महिला अधिकार र वर्तमान कानुन विषयक तालिम जारी

704 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/न्यायिक क्षेत्र सुधार परियोजना अन्र्तगत न्यायमा महिलाको पहुँच कार्यक्रमको महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि महिला अधिकार र वर्तमान कानुन विषयक तालिम आईतबार  दोश्रो दिन पनि जारी छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई लैङ्गिक विभेदमा आधारित हिंसा विरुद्ध अवधारणागत स्पष्टता गराउने, हिंसा प्रभावितहरुसंग काम गर्दा लैङ्गिक संवेदनशीलता बनाउने र महिलाको पक्षमा बनेका कानुनहरुको बारेमा विस्तृत जानकारी दिने उद्देश्यले आयोजना गरिएको तालिममा जिल्लाका विभिन्न गाविसका २३ जना महिला स्वास्थ्य स्वयं सेविकाहरुको सहभागीता रहेको छ ।
तालिमको दोस्रो दिन मानवअधिकार, मौलिक अधिकार, महिलाको सम्पत्तिमाथीको अधिकार, पहिचानको अधिकार,नागरिकता व्यक्तिगत घटना दर्ता, यौन तथा प्रजनन स्वास्थ्यको अधिकार र गर्भपतनको अधिकारका बारेमा सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल र वरिष्ठ जनस्वास्थ्य प्रशासक मोहमद दाउदले जानकारी गराउनुभएको थियो । यसैवीच आईतबार  नै सहभागीहरुलाई जिल्ला स्थित विभिन्न सरकारी कार्यालयको अवलोकन भ्रमण पनि गराइएको छ । जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र महिला तथा बालबालिका कार्यालयको अवलोकन भ्रमणका क्रममा ति कार्यालयका प्रमुखहरुले आ आफ्नो निकायबाट प्रदान गरिने सेवा सुविधाहरुका बारेमा जानकारी दिनुभएको थियो ।
आइ सि जे नेपालको सहयोगमा भएको कार्यक्रम महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल, फोकस नेपाल र नारी जागरण केन्द्रको संयुक्त आयोजनामा भएको हो । तालिम सोमबार  सम्म चल्ने छ ।