अस्ट्रेलियामा नेपालीः कहाँ बस्छन्, के गर्छन्, कसरी बाँचिरहेका छन् ?
540 पटक पढिएको

झण्डै चार दशक अगाडि ४ जना नेपालीले पहिलो पटक अस्ट्रेलियाको भूमीमा पहिलो पाइला टेकेका थिए । क्विन्सल्याण्डको बि्रसवेन अन्तर्राष्ट्रिय एयरपोर्टबाट अस्ट्रेलिया प्रवेश गरेका ती नेपालीका बारेमा अहिलेसम्म प्रष्ट जानकारी पाउन सकिएको छैन् । ७०/८० को दशकमा नेपालीको अस्ट्रेलिया आगमन ज्यादैं न्यून संख्यामा भएको थियो । सन् २००० पछि भने अध्ययन र रोजगारीको गन्तब्यको रुपमा अस्ट्रेलिया नेपालीमाझ लोकपि्रय बन्दैं गएको हो । यो आलेखमा सन् २०११ मा भएको जनगणनामा नेपालीको स्थान के कस्तो छ भनेर विश्लेषण गर्न खोजिएको छ नेपाली पत्र डट कमले खबर लेखेको छ ।
अस्ट्रेलियाको तथ्याङ्क विभाग (एबीएस)ले गएको वर्ष सन् २०११ को अगस्त ९ मा जनगणना सम्पन्न गरेको थियो । सेन्सस अफ पपुलेसन एण्ड हाउजिङ अस्ट्रेलियाली तथ्याङ्क विभागले गर्ने सबैभन्दा ठूलो तथ्याङ्कीय सर्भे हो । यस्तो सर्भे त संसारका सबै देशहरुले गर्छन् र यसको महत्व पनि उति नै बढी छ । पछिल्लो समय भएको जनगणना चाहिँ अस्ट्रेलियाको १६ औँ जनगणना हो । यो गणनाका लागि ४३ हजारभन्दा बढी गणकहरुले ९८ लाख घरहरुमा १ करोड ४२ लाख फारमहरु वितरण गरेका थिए ।
१६ औँ जनगणनामा अस्ट्रेलियामा बसोबास गर्ने हर कोहीको बारेमा सूचना सङ्कलन गर्ने एउटा विशिष्ट अवसर हो । अस्ट्रेलियामा ९ अगस्त २०११ सम्म आइपुग्ने जोसुकैको पनि जानकारी राखिने हुनाले पनि यसको महत्व रहेको हो । गणनाले दिने जुन पुख्ता सूचना र जानकारी हुन्छ, यसले केन्द्र सरकार, राज्य सरकार, टेरिटोरिज र स्थानीय सरकारले आफ्ना जनताका लागि योजना बनाउने उत्तम अवसर हुन्छ ।
मूलतः मतदानका लागि यसको डिजाइन हुने गरेको भए पनि सरकारी कोषलाई योजनाबद्ध ढङ्गले वितरण गर्न र विकास निर्माणका कामलाई अघि बढाउन पनि यसको उत्तिकै भूमिका हुन्छ ।
त्यसो त जनगणनाको तथ्याङ्क सरकारलाई मात्र काम लाग्ने होइन्, सर्वसाधारणले पनि आफ्ना कुनै पनि व्यापार व्यवसाय गर्नका लागि आफ्नो क्षेत्र, स्थानमा भएको गणनाको तथ्याङ्कबाट फाइदा लिन्छन् । झन् ठूला-ठूला व्यवसायिक संस्थाले त यसबाट उठाउने फाइदा निकै ठूलो छ । त्यसैले पनि जनगणना हिजोआज मतदानका कुरामा मात्र सीमित नरही व्यापक अर्थमा यसको महत्व छ भन्ने बुझ्न सकिन्छ ।
जनगणनाले देशका हरेक व्यक्ति र घरका बारेमा सूचना लिने गर्दछ तर यसले मानिसको व्यक्तिगत सूचनाका बारेमा चासो राख्दैन् । एबीएसले मानिसको गोप्य सूचनाको हक कायम राख्ने हुनाले मानिसहरुले सूचना दिने सवालमा डराउनु पर्दैन ।
यो लेखमा हामीले अस्ट्रेलियामा बसोवास गरिरहेका नेपालीहरुका बारेमा जनगणनाले के देखाउँछ भन्ने बारेमा छलफल गर्नेछौँ ।
नेपालमा जन्मेर अस्ट्रेलियामा बसोवास गर्नेहरु
सन् १९६४ मा क्विन्सल्याण्ड राज्यमा ४ जना नेपालीहरु आएका थिए । सन् २०११ सम्म आइपुग्दा नेपाली समुदायको उपस्थिति निकै गहन छ । सन् २००१ देखि २०१० सम्म २० हजारभन्दा बढी नेपालीहरु आइपुगेका र तिनको बाक्लो उपस्थिती न्यु साउथ वेल्समा रहेको देखिन्छ । सन् २०१० पछि मात्र न्यु साउथ वेल्समै बस्ने ट्रेन्डमा परिवर्तन आएको देखिन्छ ।
नेपालीहरु कहाँ बस्छन् ?
नेपालीहरु सबैभन्दा बढी बस्ने ठाउँ न्यु साउथ वेल्स राज्य हो । यहाँ ६२ प्रतिशत नेपालीहरु बसोबास गर्छन् । सबैभन्दा कम बसोवास गर्ने राज्यहरुमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, नर्दन टेरिटोरी र तास्मानिया रहेका छन् । त्यहाँ जम्मा ३ प्रतिशत नेपालीहरु मात्र बसोवास गरिरहेको देखिन्छ ।
नागरिकताको अवस्था
अस्ट्रेलियन क्यापिटल टेरिटरीमा बसोवास गर्ने नेपालीहरुले सबैभन्दा बढी अर्थात् १६ प्रतिशत नेपालीले नागरिकता लिएका छन् । त्यस्तै सबैभन्दा कम तास्मानियाका नेपालीहरुले नागरिकता लिएका छन् । नागरिकता लिनेहरुको प्रतिशत यहाँ ७ मात्र छ । भिक्टोरिया र पश्चिमी अस्ट्रेलिया अनि न्यु साउथवेल्सका नेपालीहरुमध्ये १७ प्रतिशतले नागरिकता लिएका छन् ।
नेपालीको बक्लो वसोवास रहेका राज्य र सवअर्वहरु
अस्ट्रेलियामा बसोवास गर्ने नेपालीले बोल्ने भाषा
९९ प्रतिशत नेपाली भाषा बोल्ने नर्दन टेरिटोरीमा बसोवास गर्छन् । उनीहरु घरमा नेपाली नै बोल्ने गर्दछन् । अन्य राज्यमा चाहिँ नेपाली बोल्नेहरुको प्रतिशत ९० देखि ९५ प्रतिशत छ । क्वीन्सल्याण्ड र अस्ट्रेलियाली राजधानी क्षेत्रमा बस्ने १० प्रतिशत नेपालीहरु अङ्ग्रेजी पनि बोल्ने गरेका छन् ।
आयः
माथिको चित्रले, २० प्रतिशतभन्दा बढ्ता नेपालीहरुले चार सय डलरदेखि पाँच सय ९९ डलर प्रति हप्ता कमाउने गरेको देखिन्छ । १ प्रतिशत नेपालीहरुले मात्र २ हजार डलर प्रति साता कमाउने गरेका छन् । अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा बसोवास गर्ने ४ प्रतिशतले मात्र २ हजार डलर वा त्योभन्दा बढी कमाएको देखिन्छ ।
२ हजार डलर प्रति साता कमाउने २८० जनामध्ये १३४ जना न्यु साउथ वेल्स बस्छन् । अर्को शब्दमा भन्दा, प्रति साता २ हजार डलरभन्दा बढ्ता कमाउनेहरुमा ४८ प्रतिशतभन्दा बढ्ता न्यु साउथ वेल्समा बस्छन् ।
व्यवसायः
अस्ट्रेलियामा व्यवस्थापक (म्यानेजर)का रुपमा काम गर्ने नेपालीहरु तीन प्रतिशत छन् । ७३६ व्यवस्थापकहरु मध्ये ५२४ जना न्यु साउथ वेल्समा बस्छन् । सबैभन्दा बढी चाहिँ कामदार (मजदूर)का रुपमा छन् । १४ प्रतिशत नेपालीहरु निजी सेवामा खटिएको देखिन्छ ।
उमेरः
२ हजार ६ सय २५ जना नेपालीहरु ० देखि २० वर्ष उमेर समूहका छन् भने ५१ वर्ष उमेर कटाएका ५०४ जना मात्र छन् । १४ हजारभन्दा बढ्ता नेपालीहरु २१ देखि ३० वर्ष उमेर समूहका छन् र तिनीहरुको प्रतिशत ५७ प्रतिशत रहेको छ ।
वैवाहिक अवस्था
नर्दन टेरिटोरीमा बसोवास गर्ने ६१ प्रतिशत नेपालीहरु विवाहित छन् । ५२ प्रतिशत विवाहिताहरु न्यु साउथ वेल्समा र क्वीन्सल्याण्डमा ४९ प्रतिशत विवाहित छन् । भिक्टोरीमा यो प्रतिशत ४९ छ भने अस्ट्रेलियन क्यापिटल टेरिटरीमा बस्नेहरुमध्ये ५५ प्रतिशत विवाहित छन् ।
धर्म
अस्ट्रेलियामा बसोबास गर्ने ७९ प्रतिशत नेपालीहरु हिन्दू धर्मावलम्बी छन् । १३ प्रतिशत चाहिँ बौद्ध धर्मावलम्बी छन् भने अन्य ८ प्रतिशतले अन्य धर्म मान्छन् । नर्दन टेरिटोरीमा बसोबास गर्ने ८५ प्रतिशत हिन्दू छन् । भिक्टोरियामा बस्ने १७ प्रतिशत बौद्ध छन् ।
लैङ्गिक विभाजन
न्यु साउथ वेल्स, भिक्टोरिया र तास्मानियामा बसोबास गर्ने पुरुषहरुको प्रतिशत ६० छ भने दक्षिण अस्ट्रेलियामा ५३ प्रतिशत पुरुषहरुको बसोबास छ ।
अर्को पुस्ता
१ हजार १ सय तीन जना पछिल्लो समय जन्मिएका छन् र जन्मिएका बालबालिकाहरुमध्ये कम्तिमा एक जना अभिभावक नेपाली छन् । दक्षिण अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको कम्तिमा पनि एक जना सन्तान छन् ।
तथ्याङ्क स्रोतः २०११ को सेन्सस अफ पपुलेसन एण्ड हाउजिङ (लेखक नापित जेपी, एमबीए, प्रोस्ट ग्राजुएट डिप्लोमा, आइटी)
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७१, ९ चैत्र सोमबार १४:५३ मा प्रकाशित