सौर्य ऊर्जासम्बन्धी जानकारी अब मोबाइलमा

1396 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, – तपाईंले घर वा कार्यालयमा सौर्य ऊर्जा जडान गर्ने योजना बनाउनुभएको छ ? लाग्ने खर्च र आवश्यक उपकरणको उपलब्धता, प्राप्त हुने स्थललगायत सौर्य ऊर्जासम्बन्धीे सम्पूर्ण जानकारी तपाईंले आफ्नो मोबाइलमा पाउन सक्नुहुन्छ ।

वैकपिल्क ऊर्जा प्रवद्र्धन केन्द्र, ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमले संयुक्त रुपमा ‘नेपाल सोलार क्याल्कुलेटर’ नामक ‘मोबाइल एप’ बनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीको विश्व वातावरण कोषको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त एप बनाइएको हो । सो एपमा सौर्य ऊर्जासम्बन्धी सम्पूर्ण विवरण उपलब्ध हुनाका साथै लागत पनि सहजै हेर्न सकिन्छ ।

मुलुकले चरम ऊर्जा सङ्कट व्यहोरिरहेका बेला गाउँसहर सबैतिर पछिल्लो दिनमा सौर्य ऊर्जाको माग बढ्दै गएको छ । तर व्यावहारिक र वस्तुनिष्ट जानकारीको अभावमा उपभोक्ता ठगिने गरेको वास्तविकतालाई ध्यान दिएर मोबाइल एप बनाइएको हो ।

उक्त मोबाइल एपमा उपभोक्तादेखि सौर्य ऊर्जाको क्षेत्रमा लामो समयदेखि अध्ययन–अनुसन्धान गर्दै आएका इन्जिनियरलाई समेत उपयोगी हुने विश्वास ग्रामीण जीविकोपार्जन नवीकरणीय ऊर्जा कार्यक्रमले गरेको छ ।

एपमा कुन क्षमताको सौर्य ऊर्जा जडान गर्ने हो, त्यसको लागत, कुन–कुन स्थानमा सौर्य ऊर्जाका उपकरण एवम् सामग्री पाइन्छ, सरकारबाट प्राप्त हुने अनुदानजस्ता सूचना उपलब्ध छन् । एन्ड्रोइड मोबाइल फोनको प्ले स्टोरमा गएर नेपाल सोलार क्याल्कुलेटर डाउनलोड गरेर सहज ढङ्गले सूचना प्राप्त गर्न सकिने ग्रामीण विकासका लागि नवीकरणीय ऊर्जा कार्यक्रममा सौर्य ऊर्जाविज्ञ जीवनकुमार मल्लिकले बताए ।

सौर्य ऊर्जाबारे जानकारी नभएका तर त्यसको प्रयोग गर्न चाहने उपभोक्ताले पनि सहज रुपमा जानकारी पाउने भएकाले सो मोबाइल एप प्रभावकारी हुने विश्वास उनको छ ।

आगामी दिनमा सो एप आइफोन र आइप्याडमा पनि उपलब्ध हुने छ । सौर्य ऊर्जाको क्षेत्रमा मुलुकमा कार्यरत छ वटा प्रमुख सौर्य ऊर्जा कम्पनीको सम्पूर्ण विवरण र त्यहाँ उपलब्ध सामग्रीसमेतको जानकारी त्यसमा समावेश गरिएको उनि बताउछन् ।

मुलुकभर सौर्य ऊर्जाको क्षेत्रमा काम गर्ने व्यक्ति, सङ्घ, संस्थाको बारेमा समेत सहजै रुपमा जानकारी पाइने भएकाले उपभोक्ता, विक्रेता र प्राविधिकसमेत लाभान्वित हुने उनि बताउछन् । सो एप सौर्य ऊर्जा विज्ञ मल्लिककै प्राविधिक सहयोगमा रु दुईमा तयार पारिएको हो ।

सामान्य लागतमा पनि महत्वपूर्ण सूचनामूलक एप बनाउन सकिन्छ भन्ने उनको भनाइ छ । एपले सौर्य पाता कति उचाइमा राख्ने, त्यसलाई कुन कोणमा राख्ने, पाताको मर्मतसम्भार गर्ने समय, ब्याट्रीे मर्मत त्यसमा राख्नुपर्ने पानीको मात्रा, समस्या उत्पन्न भए तत्काल समाधानका लागि सम्पर्क स्थललगायत सबै सूचना समावेश गरिएको छ ।