजार २ सय ३६ रुपैंया २१ पैसाको कुल पूँजी बनाउन सफल भएको छ ।

साधारणसभाको अवसरमा बोल्दै प्रमुख अतिथि नेफ्स्कुनका कोषाध्यक्ष दिपक पनेरुले नेपालमा सहकारी अभियानले सहकारी संस्थाहरुको हक हितको लागि निरन्तर कार्य गरिरहेको र सहकारी अभियानको सुदृढिकरणको लागि एक्सेस, प्रोवेशन, कब्स र आधारशिला कार्यक्रम सुरु गरिरहेको र यस कार्यक्रममा सहभागि हुन सम्पूर्ण साकोसहरुलाई अनुरोध गर्नु भएको थियो । त्यसैगरी जिल्ला संघ साझेदारी मार्फत प्रत्येक्ष सकोसहरु सम्म पुग्न र सहकारी अभियानलाई प्रभावकारी बनाउन सकिएको पनि कोषाध्यक्ष पनेरुले बताउनु भयो ।


त्यसैगरी कार्यक्रममा बोल्दै कोषाध्यक्ष पनेरुले नेपाल सरकारले सहकारी ऐन र नियमावलीले दिएको अधिकार कुन्ठीत गर्दै सहकारी बिभागले बिभिन्न निर्देशिका र निर्देशन मार्फत सहकारी अभियानलाई निरुत्साहित गरेको पनि बताउनु भयो । राज्यको काम सहकारी अभियानलाई निरुत्साहित बनाउने होइन, सहकार्य र प्रवद्र्धन गर्नुपर्ने हो । सहकारी अभियान राज्यलाई सहयोग गर्न निरन्तर लागिरहेको पनि पनेरुले बताउनु भयो । कार्यक्रममा कास्कुनका सचिव सालिकराम पुडासैनी, नेफ्स्कुनका पूर्व उपाध्यक्ष पार्वती राई खाँड, जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्य, नीलकण्ठ नगरपालिकाका सहकारी शाखा प्रमुख निर्मला केसी, धादिङ बचत तथा ऋण सहकारी संघका संस्थापक अध्यक्ष देव प्रसाद त्रिपाठी लयायतले मन्तव्य राख्नु भएको थियो ।