आमा र मेरो तीज

707 पटक पढिएको

सम्पादक: Dhading News

14182429_1288754904476082_1373435785_n
-सुशिला शर्मा (अतृप्ती)
मैदी, धादिङ
हाल-भ्यान्कुभर, क्यानाडा

मा !
हजुर आज दिनभर
मन्दिरमा गएर नाच्नुभयो होला है !
मनको प्रिय कुनामा
म कान्छी छोरीको खुब मिस गर्दै
मेरो उपस्थिति
दिदीको हसिलो मुहारमा
अलिकति पाउनुभयो होला
केहि मल्हम र सान्त्वना अबश्य मिल्यो होला !!!

आमा !
म पनि आज नाच्न जादैछु,
हजुरलाई खुब मिस गर्दै गर्दै नाच्नेछु
सात समुन्द्र पारी भएपनि
कमसेकम
हामीले ओढेको आकाश एउटै,
माटो उस्तै छ,
मात्रै ममता घोलिन सकेको छैन!!!

आमा !
मेरी दिदी जस्तै
असंख्य दिदीहरु हुनहुन्छ यहाँ
हजुरको याद दिलाउने
थुप्रै आमा मन र अनुहारहरु हुनुहुन्छ,
दर खाँदा घाँटी कुक्क कुक्क भयो होला
अनि भन्नुभयो -“कान्छी छोरीले सम्झी”
फिक्री नगर्नु आमा,
दरका व्यंजन यहाँ अनेकन छन्
मात्रै हजुरको हातको बास्ना मिसिएको छैन !!

मेरो पिर कत्ति पनि नगर्नु आमा
असंख्य दिदिबहिनिहरुसंग ममता साटिरहेको छु
पृथ्वीको पल्लो छेउबाट,
हजुरलाई लाखौ लाख शुभ-कामना !

खुसुक्क एउटा कुरा,
तीजको दिनजस्तै
सदा स्वतन्त्र रहने वर माग्नु है !
अब जन्मने छोरीहरुका लागि पनि,
अनि बाबाको स्वास्थ्य र दिर्घायू त बाबाकै हातमा छ
आफ्नो स्वास्थ र दिर्घायुको बिशेष कामना गर्नु है !!!