आमा सिरियामा अलपत्र, घरमा छोराछोरीको बिजोग
1036 पटक पढिएको
धादिङको मैदी गाउँ विकास समिति–१ उखुबारीकी सुनिता मगर विदे जान भन्दै पासपोर्ट बनाएर तालिम लिन पोखरा गएकी थिइन । पतिले सौता हाली घरबाट निकालेपछि उनी लामो समयदेखि नीलकण्ठ–८ को मगर गाउँस्थित माइतीमा बस्दै आएकी थिइन ।
‘विदेश नजाऊ छोरी माइतीमै दुःख, सुख बसौँला भनेका त थियौँ । तर छोराछोरीको भविष्यका लागि विदेश जान्छु भनिन्’, आमा सावित्रीले रुँदै भनिन्, ‘पैसा कमाएर छोराछोरी पाल्न हिँडेकी छोरी मंसिरमा सिरिया अलपत्र परेको खबर आयो ।’
पासपोर्ट बनाएर तालिम लिन पोखरा गएकी छोरी एकाएक द्वन्द्वग्रस्त सिरियामा रहेको खबर आएपछि परिवार चिन्तामा डुबेका हुन् । उनी कहिले कोमार्फत सिरिया पुगिन् परिवारलाई थहा छैन ।
घरमा रहेका सबै कागजपत्र लिएर उनी हिँडेकी थिइन् । ‘मंसिरमा छोरीले फोन गरेकी थिई । त्यतिबेला फोन गर्दा त सवै ठीकै छ भनेकी थिइ’, आँखाभरि आँसु बनाउँदै आमा सावित्रीले भनिन्, ‘तर अहिले समस्यामा परिछ । जतिसक्दो चाँडो नेपाल नफर्काए ज्यान समेत जाने अवस्था छ ।’

-अन्नपूर्ण पोष्ट डट कमवाट







