नारायणघाट-मुग्लिन सडकखण्डमा बस खस्दा ५ जनाको ज्यान गयो

628 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ धरानबाट राजधानी आउँदै गरेको बस नारायणघाट-मुग्लिन सडकखण्ड अन्तर्गत १ नम्वर पुल खहरे खोलाबाट
 त्रिशुली नदीमा खस्दा ५ जनाको ज्यान गएको छ भने २५ जना भन्दा बढी घाइते भएका छन्। २२ जना घाइतेको
भने उद्धार गरिसकिएको छ। मृतकको सनाखत हुन सकेको छैन । धरानबाट काठमाडौंका लागि छुटेको बा २ ख ९८८७
 नम्बरको बस खहरे पुलबाट करिव ५० मिटर तल त्रिशुली नदीमा आज बिहान ६ बजे खसेको थियो।

सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी निरीक्षक राजेश फुँयालका अनुसार अहिले उद्धार कार्य जारी छ। उनले दिएको जानकारी अनुसार १ जनाको शव निकालिएको छ भने ४ जना  बसले च्यापिएको अवस्थामा छ। बसमा अझै च्यापिएका यात्रु हनु सक्ने फुँयालले बताएका छन् ।

खोल्सामा खसेको बसले केही यात्रुलाई च्यापेको उद्धार कार्यमा संलग्न प्रहरी सइ रोहित कुमार दुलालले बताए। ‘बसले ४ यात्रुलाई च्यापेको देखिएको छ,’ उनले टेलिफोनमा भने, ‘उद्धार कार्य जारी रहेको छ।’ क्रेनबाट बस झिक्ने काम सुरु भएको बताउँदै उनले त्यसपछि मात्रै थप विवरण आउने बताए। बसमा सवार यात्रुको संख्या नखुलेकाले केही यात्रुलाई नदीले बगाएको आशंका प्रहरीले गरेको छ। बसका चालक र सहचालक प्रहरी सम्पर्कमा आएका छैनन्।

दुर्घटनामा परी घाइते मध्ये केहीलाई भरतपुर अस्पताल पुर्‍याइएको छ भने केहीलाई अस्पताल लैजाने तयारी गरिराखिएको छ। दुर्घटनाको कारण र बसका यात्रुबारे यकिन जानकारी नभएपनि बसमा दसैंमा घर गएर राजधानी फर्कने यात्रु हुनसक्ने प्रहरीको अनुमान छ ।

बस खोँचमा खसेकाले उद्दार गर्न अलि समस्या परेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयबासीले उद्दार गरीरहेका छन् ।