अमेरिका र युक्रेनबीचको सुरक्षा सम्झौता केवल कागजको टुक्रा: रुस

166 पटक पढिएको

सम्पादक: Dhading News

रुसले जी–सेभेन शिखर सम्मेलनमा घोषणा गरिएको अमेरिका–युक्रेन सुरक्षा सम्झौतालाई ‘केवल कागजको टुक्रा’ रहेको बताएको छ ।

इटालीमा हिजोदेखि शुरु भएको विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) को ५० औँ शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच १० वर्षका लागि सुरक्षा सम्झौता भएको थियो । आज रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले यी सम्झौताहरूको कानुनी शक्ति नभएको र यो यो केवल एक कागजको टुक्रा मात्र भएको टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

युक्रेनले हिजो अमेरिका र जापानसँग सुरक्षा सम्झौताहरूमा हस्ताक्षर गरेको थियो जुन बेलायत र फ्रान्सलगायत यसका पश्चिमी सहयोगीहरूसँग गरिएको सम्झौताको पछिल्लो शृङ्खला हो । सम्झौतामा रुसी सैन्य आक्रमणविरुद्ध युक्रेनलाई लामो समयसम्म सैन्य र आर्थिक सहयोग जारी राख्ने प्रतिबद्धता समावेश रहेको खबरमा उल्लेख छ ।

यसैबीच जी–सेभेन ले युक्रेनका लागि ५० अर्ब डलर ऋण सहयोग जुटाउनका लागि रोक्का गरिएको रुसको सम्पत्ति प्रयोग गर्ने विषयमा पनि सहमति जुटाएका छन् ।