ब्रुसबाङमा एकीकृत विकास योजना लगिने

504 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,- बर्षको ९ महिना खानेकुराको अभाव संगै दैनिक ३ घण्टा हिडेर खानेपानीको जोहो गर्दै आईरहेका ब्रुसबाङका चेपाङ समुदायका समस्याहरुको पहिचान गरी एकीकृत रुपमा विकास योजना संचालन गर्न ब्रुसबाङ एकीकृत विकास योजना कार्यदल गठन गरिएको छ ।
दक्षिणी धादिङको महादेवस्थान गाविसको वडा नम्बर ३ मा पर्ने ब्रुसबाङमा २७ घर चेपाङ परिवारको वसोवास रहेको छ । जिल्लाकै सबैभन्दा विकटको बस्तिका रुपमा चिनिएको ब्रुसबाङमा खानेपानी ,शिक्षा,स्वास्थ्य,जिविकोपार्जन तथा आयआर्जनका कार्यक्रम संचालन गर्न गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्यालको संयोजकत्वमा कार्यदलको गठन गरिएको हो । कार्यदलमा नेपाल चेपाङ संघका साथै ब्रुसवाङमा काम गरिरहेका गैर सरकारी संस्थाहरु शान्ति नेपाल, प्रयास नेपाल र फोकस नेपालका प्रतिनिधिहरु सदस्य रहेका छन ।
सोमवार धादिङबेसीमा सम्पन्न भएको ब्रुसवाङका अगुवा प्रतिनिधि, जिल्ला विकास समिति,जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधि तथा चेपाङ समुदायमा कृयाशिल संस्थाहरुको संयुक्त बैठकले ब्रुसबाङको विकासमा एकीकृत योजना वनाएर जाने निर्णय गर्दै कार्यदलको गठन गरेका हुन ।
चेपाङ समुदायको मात्र वसोवास रहेको ब्रुसबाङमा गाउं नजिकै खानेपानीको मुहान नहुंदा बस्तीवाट तीन घण्टा तल गएर दैनिक पानी वोक्नुपर्ने वाध्यता गाउंवासीलाई रहेको छ । स्थानीय चेपाङ अगुवा सिद्धिवहादुर चेपाङका अनुसार भिरालो पखेरामा लगाएको मकैले गाउंमा बर्षको ३ महिना भन्दा धेरै समय नधान्ने भएपछि अधिकांश परिवारलाई खानेकुराको जोहो गर्ने समस्या चुनौतीको रुपमा रहेको छ । गाउं नजिकै बिद्यालय नहुंदा यहांका वालवालिका पढ्नवाट समेत बञ्चित हुंदै आईरहेका छन । एकीकृत योजना कार्यदलले सिफारिश गरेको योजनालाई आगामी जिल्ला परिषदवाट स्विकृत गराई ब्रुसबाङमा परिवर्तन ल्याउने योजना कार्यान्वयनमा जिल्ला विकास समितिले सहयोग गर्ने जिविसका सामाजिक विकास अधिकृत विनोद अर्यालले वताएका छन ।
एकीकृत योजना कार्यदलले सरकारी तथा गैर सरकारी निकायहरु संग समन्वय गरी समस्याहरुको पहिचान गर्दै दिगो कार्यक्रम तर्जुमा एवम कार्यान्वयनमा सहयोग पु¥याउने वताईएको छ ।