‘बदलिँदै गएको नयाँ पुस्ताको जीवन शैली’

901 पटक पढिएको

सम्पादक: Dhadingnews.com

कपिलदेव सापकोटा (प्रकाश)
युवा वर्ग भनेपछि फरक फरक तरिकाले परिभाषित छन् उमेरमा । उमेरको हिसाबले हरेक देश वा विभागले आ–आफ्नो तरिकाले उनिहरुको वर्षको हद तोकिएका छन् । जस्तै – श्रम ऐन, निर्वाचन आयोग, विवाहवारी कानुन जस्ता क्षेत्रले आ – आफ्नो तरिकाले साबालक र नाबालकको परिभाषित गरेका छन् । युवावर्गको बौद्धिक परिभाषा पनि छ । भनिन्छ – उमेरको हिसाबले मात्र कोहि पनि युवा वा वृद्ध मानिँदैन । जबसम्म उसमा जोस जाँगर र तागत रहन्छ । तबसम्म ऊ युवा नै रहन्छ । त। चिकित्सा विज्ञानको दृष्टिकोणले हेर्ने हो भने अपवादलाई छोडेर केटा र केटी दुवैमा यौन ग्रन्थीको विकास तथा यौन अङ्गहरुको प्रभावसँग युवा अर्थले सम्बन्ध राख्दछ । त्यहि विकास र प्रभावसँगै हरेक मानिसले युवक युवतीको पङ्क्तिमा पदार्पण गर्दछ ।
हिजो र आजको युवापुस्ताको जीवनशैलिमा फरक छँदैछ । एउटै समयमा पनि भौगालिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक कारणले नेपालको नयाँ पुस्ताको जीवन शैलिमा धेरै असमानता भेटिन्छन् । तिप्लीङको युवाको बाँच्ने तरिका र धादिङबेसीको युवाको बाँच्ने तरिका धेरै फरक छ । योजनाहरु फरक फरक हुन्छन् । सपनाहरु फरक हुन्छन् । व्यवसाय देखि विचारहरुमा पनि भिन्नता पाइन्छ । गाउँमा धेरै युवायुवतिको दिनतर्या घाँस–दाउरा, मेलापात, गोठालो, हलोमा केन्द्रित छ भने शहरतिर कार्यालय, स्कूल, क्याम्पस, ईमेल, इन्टरनेट, पर्यटन तथा गाइड, ट्रेकिङ आदिमा केन्द्रित भेटिन्छन् । त्यहि भएर पनि उनिहरुबिच केहि मिल्दा – जुल्दा जीवनशैलिहरु पनि भेटिएका छन् ।
पहाड तथा गाउँतिरका युवायुवतीहरु साँस्कृतिक रुपमा धेरै अगाडि छन् । उनिहरुलाई ‘भूमण्डलिकरण कन्सेप्ट’ले छोएको हुँदैन । त्यसैले उनिहरुको जीवन साधारण हुन्छ । उनिहरुसँग आफ्नोपन छ । तर उनिहरुलाई राजनीतिक विसंगतिले उद्धेलित गराएको छ । शिक्षाको राम्रो प्रबन्ध नहुनु, काममा सम्भावना नहुनु गाउँका युवायुवतीका लागि पलायनको सङ्केत हो । धादिङ सांकोषका कृष्ण बहादुर मगर यतिखेर विदेश जाने चक्करमा छन् । भन्छन् –“गाउँमा काम छैन । गाउँलेहरु पनि पैसा कमाउनेहरु प्रति राम्रो व्यवहार गर्दछन् । नत्र वास्तै गर्दैनन् । त्यसैले म आफ्नो इज्जतका लागि विदेश जान लागेको हुँ ।” नेपालका अधिकांश युवाहरु खाडी मुलुक गएका छन् । आज आएर भने केही युवा स्वदेशमै वसी कृषि क्षेत्रमा काम गरिरहेका छन् र आफ्नै ठाउँमा बसेर राम्रै आय आर्जन पनि गरिरहेका छन् । नेपालका गाउँलाई समग्रमा हेर्दा धेरै युवक युवती गाउँमा छैनन् । कतिपय विदेश पसे भने कति शहर पलायन भए । हाम्रो देशको राजनीतिक उदाशीनताका कारण गाउँका युवा जमातलाई दिशाहीन बनाएको छ ।
गाउँबाटै शहरतर्फ छिरेका धेरै युवकयुवतीहरुले कला र प्रविधिको क्षेत्रमा धेरै नै उन्नति गरेका छन् । देशको राजनैतिक विकृतिलाई एकछिन बिर्सिएर युवाहरुको सृजनात्मक संसारलाई हेर्ने हो भने केहि सन्तोाष गर्ने ठाउँहरु भने भेटिन्छन् । यतिखेर कला–साहित्य, सङ्गीत र सञ्चारको दुनियाँमा नेपाली नयाँ पुस्ताको चहल–पहल ज्यादै सकारात्मक देखिन्छ । त्यसो त विज्ञान र प्रविधिको विकासले अमेरीका र नेपालको मानिसको बिच मै धेरै कुरामा समानता नल्याएको छैन । तिनै टि.भि. च्यानल, तिनै लुगा, तिनै खानेकुराको प्रयोगले नयाँ पुस्ता अर्को मुलुकको मानिस भन्दा फरक देखिन छोडिसक्यो । गोर्खाका सन्तोष ओलि खुसी हुँदै भन्छन् – “हामी त भाग्यमानी रहेछौँ, यहाँ हरेक देशको सामान उपलब्ध छ । जापानको युवाले जुन घडि लगाउँछ, मैले पनि त्यो लगाउन पाएको छु ।” तर सबैमा यो नियम लागु हुन्छ भन्ने चाहिँ छैन । कतै अभाव कै कारण, कतै रुचि भिन्नताकै कारण प्रायः सबैको जीवन शैलीमा नितान्त भिन्नता भेटिन्छ ।
टि.भि. हेर्नु, आइसक्रिम खानु, घुम्न जानु अहिलेका युवा युवतीको सोख हो । युवायुवतीले लगाउने आधुनिक पहिरनमाथि उनिहरुको पूर्ण समर्थन छ तर सार्वजनिक ठाउँमा बसेका केटाकेटीले देखाउने चर्तिकला देख्दा उनिहरुलाई दिक्क लाग्छ भन्छन् । यसरी नयाँ पुस्ता विविधतामा बाँचेको छ । कतै युरोप र अमेरीकाको युवा पुस्ताको जीवनशैलीसँग सामिप्यता भने कतै आफ्नो देशमा पनि फरक–फरक जीवनशैलीमा बाँची रहेको देखिन्छ । सहरका धेरै युवकयुवतीहरु साङ्गीतिक व्याण्ड र फेसन शोहरुमा लठ्ठिएका छन् । एकातिर नृत्य केन्द्रहरु छन् भने अर्कोतिर काँच र सिनेमाका पर्दाहरु । सञ्चारको क्षेत्रको पनि नयाँ पुस्ताको ठूलो आकर्षण छ । तर विज्ञापन र सञ्चारले नयाँ पुस्तालाई रङ्गीन सपना र विलासिताको लहर चलाएको छ ।
ग्रामीण क्षेत्रका युवा पुस्ता अझै किन विहान बेलुकाको समस्यासँग लडिरहेका छन् ? शहरी क्षेत्रका युवायुवतीहरुमा अर्थले प्रत्यक्ष असर पारेको छ । राजधानीमा २५ प्रतिशत मोटरसाइकल युवकयुवतीको विलासिताको निमित्त प्रयोग भएको पाइन्छ । त्यसैले बदलिँदै गएको नयाँ पुस्ताको जीवनशैलीसँगै बदलिनु त स्वाभाविक हो तर देखासिखीले होइन ।