शंखादेवी माविमा अभिभावक भेला सम्पन्न, शिक्षक अभिभावक संघमा डल्लाकोटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

78 पटक पढिएको

१५ कार्तिक २०८३, शनिबार ०९:३४ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित शंखादेवी माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ पुनर्गठन गर्ने उद्देश्यले कात्तिक १३ गते शुक्रबार आयोजित भेलाले भूमिबहादुर डल्लाकोटीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघको नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा कान्छीमाया दर्जी, अनिल चेपाङ, सन्तोष पौडेल, चन्द्रकुमारी शाही ठकुरी, चन्द्रकुमारी लायो मगर, राजकुमार चेपाङ, सन्तोष खाँण ठकुरी, सरिना मिया र उत्तम कँडेल रहेका छन्।

त्यसैगरी विद्यालय व्यवस्थापन समिति पुनर्गठनका लागि सन्तोष पौडेल, डोरबहादुर सिंह ठकुरी, सरिता थापा घिमिरे र चन्द्रकुमारी शाही ठकुरीलाई चयन गरिएको छ।

शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हुन कम्तीमा १२ कक्षा उत्तीर्ण गरेको र कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको हुनुपर्ने व्यवस्था रहेको छ।

विद्यालयका निवर्तमान अध्यक्ष टंकबहादुर मल्लको अध्यक्षतामा सम्पन्न भेलामा बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठ प्रमुख अतिथि तथा वडा नम्बर ९ का अध्यक्ष देवीबहादुर खड्का,बेनिघाट रोराङ्ग गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका स्रोत व्यक्ति रामेश्वर पोखरेल लगायत अतिथिका रुपमा रहेका थिए। कार्यक्रममा शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद देवकोटा लगायतको उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक तिलकबहादुर चेपाङका अनुसार हाल विद्यालयमा ५३६ जना विद्यार्थी अध्ययनरत छन्। तीमध्ये सीमान्तकृत चेपाङ समुदायका १९० जना विद्यार्थी रहेका छन्। ३०० भन्दा बढी अभिभावक सहभागी भएको भेलाले विद्यालयको शैक्षिक तथा संस्थागत व्यवस्थापनमा अभिभावकको सक्रिय सहभागिता र चासोसमेत देखाएको छ।

प्रधानाध्यापक चेपाङका अनुसार शंखादेवी माध्यमिक विद्यालय जिल्लाका सामुदायिक विद्यालयमध्ये पहिलो आवासीय विद्यालय हो। आवासीय सुविधासहित सञ्चालन भइरहेको विद्यालयले विशेषगरी चेपाङ समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।