कोप–२८ सम्मेलनलाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्छ : प्रधानमन्त्री

134 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।

कोप–२८ परिसरमा नेपालको पेभिलियनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालले जलवायु परिवर्तन असरका सम्बन्धमा आफ्नो अधिकार स्थापित गरेर अघि बढ्ने गरी तयारी गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘संयुक्त राष्ट्रसङ्घको महासभामा पनि यसअघि मैले नेपालमा जलवायुको असर छ भन्ने कुरा प्रस्तुत गरेको थिएँ । युवा पुस्ताको भविष्य सुनिश्चित गर्ने दीर्घकालीन सोचका साथ मैले त्यो विषय बोलेको हुँ ।’ यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँगको अन्तरक्रिया गर्दा पनि आफूले याे विषय उठाएको उहाँले जानकारी दिनुभयो ।

त्यसपछि आफ्नो निमन्त्रणामा महासचिव गुटेरेस नेपाल भ्रमणमा आउनुभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले महासचिवले नेपाल भ्रमणका क्रममा हिमालमा जलवायु परिवर्तनको असर प्रत्यक्ष देखेर त्यस विषयलाई विश्वव्यापी बनाउन सहयोग गर्नुभएको बताउनुभयो ।

नेपालमा जलवायु असरको विषयले विश्वव्यापी रुपमा चर्चा पाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाललाई अधिकार दिनुपर्छ भन्ने वातावरण बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले कोप–२८ उद्घाटनका अवसरमा महासचिव गुटेरेसले आज शुक्रवार आफ्नाे मन्तव्यमा नेपालको नाम लिनु नेपालका लागि खुसीको कुरा भएकाे बताउनुभयाे ।

युवा पुस्ताका विचार र भावनालाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यो विषयप्रति दायित्व सबैको भएको बताउनुभयो । उहाँले कोप–२८ मा नेपालका तर्फबाट प्रभावकारी रुपमा प्रस्तुत हुन नेपालका प्रतिनिधिमण्डल सबैलाई निर्देशन दिनुभयो ।