धादिङका राजनीतिक दलहरुले चुनावी प्रचार प्रसार अभियानलाई तिव्र पारे

610 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ /आगामी संविधान सभाको निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउनको लागी धादिङका राजनीतिक दलहरुले चुनावी प्रचार प्रसार अभियानलाई तिव्र पारेको छ । यसैक्रममा चुनावी अभियान अन्तरर्गत धादिङको थाक्रे गाउँ विकास समिति वडा नम्बर ८ जुङ्गेखोलामा चुनावी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका अवसरमा नेकपा एमाले गाउँ पार्टी कमिटि थाक्रेको कार्यालय उद्घाटन गरिएको छ । कार्यक्रममा नेकपा एमालेका नेताहरुको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा आगामी निर्वाचनमा एमालेको पक्षमा मतदात गर्न मतदाताहरुलाई आग्रह पनि गरिएको थियो । घरदैलो अभियान अन्तर्गतकै टोलीले थाक्रे गाविस वडा नम्बर ३ मा कार्यकर्ता भेटघाट पनि गरेको थियो । यसैगरी नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य नेत्र पौडेलको नेतृत्वमा नौविसे गाविस वडा नम्वर १ मा चुनावी प्रचार प्रसार भेला सम्पन्न भएको छ । घरदैलो अभियानमा आगामी संविधान सभाको लागि धादिङ क्षेत्र नम्बर ३ का उम्मेद्वार
एवं पूर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डे, नेकपा एमाले जिल्ला कमिटि धादिङका उपाध्यक्ष भुमी त्रिपाठी, नेकपा एमालेका जिल्ला एवं गाउँ पार्टी कमिटिका सदस्यहरुको सहभागीता रहेको थियो । यसैगरि वैरेनी गाविस वडा नम्बर ८ स्थित गल्छीमा सम्पन्न नेकपा एमालेको भेलाले कृष्णहरी श्रेष्ठको संयोजकत्वमा १ हजार १ सय सदस्सीय चुनावी प्रचार प्रसार कमिटिको गठन गरेको छ । गाउँ पार्टी कमिटिका अध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटिका सदस्य कृष्णहरी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको भेलामा जिल्ला कमिटिका सचिव शिव कंडेलको प्रमुख आतिथ्य रहेको थियो । भेलाले बैरेनीको ९ वटै वडामा चुनावी प्रचार प्रसार कमिटि समेत गठन गरेको छ । साथै वैरेनी गाउँ पार्टी कमिटिका युवा अध्यक्ष राजु रिमालको संयोजकत्वमा ५ सय १ सदस्यीय युवा फोर्स गठन गरेको छ । भेलामा जिल्ला कमिटि सदस्य राधिका सापकोटा, क्षेत्रिय कमिटिका सचिव शिव भण्डारी, सदस्य सुर्य अधिकारी लगायतको सहभागीता रहेको थियो ।

      यसैगरि धादिङको रि गाउँ विकास समिति वडा नम्बर ७ तावलको ठुलो आगनमा नेकपा एमालेको चुनावी भेला सम्पन्न भएको छ । नेकपा एमाले रि गाउँ पार्टी कमिटिका अधयक्ष लासाङ तामाङको अध्यक्षतामा सम्पन्न भएको भेलामा नेकपा एमाले जिल्ला कमिटि सदस्य रामहरी अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । भेलामा जिल्ला कमिटि सदस्य कान्छा लामाले स्वागत मन्तव्य राख्नु भएको थियो । चुनावी अभियानलाई आगामी संविधान सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ का उम्मेद्वार धनबहादुर घले, नेकपा एमालेका जिल्ला कमिटि सदस्यहरु नारायण कार्की, ईन्दीरा ढुङ्गाना, उमेश थापा लगायतले संवोधन गर्नुभएको थियो ।