काठ व्यवसायीलाई अपहरण गर्ने चार युवक पक्राउ

538 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

इलाम । काठ व्यवसायीलाई अपहरण गर्ने चार युवकलाई प्रहरीले गएराति इलाम सदरमुकामस्थित होटलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम चुलाचुली–१ का ३५ वर्षीय ध्रुव भनिने पूर्ण लावती, दमक नगरपालिका–१० का २३ वर्षीय सन्देश लिम्बू, झापा तोपगाछी–७ का ३६ वर्षीय भानु भनिने युके सुब्बा र तोपगाछी–५ का २८ वर्षीय नवराज राई रहेका छन् ।

जिल्ला वन कार्यालय इलामले बिहीबार खोलेको काठको लिलामी बोलपत्रमा बोलपत्र भर्न आएका झापा दमक नगरपालिका निवासी इन्द्रमणि सिवाकोटीलाई अपहरण गरी एक होटलमा लगेका थिए । होटलमा लगेर ती युवाले सिवाकोटीसँग एक लाख रूपैयाँ मागे । सिवाकोटीले जीउभन्दा पैसा ठूलो होइन भन्ठानेर ५०/५० हजारका दुई पेटी उनीहरूलाई दिए ।

केही छिनपछि ‘एक लाख अपुग भयो, फेरि एक लाख रूपैयाँ चाहियो’ भनेपछि उनीसँग पैसा थिएन । पैसा नभएपछि ती युवाले पुनः सिवाकोटीलाई एक लाख रूपैयाँ दिने तमसुक बनाएर त्यसमा ल्याप्चे लगाउन लगाए । तमसुकमा हस्ताक्षर गरेपछि उनीहरूले सिवाकोटीलाई मुक्त गरिदिए ।