ओडारमा दुई पुस्ता: न नागरिकता, न ओत लाग्ने घर, कन्दमूलकै भरमा जीवन

385 पटक पढिएको

९ चैत्र २०८२, सोमबार २१:२१ सम्पादक: धादिङ न्यूज

धादिङ चैत्र ९ । २१ औं शताब्दीको आधुनिक युगमा मानिसहरू ओडार र गुफामा बसेर जीवन बिताउँछन् भन्ने कुरा धेरैका लागि एकादेशको कथा जस्तै लाग्न सक्छ। तर धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मैवाङस्थित जंगल नजिकैको एउटा ओडारमा चेपाङ परिवारका दुई पुस्ताले दशकौँदेखि कष्टकर जीवन गुजारिरहेका छन्। यो कुनै किताबी कथा नभई झन्डै ८५ वर्षीय ईस्ताराम चेपाङ र उनको परिवारको कठोर यथार्थ हो।

मैवाङको भिरालो जमिनमा रहेको ठूलो ढुङ्गा र खरले छाएको सानो पालीजस्तो देखिने ओडारमा ईस्ताराम, उनकी श्रीमती विखिमाया, छोरा सुब्बा र बुहारी विष्णुमायाको दैनिकी बित्ने गरेको छ। ढुङ्गाको ओतले उनीहरूलाई वर्षौंदेखि आश्रय त दिएको छ, तर सुरक्षा दिन सकेको छैन। हिउँदमा त जसोतसो रात काट्छन्, तर बर्खा लागेपछि ओडारभित्रै पानी पस्दा आगोसमेत बाल्न नसकी कैयौँ रात उनीहरू भोकभोकै र अनिदो बस्नुपर्ने बाध्यता छ।

आफ्नो नाममा एक टुक्रा जग्गा समेत नभएको यो परिवार जीविकोपार्जनका लागि पूर्ण रूपमा प्राकृतिक स्रोत र साहुको श्रममा निर्भर छ। खोरिया खेतीबाट उब्जने अन्नले मुस्किलले तीन महिना पनि धान्दैन। बाँकी समय उनीहरू जंगलमा पाइने गिठा, भ्याकुर, तरुल, सिस्नु र खोलाको साग खोजेरै पेट भर्न बाध्य छन्। सम्पत्तिको नाममा उनीहरूसँग केवल एक हल गोरु मात्रै छ।

नेपालको संविधानको धारा ३७ ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने ग्यारेन्टी गरे पनि ईस्तारामको परिवारका लागि त्यो केवल कागजमा सीमित छ। घरमूली ईस्तारामले त अहिलेसम्म नागरिकताको प्रमाणपत्र समेत पाएका छैनन्, जसका कारण उनी राज्यले दिने सामाजिक सुरक्षा भत्ता लगायतका कुनै पनि सेवा-सुविधाबाट वञ्चित छन्। नागरिकता किन बनाउने भन्नेबारे समेत उनलाई जानकारी छैन। छोरा सुब्बा र बुहारी विष्णुमायाको नागरिकता बने पनि त्यसले उनीहरूको जीवनस्तरमा कुनै परिवर्तन ल्याउन सकेको छैन।

सरकारले अति सीमान्तकृत चेपाङ समुदायका लागि ‘जनता आवास’ र ‘चेपाङ आवास’ जस्ता कार्यक्रमहरू सञ्चालन गरे पनि ईस्तारामको ओडारसम्म ती कार्यक्रम पुग्न सकेका छैनन्। स्थानीय जनप्रतिनिधि र भोट माग्न आउने नेताहरूले समेत यो परिवारको पीडालाई नजरअन्दाज गर्दै आएका छन्। काठमाडौँको बौद्धबाट बेलाबेला सहयोग लिएर पुग्ने समाजसेवी तुलसी श्रेष्ठका अनुसार आजको समयमा पनि नागरिक ओडारमा बस्नुपर्ने अवस्था रहनु राज्यकै लागि लज्जास्पद विषय हो।

धादिङ जिल्लामा करिब २२ हजारको संख्यामा रहेका चेपाङ समुदायमध्ये ईस्तारामको परिवार एक प्रतिनिधि पात्र मात्र हो। मुलुकमा नयाँ सरकार निर्माणको रस्साकस्सी चलिरहँदा ओडारमा जीवन बिताइरहेका यी नागरिकहरू भने अझै पनि एउटा सुरक्षित छानो पाउने आशामा कुरिरहेका छन्। बुहारी विष्णुमाया भन्छिन्, “बुढेसकालमा भए पनि एकपटक जस्ताले छाएको सुरक्षित घरमा बस्ने ठूलो इच्छा छ।” के अब बन्ने सरकारले ईस्तारामको ओडारमा उज्यालो छर्ला त?

(यो समाचार कान्तिपुर टिभीका धादिङ समाचारदाता पोषनाथ अधिकारीले तयार पार्नुभएको न्यूज रिपोर्टमा आधारित छ।)