बूढीगण्डकी बाढीले गोरखा आरुघाटको पुल भत्किंदा धादिङबेसीमा ठूलो धक्का

19 पटक पढिएको

२५ आश्विन २०८३, आईतवार १६:५८ सम्पादक: धादिङ न्यूज

धादिङ- बूढीगण्डकी बाढीका कारण धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकी नदीको पक्की पुलमा क्षति पुगेपछि धादिङ जिल्लाको सदरमुकाम धादिङबेँसीसहित उत्तरी तथा उत्तरी-पश्चिम क्षेत्रमा खाद्यान्न र अत्यावश्यक सामग्रीको गम्भीर सङ्कट पैदा हुने जोखिम बढेको छ।

भदौ १० गतेको बाढीले पृथ्वीराजमार्गबाट धादिङबेँसी प्रवेश गर्ने मुख्य प्रवेशद्वार फुर्केखोलाको पुल बगाएपछि धादिङबेँसीको सिधा यातायात सम्पर्क विच्छेद भएको थियो। त्यसपछि साना तथा यात्रुवाहक सवारी साधनहरू वैकल्पि मार्गका रूपमा मासटारबाट परेवाटार हुँदै धादिङबेँसी आवतजावत गर्दै आएका थिए। तर, सो वैकल्पिक मार्गबाट ठूला मालवाहक सवारी साधनहरू (ट्रक तथा लामो दूरीका ढुवानीका साधन) सञ्चालन हुन नसक्दा जिल्लामा आवश्यक पर्ने उपभोग्य सामग्री ढुवानीका लागि मुग्लिनबाट आँबुखैरेनी, गोरखा हुंदै आरुघाट भएर धादिङबेसी आउनुपर्ने  बाध्यता थियो।

सदरमुकाम धादिङबेँसीसहित जिल्लाका आठ वटा गाउँपालिकाका लागि आवश्यक पर्ने खाद्यान्न, पेट्रोलियम पदार्थ, निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तुहरू मुग्लिनबाट आँबुखैरेनी, गोरखा सदरमुकाम हुँदै आरुघाट निस्किएर धादिङबेँसीसम्म पुऱ्याउने गरिएको थियो। तर, असोज २५ गते बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाटको पक्की पुलको गोरखातर्फको भाग बगाएपछि यो अन्तिम तथा महत्त्वपूर्ण ढुवानी मार्ग पनि ठप्प बनेको छ।

स्थानीय व्यवसायी तथा जनप्रतिनिधिहरूका अनुसार लगातार दुई वटा मुख्य पुलमा बाढीले क्षति पुऱ्याएपछि सदरमुकाममा खाद्यान्न र इन्धनको अभाव देखिन थालिसकेको छ। यदि समयमै बैकल्पिक बेलिब्रिज वा अस्थायी पहुँच मार्ग (डाइभर्सन) को व्यवस्था नगर्ने हो भने जिल्लाका उत्तरी भेगका बस्तीहरूसहित सदरमुकाममै सर्वसाधारणले ठूलो सास्ती खेप्नुपर्ने स्थिति सिर्जना भएको छ।

यस विषम परिस्थितिमा तत्काल बैकल्पिक व्यवस्था गरी ढुवानी सहज बनाउन स्थानीय प्रशासन, सडक विभाग र सम्बन्धित निकायहरूसँग  प्रतिनिधी सभा सदस्य गंगादेवी श्रेष्ठले सरकार संग माग गर्नु भएको छ ।