बुढीगण्डकीको निर्माण अर्को वर्षबाट सुरु हुन्छ : उर्जा मन्त्री

753 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गोरखा, चैत ६ – उर्जामन्त्री राधा ज्ञवालीले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण आउँदो वर्षबाटै सुरु हुने बताउनुभएको छ । सन् २०१६ मा निर्माण सुरु गरी ढिलोमा १४ वर्षभित्र निर्माण सक्ने सरकारको योजना रहेको उहाँले बताउनुभयो ।

DSC_0313आयोजनाको प्रभावित क्षेत्रका बासिन्दासँगको भेटघाटका क्रममा गोरखाको आरुघाटमा गरिएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सन् २०३० सम्ममा बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण सक्ने गरी तयारी थालिएको बताउनुभयो ।

गोरखा र धादिङको सीमा भएर बग्ने बुढीगण्डकीमा बनाउन लागिएको जलाशययुक्त आयोजनाको अहिले डिपिआरको काम भैरहेको छ । डिपिआरको काम अन्तिम चरणमा पुगेको छ । मन्त्री ज्ञवालीले परामर्शदाता कम्पनीले लागत स्टमेट पनि तयार गरिसकेकाले अब निर्माणको चरणमा प्रवेश गर्न कठिनाई नभएको बताउनुभयो ।

उहाँले आयोजना बन्छ कि बन्दैन भन्न शंका हटाउन प्रभावित गाविसका बासिन्दासँग भेटघाट गर्न आएको बताउनुभयो ।  उर्जा मन्त्रालयले बुढीगण्डकीलाई पहिलो प्राथमिकतामा राखेको पनि  उहाँको भनाई छ । आयोजनाको निर्माण थाल्नु अघि प्रभावित क्षेत्रका बासिन्दाको पुनर्बासको प्रवन्ध गरिने उहाँले बताउनुभयो ।

‘तपाईंहरुले गुमाउनु पर्ने जग्गा वर्षौदेखि गर्दै आएको पेशा र रोजगारी गुमाउनु पर्छ’ उहाँले भन्नुभयो ‘प्रभावित क्षेत्रका बासिन्दा जीवनस्तर  अहिलेको भन्दा राम्रो हुने गरी पुनर्बासको व्यवस्था गरिनेछ ।’ अहिले सरकारले पुनर्स्थापना सम्बन्धी नीति बनाइरहेको भन्दै ज्ञवालीले सामाजिक रहनसहन नबिग्रने गरी पुनर्स्थापना गरिने दाबी गर्नुभयो ।

सबै राजनीतिक दलले बुढीगण्डकी आयोजना सम्पन्न गर्न प्रतिबद्ध भएर लागेको उहाँको भनाई छ । देशमा ३ वर्षभित्र लोडसेडिङ कम हुने र बुढीगण्डकी आयोजना बनेपछि देश लोडसेडिङ मुक्त हुने ज्ञवालीले बताउनुभयो ।  आयोजना सम्पन्न गर्न निरन्तर वार्षिक बजेटको व्यवस्था गर्ने पनि उहाँको प्रतिबद्धता छ ।