अमेरिकाद्वारा रुसविरुद्ध थप पाँच सयभन्दा धेरै नयाँ प्रतिबन्धको घोषणा

86 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । अमेरिकाले रुसविरुद्ध थप पाँच सयभन्दा धेरै नयाँ प्रतिबन्धको घोषणा गरेको छ । व्यक्ति र संस्थाहरूमाथि गरी पाँच सयभन्दा धेरै प्रतिबन्ध गरिएको हो । रुसले युक्रेनमाथि गरेको आक्रमण तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमै भएको मृत्युलाई लिएर ती प्रतिबन्धहरू घोषणा गरेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले प्रतिबन्ध नभाल्नीलाई जेल हाल्ने कार्यमा सहायक बनेका तथा युद्ध मामिलामा संलग्न भएकाहरूमाथि केन्द्रित रहेको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । व्यक्तिगत वा संस्थागत गरी झण्डै सय जतिलाई निर्यातमा प्रतिबन्ध लगाइएको छ ।

अमेरिकाका पछिल्लो प्रतिबन्धले रुसी अर्थतन्त्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने स्पष्ट नरहेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति बाइडनले युक्रेन आक्रमण र देशभित्रै भइरहेको दमनका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अझ ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।

रुसी विपक्षी नेता नभाल्नीको जेलमा निधन भएको एक हप्तापछि अमेरिकाले यी प्रतिबन्धको घोषणा गरेको हो । यस्तै युरोपेली सङ्घ ९ईयू०ले पनि रुसलाई अस्त्र खरिदमा सहयोग गरेका वा युक्रेनी बालबालिकालाई अपहरण गर्नेलगायतका कार्यमा संलग्न भएका भन्दै झण्डै दुई सय व्यक्ति र कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ ।