बूढीगण्डकीमा आएको भीषण बाढीले धादिङ र गोरखामा ठूलो विनाश : ६ पुल बगे, ४७ जनाको उद्धार, १० जना अझै बेपत्ता

59 पटक पढिएको

२५ आश्विन २०८३, आईतवार १६:२७ सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

धादिङ –बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखा र धादिङका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याउँदै व्यापक विनाश निम्त्याएको छ। नदीको मुहान क्षेत्रमा पर्ने स्यार खोला पहिरोले थुनिएर फुटेपछि आएको बाढीले दुई जिल्ला जोड्ने पक्की पुल, झोलुङ्गे पुल, दर्जनौं बस्ती तथा जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्‍याएको छ। घटनामा कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् भने सुरक्षाकर्मीले ४७ जनाको सकुशल उद्धार गरेका छन्।

बाढीको सुरुवात बिहान करिब साढे चार बजे चुमनुब्री गाउँपालिका क्षेत्रबाट भएको स्थानीयले बताएका छन्। बाढी पूर्वानुमान महाशाखा र नेपाली सेनालाई बिहान ६ बजेतिर मात्रै सूचना प्राप्त भएको भए पनि नदीमा दुई चरणमा बाढी आएको पाइएको छ। बिहान ६ बजे आरुघाटमा सामान्य देखिएको नदी करिब ९ बजेतिर भयानक लेदो र गेग्रानसहित उर्लिएर आएको थियो। चुमचेट क्षेत्रको न्याक दोभान नजिकै सुख्खा पहिरो गएर नदी थुनिएपछि यो विपद् निम्तिएको प्रारम्भिक अनुमान छ।

उर्लिएको बाढीले गोरखा र धादिङ जोड्ने मुख्य पूर्वाधारहरू ध्वस्त बनाएको छ। आरुघाटस्थित पक्की पुलको गोरखातर्फको आधा भाग बगेको छ भने धादिङतर्फको सडकमा बाढी चढेको छ। बाढीले दुई वटा मोटरेबल, दुई वटा बेलिब्रिज र चार वटा झोलुङ्गे पुल गरी कुल छ वटा पुलहरू बगाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो। आरुघाट-धादिङ जोड्ने त्रिपुरासुन्दरी पुल, आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल, धार्चे गाउँपालिका-१ र ३ जोड्ने बेलिब्रिज, माछिखोला-केरौँजा झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्‍याङ-जगत पुल तथा सिर्दिबासको घट्टेखोला-फिलिम जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा बगेका छन्।

बाढीका कारण दर्जनौं बस्तीहरू जलमग्न र क्षतिग्रस्त बनेका छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ विशालनगरस्थित स्याउली बजारको सुकुम्बासी बस्तीमा लेदो पस्दा करिब ६० घरमा क्षति पुगेको छ भने विशालनगर क्षेत्रका करिब एक सय घर डुबानमा परेका छन्। यता गोरखाको चुमनुब्री गाउँपालिका-३ पैयुँ र बगरका ३५ घर, धार्चे गाउँपालिका-५ माछिखोलाका ८ घर बगेका छन् भने २२ घर उच्च जोखिममा परेका छन्। त्यसैगरी जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ।

यस विपद्ले निर्माणाधीन जलविद्युत आयोजनाहरूमा समेत गम्भीर असर पारेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार ३४१ मेगावाटको निर्माणाधीन बूढीगण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प र निर्माण उपकरण बाढीले बगाएको छ। २४.५ मेगावाटको दोभान खोला, ३०.५९ मेगावाटको यारु खोला तथा १६ मेगावाटको माछा खोला जलविद्युत आयोजनाका क्याम्प, बेलिब्रिज, भवन तथा पहुँच सडकमा क्षति पुगेको छ भने धार्चे-३ स्थित सल्लेरी पावर हाउस पूर्ण रूपमा बगेको छ।

बाढीमा फसेका नागरिकहरूको उद्धारका लागि चार वटा हेलिकप्टरसहित सेनाका १२७, प्रहरीका ८३ र सशस्त्र प्रहरीका १७७ जना सुरक्षाकर्मी गोरखातर्फ परिचालन गरिएका छन्। सेनाको टोलीले जगत्, न्याक्फेदी, पायु तथा यारु क्षेत्रबाट एक शिशु र एक विदेशी नागरिकसहित ४७ जनाको सकुशल उद्धार गरिसकेको छ। बाढीको जोखिम त्रिशूली नदी हुँदै मुग्लिङसम्म पर्न सक्ने भन्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

धादिङतर्फ पनि सदरमुकामबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली मुख्य प्रभावित क्षेत्र आरुघाटमा खटिएका छन्। सुरक्षाकर्मीहरूले स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्न सहयोग गरिरहेका छन्। बाढीको खबर आउनासाथ प्रतिनिधि सभा सदस्य गंगादेवी श्रेष्ठको नेतृत्वमा एक टोली आरुघाट पुगेर त्यहाँको अवस्था अवलोकन गर्नुका साथै क्षतिको जानकारी लिएको छ। सांसद श्रेष्ठले नदी तटीय क्षेत्रमा जोखिम रहेकाले तत्काल सुरक्षित स्थानतर्फ जान सर्वसाधारणलाई आग्रह गर्नुभएको छ। त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेल, वडा नम्बर २ का अध्यक्ष कृष्ण खत्री लगायतका जनप्रतिनिधिहरू पनि घटनास्थलमै रहेर उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा खटिरहेका छन्।

बाढीबाट विस्थापित भएका नागरिकहरूलाई अहिले सल्यानटार र चुलीदेवी विद्यालय नजिकै खानाको व्यवस्थापन गरिएको छ। विस्थापितहरूमा साना बालबालिकाहरूको संख्या धेरै रहेको छ। उनीहरूलाई बेलुकाको बासका लागि स्थानीय विद्यालयमा व्यवस्थापन गरिने वडा अध्यक्ष खत्रीले जानकारी दिनुभएको छ।