पश्चिमा देशले सहयोग गरिरहे युक्रेन युद्धमा परमाणु हतियार प्रयोग गर्ने पुटिनको चेतावनी

113 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरूले युक्रेनलाई सहयोग गरिरहे युक्रेन युद्धमा परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिनुभएको छ ।

राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरूको सहयोगको आलोचना गदै आणविक हतियार प्रयोग गर्दा हुने नोक्सानीको जिम्मा रुसले नलिने चेतावनी समेत दिनुभयो । राष्ट्रपति पुटिनले रुस, युक्रेन युद्ध जित्ने योजनामा मात्र केन्द्रित रहेको भन्दै युरोपमा आक्रमण गर्ने कुनै योजना आफुहरुको नभएको प्रष्ट पार्नुभयो ।

यसैगरि पुटिनले रुस आणविक हतियारले सुसज्जित रहेकाले आफूसँग नखेल्न सचेत पार्दै पश्चिमा देशहरूले रुसले युरोपमा आक्रमण गर्छ भनेर गलत हल्ला फैलाइरहेको जिकिर समेत गर्नुभयो ।

साथै संसारको सबैभन्दा ठुलो आणविक हतियार भएको देश आफ्नो रहेको बताउँदै रणनीतिक स्थायित्वका लागि अमेरिकासँग वार्ता गर्न तयार रहेको संकेत गर्नुभयो ।

सम्बोधनका क्रममा पुटिनले राष्ट्रपतीय निर्वाचनमा आफुलाई साथ दिन जनतासँग अनुरोध गर्नुभयो । रुसमा मार्च १५ देखि १७ सम्म चुनाव हुँदैछ । अहिलेसम्म पुटिननै पुनः निर्वाचित हुने लगभग पक्का भएको छ ।