क्रिकेट प्रशिक्षणको गन्तव्य बन्दै नेपाल

602 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नेपालमा प्रशिक्षणका लागि आएका कोरियाली महिला क्रिकेट टीमका सदस्य शुक्रबार त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा अभ्यास गर्दै ।

काठमाडौं : कोरियन महिला क्रिकेट टिमका प्रशिक्षकका रूपमा नेपाल आएका पाकिस्तानी प्रशिक्षक नेपालको वातावरण देखेर मन्त्रमुग्ध छन्। लगभग एक महिनाको प्रशिक्षण कार्यक्रमका लागि नासिर खान नेपाल आइपुगेका हुन्। उनले एक साता नेपालमा बिताइसके। ‘न धेरै जाडो, न धेरै गर्मी क्रिकेटका लागि यत्तिको उपयुक्त मौसम मैले कम्तीमा एसियन राष्ट्रमा त देखेको छैन’, उनले बताए।

नासिरको अनुभवमा नेपालको क्रिकेट सुहाउँदो वातारणले खेलमा लागि तटस्थ स्थल मात्र नभएर प्रशिक्षणका लागि राम्रो गन्तव्य हुन सक्ने बताउँछन्। ‘यहाँको वातावरण साह्रै सुन्दर छ, म त भन्छु, एसीसी (एसियन क्रिकेट काउन्सिल) ले पनि सदस्य राष्ट्रलाई नेपालमा प्रशिक्षण गर्न प्रस्ताव गर्नुपर्छ, खेल्न र प्रशिक्षणका लागि यो उपयुक्त स्थल हो’, नासिर खानले बताए।

वर्षमा लगभग आठ महिना क्रिकेट खेल्न सकिने राष्ट्र भएकाले नेपालमा प्रतियोगिता गाराउन र प्रशिक्षण गर्नु राम्रो हुने तर्क नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आउने अन्य राष्ट्रका खेलाडीले पनि बताउँदै आएका थिए। केहिी महिनाअघि मात्र नेपालको टीट्वान्टी विश्वकप छनोट चरणको तयारीका लागि सघाउन नेपाल आएका चार श्रीलंकाली तेज बलरले पनि क्रिकेटका लागि नेपालमा लोभलाग्दो वातावरण रहेको प्रतिक्रिया दिएका थिए।

प्रशिक्षणका लागि नेपाल आइपुगेको दक्षिण कोरियन महिला टिम पहिलो हो। कोरियाको इन्चोनमा यसै वर्ष हुने एसियन गेम्सको लागि दह्रो तयारी गर्न कोरियाको चिसो मौसम बाधक बने पनि यो टिम नेपाल आइपुगेको हो। ‘कोरियामा यो चिसोमा प्रशिक्षण सम्भव हुँदैन, हामी एसियन गेम्समा कम्तीमा तेस्रो स्थान हासिल गर्न चाहन्छौँ। त्यही कारण अहिलेको जाडोको बिदाको सदुपयोग गर्न यहाँ आएका हौं’, नासिरले बताए।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कोरियन टिमले प्रशिक्षण गरेको छ। २२ कोरियन खेलाडीलाई नेपालका प्रशिक्षक राजु बस्नेत, कलाम अली र निरा राजोपाध्यायले पनि सहयोग गरिरहेका छन्। नासिरले नेपाल क्रिकेट संघ (क्यान) र प्रशिक्षबाट राम्रो सहयोग भइरहेको बताए। ‘यहाँका प्रशिक्षक क्षमतावान छन्, क्यानले हामीलाई राम्रो सहयोग गरेको छ, यहाँबाट हाम्रो टिमले धेरै कुरा सिकेर फर्कनेमा म विश्वस्त छु’, उनले भने।

नासिरले कोरियन टिम समालेको लगभग तीन महिना मात्र भएको छ। प्रशिक्षणकै क्रममा नेपालमा जारी राष्ट्रिय महिला क्रिकेट नियालेका नासिरले नेपालका महिला क्रिकेटको क्रेज देखेर अचम्मित भएको बताए। ‘महिला क्रिकेटरको उत्साह धेरै राम्रो छ, महिला क्रिकेटमा सरकार र क्यानले अलिकति मात्र ध्यान दियो भने धेरै माथि उठ्न सक्छ’, उनले भने।

टेस्ट राष्ट्र पाकिस्तानसँग सम्बन्धित नासिरले टेस्ट राष्ट्र र टेस्ट मान्यता नपाएका राष्ट्रको महिला क्रिकेटमा खासै अन्तर नरहेको तर्क गरे।

‘नेपालजस्ता राष्ट्रको महिला क्रिकेटलाई हेर्ने हो भने क्षमतामा टेस्ट राष्ट्रको भन्दा कम छैन। उनीहरूलाई बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता र नियमित प्रशिक्षणको वातावरण दियो भने टेस्ट राष्ट्र सरह प्रदर्शन गर्न सक्छन्’, नासिरको अभिव्यक्ति थियो। नेपाल भ्रमण गर्ने टिम र खेलाडीले क्रिकेटका लागि नेपाल उत्कृष्ट गन्तव्यस्थल भएको बताउँदै आए पनि भौतिक पूर्वाधारको अभावमा मौखिक गुणगानमै यो कुरा सीमित भइरहेको छ।

पहिलो पटक टीट्वान्टी विश्वकपमा छनोट भएपछि सरकारले क्रिकेटमा लगानी सुरु गरेर कीर्तिपुरमा इन्डोर हल बनाउन लागेको छ। जसको पहिलो सुरुआत इन्डोर हल भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ।

क्यानका अध्यक्ष टंक आङबुहाङले क्रिकेटका सबै क्षेत्र र जिल्लामा पूर्वाधार निर्माण गर्दै जाने प्रतिबद्धता जाहेर गरिसकेका छन्। यी सबै पछिल्ला विकासक्रमले भौतिक पूर्वाधारमा केही सुधार आउने लक्षण देखाएको छ। तर अन्य टिमका लागि प्रशिक्षण गन्तव्य र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तटस्थ आयोजनास्थल बनाउन सानोतिनो लगानीले पुग्दैन।

केही दिन जुर्मुराएर पनि पुग्दैन। दीर्घकालीन सोच नहुँदा र समयभित्र योजना बन्न नसक्दा आईसीसीको ग्लोबल क्रिकेट एकेडेमी र एसीसीको क्रिकेट एकेडेमीजस्ता सुवर्ण योजनालाई नेपालले गुमाएको तीतो यथार्थ नेपाली क्रिकेटले भुल्न सकेको छैन। भविष्यमा पूर्वाधारमा जोड दिएमा नेपाल खेलकुदको गन्तव्य बन्नेमा दुई मत छैन।

-अन्नपूर्णपोस्ट् डट कम