युक्रेन र रुस युद्धको पाँच सय दिनमा ३ लाख धेरै सैनिकको मृत्यु

191 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । युक्रेन र रुसबीच युद्ध शुरु भएको पाँच सय दिन पूरा भएको छ ।

सन् २०२२ को फ्रेबुअरी २४ मा रुसले युक्रेनमाथि हमला गरेपछि शुरु भएको युद्ध त्यस यता निरन्तर चलिरहेको छ । युद्धका कारण ६३ लाखभन्दा धेरै युक्रेनी पलायन भएर विभिन्न देशमा शरणार्थी बनेका छन् । दोस्रो विश्वयुद्धपछि कुनै पनि देशबाट यति ठूलो संख्यामा मानिस पलायन भएको यो पहिलो घटना हो । शरणार्थी बन्नेहरुमा अधिकांश महिला र बालबालिका छन् ।
युक्रेनभित्रै पनि ६० लाख मानिस आफ्नो ठाउँबाट विस्थापित भएका छन् ।

१८ देखि ६० वर्ष उमेर समूहका पुरुषहरुलाई भने युक्रेन सरकारले युद्धमा लाग्न प्रोत्साहित गरिरहेको छ । युद्धबाट युक्रेनमा करीब दश हजार सर्वसाधारण मारिएको संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगको तथ्यांक छ । युद्धका कारण १५ हजार बढी सर्वसाधारण घाइते भएका छन् । तर युद्धमा मारिने सैनिकको संख्या भने भयावह छ । दुवैतर्फ गरी लाखौं सैनिक मारिएको अनुमान छ ।

बेलायती रक्षा मन्त्रालयले युद्धको पहिलो वर्ष मात्रै २ लाख बढी रुसी सैनिक मारिएको दाबी गरेको छ । वाग्नर समूहका मात्रै ४० देखि ६० हजार लडाकुमा मारिएको पश्चिमा देशहरुको दाबी छ । युद्धको पहिलो वर्ष १ लाख ३१ हजार युक्रेनी सैनिक मारिएको अमेरिकी तथ्यांक छ । तर यी तथ्यांकहरुको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

युद्धबाट युक्रेनमा एक सय ४३ अर्ब डलरको क्षति भएको किभ स्कुल अफ इकोनोमिक्सको अनुसन्धानले देखाएको छ । शिक्षा क्षेत्रमा ८ दशमल ९ अर्ब, कृषिमा ८ दशमलव ७ अर्ब, ऊर्जामा ८ दशमलव १ अर्ब क्षति भएको विश्वबैंकको तथ्यांक छ । यी क्षेत्रहरुको पुनर्निर्माणका लागि १ सय ४१ अर्ब डलर लाग्ने पनि विश्वबैंकको अनुमान छ । पाँच सय दिनको युद्धबाट रुसले युक्रेनको करीब २० प्रतिशत भूभाग कब्जा गरेको छ ।