सकिनसकी काम गर्छन् डाँडामाथिका घाम

625 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मिलन तिमिल्सिना – ‘हजुरआमा सञ्चै हुनुहुन्छ ?’

‘सञ्चै बाबु, मैले चिनिन त…’

‘म मेनुका दिदीको भाइ, ठूल्दाइको जेठा छोरा क्या हजुरआमा…’

‘ओहो बाबु…, कहिले आउनुभएको ? एउटा आँखाले केही देख्दिन, अर्कोले चाहिँ धमिलो मात्रै देख्छ….थलाँ परें बाबु….डाँडामाथिको घामजस्तो भएको छु..।’ पिँढीको खाटमा सुतिरहनुभएकी हजुरआमाले मुखबाट ओढ्ने हटाएर सकिनसकी यति के बोल्नुभएको थियो पिँढीमा बाख्राको पाठाले डालो ढलायो ।

‘कता छौ तिमीहरु ? पाठालाई केही दिएको छैन जस्तो छ…पिठो पानी देओ है…खान नपाएर मर्ला…आफूले केही गर्न सक्दिन…’ यताउता गर्न नसकेर ओछ्यान पर्दा पनि घरव्यहारको साह्रै पीर छ उहाँलाई । ‘के गर्नु बाबु..आफूले नसकेपनि अरुलाई अह्राएर भएपनि काम त चलाउनैपर्‍यो…’ हँ हँ गर्दै हजुरआमा फेरि मतिर फर्कनुभयो ।

यसपाली घुम्न निस्कँदा म मेनुका दिदीको घरमा पनि बास बस्न पुगेको थिएँ । मलाई साह्रै माया गर्ने यिनै दिदीको सासु ओछ्यान पर्नुभएको पनि धेरै भएछ । पहिले जाँदा ठमठम्ती हिँड्नुहुन्थ्यो । अहिले त गलेर सुसुपाल हुनुभएकी ।

आफ्नै हजुरआमा जस्तो लाग्ने दिदीको सासुलाई बोलाएर म घरतिर लागें । बुङचुङ पुग्दा बसको झ्यालबाट देखियो–न्यौपाने आँबैको घरको आँगनमा लास ! प्रेमनाथ हजुरबा, भरत काका, नगेन्द्र भिनाजु, सिताराम सरहरु वरपर झुम्मिएका । कोही रुँदैछन् । कोही टाउकोमा हात राख्दैछन् । कसको निधन भयो होला त ? सोच्दासोच्दै घर आइपुगियो ।

घरमा पुगेपछि थाहा भयो, न्यौपाने हजुरआमै बित्नुभएको रहेछ । ‘सुख पाइन् बुढीआमैले…थला पर्नुभएको पनि धेरै दिन नै भएको थियो, गुहु मुतको ठेगान थिएन…’ आमा र पल्लोघरकी आँबैले एकै स्वरमा भन्नुभयो ।

त्यति नै बेला आमाको मोबाइलमा घण्टी बज्यो । फोन कसले गर्‍यो भनेर हेर्न र आफैँले फोन गर्न नजानेपनि घण्टी बजेपछि फोन उठाउन आमा खप्पिस हुनुहुन्छ ।

‘मिलन आइपुगेको भए मलामी जानु भन्नु है…’ बाले फोनमा भन्नुभएको बाहिर पनि सुनियो । म घर आउँदैछु भन्ने थाहा थियो । त्यसपछि झोला बिसाएर म पल्लोघरको बुद्धिबहादुर हजुरबासँगै बुङचुङतिर हिँडे ।

उमेरले ७० वर्ष टेक्नै लागेका हजुरबा पनि अझै ठमठम्ती हिँड्नुहुन्छ । ‘चुप लागेर बस्न सकिँदोरैनछ हेर बाबु के गर्ने । बसेर खान त पुग्छ नि । तैपनि काम नगरी चित्त बुझ्दैन.’ बाटोमा जाँदै गर्दा उहाँले भन्नुभयो ।

‘ओहो ठूलो बाबु कहिले आयौ ?’ चनौटेको डिलमा बाख्रा चराइरहनुभएका अर्जेल हजुरबाले भन्नुभयो । ‘भर्खरै हजुरबा…सञ्चै हुनुहुन्छ ?’ वर्षौंदेखि दमको व्यथा सहेर पनि सकिनसकी हिँडडूल गर्ने हजुरबालाई मैले सोधें । ‘के गर्ने बाबु दिन पर्खेर बसेको छु…’ हजुरबाले भन्नुभयो ।

‘दिन नआएर’ सकीनसकी कामधन्दा गर्न बाध्य हजुरबाको कुरा सुन्दै हामी बाटो लाग्यौं । बुङचुङ पुग्ने बित्तिकै शव उठ्यो । ‘ल बाबु तँ जा म त घाट जान सक्दिन, यतै काम सघाउँछु’ बुद्धिबहादुर हजुरबाले भन्नुभयो । म मलामीको हूलमा मिसिएँ ।

‘बुढीआमैले धेरै दुःख पाएकी थिइन्, अब चाहिँ सुख पाइन्’ सँगै हिँड्नुभएका टिकाराम काकाले थप्नुभयो, ‘हेर बाबु जतिसुकै छोराछोरी, बुहारी र नातिनातिना किन नहुन् । मर्ने बेलामा बुढाले बुढीलाई र बुढीले बुढालाई जस्तो स्याहारसुसार अरु कसैले गर्न सक्दैन ।’ काकाको कुरा साह्रै चित्त बुझ्यो ।

मलामीबाट फर्कंदा साँझ पर्‍यो । ‘आज बुहारीले पकाएकी छ…भोलि त म आफैं पकाएर खुवाउँछु है’ भात खाने बेला आमाले भन्नुभयो । बल्लबल्ल घर आइपुगेको छोरालाई आफ्नै हातले पकाएर खुवाउने आमाको धोको ।

बुढेसकाल हुन लाग्दा र तीनैजना छोराको विवाह गर्दा समेत आमाले सुख पाउनुभएको छैन । ‘तिम्रो त तीनतीन भाइ छोरा । बुहारी भित्र्याएपछि त कति सुख पाउँछ्यौ’ भनेर पहिले छरछिमेकीले भन्दा आमाको अनुहारमा देखिएको चमक अहिले पनि झलझली याद आउँछ । तर धेरै छोराहरुले जस्तै मैले पनि आमालाई सुख दिन सकेको छैन । सोच्दासोच्दै निदाएछु ।

भोलिपल्ट दिउँसो घाम ताप्दै थिएँ । माथिबाट एकजना बुढीआमै लौरो टेक्दै पिठ्युँमा भारी बोकेर झर्नुभयो । अलि नजिक आएपछि चिनें, माथिको जिम्मल्नी आमै हुनुहुँदो रहेछ । मिलमा धान कुट्न आउनुभएकी । मेरै घर नजिकको मिलमा भारी बिसाएपछि उहाँ नाङ्लो माग्न आउनुभयो ।

‘को नौलो मान्छे भनेको त, ठूलोबाबु पो रहेछौ…कहिले आयौ ?’ आमैले सोध्नुभयो ।

‘हिजो आमै…। अनि तपाईं बुढेसकालमा पनि भारी बोकेर हिँड्दै हुनुहुन्छ है ?’ मेरो प्रश्न भुईंमा खस्न नपाउँदै उहाँले भन्नुभयो, ‘बुढेसकाल भनेर त्यसै बस्न हुँदैन नि बाबु । ज्यानलाई त्यसै राख्यो भने त झन् थला परिन्छ । सक्दासम्म हिँडडूल र काम गरेकै राम्रो..।’

हजुरआमैको प्रेरक कुरा सुनेर दंग परें । अनि हजुरआमै नाङ्लो बोकेर मिल अगाडि पुग्नुभयो । पटुकामा राखेको कालो चश्मा लगाउनुभयो र धान निफन्न थाल्नुभयो । ‘छोराबुहारी काठमाडौंमा छन् नि बाबु, तिनीहरुलाई चामल पठाइदिनु छ’ नाङ्लो हल्लाउँदै आमैले भन्नुभयो ।

मैले यसपाली भेटेका यि हजुरबा, हजुरआमाहरु प्रतिनिधि पात्र मात्र हुन् । गाउँका प्रायः हरेक घरमा बुढाबुढी मात्र छन् । हुर्केका छोराबुहारी घर बस्दैनन् । डाँडामाथिका घाम जस्ता भएका बुढाबुढी आफ्नो लागि होइन, तिनै छोराबुहारीको लागि सकीनसकी काम गर्छन् । धन्य छ आफ्नोभन्दा सन्ततीको लागि मरिमेट्ने हजुरबा, हजुरआमालाई !

-उज्यालो अनलाईन 

zp8497586rq