जिम्बाबेका नवनिर्वाचित राष्ट्रपतिले गरे शपथ ग्रहण

165 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । जिम्बाबेका नवनिर्वाचित राष्ट्रपति इमर्सन मनाङ्गाग्वाले राष्ट्रपतिको शपथग्रहण गर्नुभएको छ ।

उहाँको शपथग्रहण कार्यक्रममा हजारौँ जिम्बाबेवासी हरारेको खेलकुद स्टेडियममा भेला भएका थिए । आफ्नो उद्घाटन भाषणामा उहाँले राष्ट्रलाई एकतावद्ध रहन आग्रह गर्दै सरकारले सबै जिम्बाबेवासीको जीवन परिवर्तनको सुनिश्चित गर्ने आश्वासन दिनुभयो ।

उहाँले क्षेत्रीय र अन्य विदेशी विशिष्ट व्यक्तिको उपस्थितिमा सोमबार आफ्नो दोस्रो पाँच वर्षको कार्यकालको लागि शपथ लिनुभएको हो । गत महिनाको आम चुनावमा उहाँले ५२.६ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

मनाङ्गाग्वाले भाषणका क्रममा आफूलाई पुनः नेतृत्वका लागि चयन गरेकोमा जिम्बाबेवासीलाई धन्यवाद दिँदै आगामी ५ वर्षमा देशलाई एकतावद्ध गर्दै आधुनिकीकरण र विकास गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले निर्वाचनले जिम्बाबेमा लोकतन्त्रलाई बलियो बनाएको बताउनुभयो । उहाँले आफूले पुनः एकपल्ट देशको लागि सेवा गर्न पाएको भन्दै जिम्बाबेका जनताका सेवा गर्न आफू प्रतिवद्ध रहेको बताउनभयो । उहाँले अखण्डता, निष्पक्षताका साथ राष्ट्रिय संविधान र कानूनको पालना गरेर अघि बढ्ने बताउनुभयो ।

मनाङ्गाग्वाले आफ्नो नयाँ कार्ययोजनामा ग्रामिण विकासलाई तिब्रता दिने, राष्ट्रिय खाद्य सुरक्षालाई सुदृढ पार्ने, देशको पूर्वाधारको आधुनिकीकरण गर्नुका साथै देशको उत्पादन क्षमता र उर्जा आपूर्ति बढाउने बताउनुभयो । उहाँले जिम्बाबे अन्य देशहरुसँग पनि आफ्नो सम्बन्ध सुधार र बिस्तार गर्न तयार रहेको बताउनुभयो ।