त्रिशूलीलाई ‘बेवास्ता’

568 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, २९ पुस – सरकारी निकाय, गैरसरकारी संस्था र नागरिक समाजको संयुक्त पहलमा साप्ताहिक रूपमा काठमाठौंको बागमती नदी सरसफाइ अभियान सञ्चालनमा छ । तर, उत्तिकै आर्थिक, वातावरणीय, सामाजिक तथा सांस्कृतिक महत्व बोकेको धादिङस्थित त्रिशुली नदीको संरक्षणमा भने कसैलाई वास्ता छैन ।
नियमन निकायकोे बेवास्ताका कारण धादिङ जिल्ला भएर बग्ने त्रिशुली नदी दिनानुदिन प्रदूषित बन्दै गएको मात्र छैन अतिक्रमणको चपेटामा पनि परेको छ । त्रिशुली नदी बगरमा स्क्याभेटर र डोजरको प्रयोग गर्ने तथा आसपासको भूमि उत्खनन् गरी माटो प्रशोधन गरिएको धमिलो पानी र शौचालयको निकास सिधै नदीमा मिसाउने गरिएको स्थानीय बताउँछन् ।
स्थानीय बासिन्दाको जीविकोपार्जन स्थल बनेको त्रिशुली नदी ७ वर्षयता जोखिममा परेकोे त्रिशुली बचाउ साझा सञ्जाल धादिङका अभियन्ता जगनाथ नेपालले बताए । दिनानुदिन बढ्दै गएको वातावरणीय प्रदूषण र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि संसारभर विभिन्न कार्यक्रम गरिरहँदा त्रिशुली नदी र जलाधार क्षेत्रमा भने वातावरण एवं पर्यावरणीय महत्व समाप्त पार्ने गरी चौतर्फी आक्रमण भइरहेको सञ्जालका संयोजक उत्तम कँडेलले बताए ।
नियमन निकायले सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा बेवास्ता गरेकाले नदीबगर उत्खनन गरिएको सञ्जाल सदस्य सुदर्शन पण्डितले आरोप लगाए । “नियमविपरीत खुलेका अवैध क्रसर एवं बालुवा प्रशोधन उद्योगले धमिलो पानी नदीमा मिसाएकाले पनि उत्तिकै समस्या बढेको छ,” उनले भने ।

त्रिशुली नदीको प्राकृतिक बहाव नै परिवर्तन गर्नेगरी ठाउँठाउँमा मेसिन प्रयोग गरेर उत्खनन गर्ने र बालुवा धोएर धमिलो पानी नदीमा मिसाउनाले पानीघाट तथा चरण, मरनघाट र तीर्थस्थल मासिएको स्थानीयको गुनासो छ । त्रिशुली नदीको जलाधार क्षेत्र महेश, आग्रा, मलेखु, बेल्खु, थोपल, आँखुलगायतका नदी र खोलामा समेत गैरकानुनी ढंगले प्राकृतिक स्रोत उत्खनन गर्ने कार्यले भइरहेको उनीहरू बताउँछन् ।
तर, रोकथाम गर्नेतर्फ कसैले चासो नदिएको खाद्य अधिकार जिल्ला सञ्जाल धादिङका संयोजक गोकर्ण रूपाखेती बताए । “जसका कारण आसपासका बासिन्दा, नदीखोलामा आश्रित समुदाय र नदीजन्य पदार्थमा काम गर्ने मजदुर बढी प्रभावित भएका छन्,” उनले भने ।
नेपालमा पहिलोपटक व्यावसायिक जलयात्रा त्रिशुली नदीको महेश दोभानबाट सुरु गरिएको बताइन्छ । जलयात्रासँग पुरानो सम्बन्ध जोडिएको त्रिशुली नदी प्राकृतिक रूपमा बग्न पाउनुपर्ने राष्ट्रिय नदी संरक्षणकर्ता, ¥याफ्टिङ व्यवसायी र स्थानीयको माग छ ।

-कारोबार डेली डट कमबाट 
zp8497586rq