आमालाई रुवाए,छोरा छोरीलाई नचाए बद्रीले

577 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङ,- धादिङबेसीमा जारी रहेको बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा आएका बद्री पंगेनीले स्टेजमा पुग्नासाथ विदेश गएको छोरा बनेर परदेशी छोराका आमालाई धुरुधुरु रुवाईदिएका छन । गित मार्फत उनले भनेका थिए
‘।।।।आमा बिदा पाउंदिन,
अहिलेको साल पनि आमा घर आउंदिन ।’
SAM_0551धादिङ महोत्सवको सातौं दिन मंगलवार बद्रीले गीत गाउन शुरु गरे लगतै महोत्सव हेर्न आएका थुपै आमा रुन थालेका थिए । आमालाई भुलाउन स्टेजबाट तल झरेका बद्रीले पनि आफूलाई थाम्न सकेनन् । माइकको छेल पारी आफ्नो आँखाको आसु पुछे । धादिङ महोत्सव चलिरहंदा विदेशमा रहेका छोराले धादिङको सम्झना गरिरहेको भन्दै बद्रीले गित मार्फत व्यक्त गरेपछि प्रवासमा रहेका छोरा सम्झेर आमाहरु धुरुधुरु रोएका हुन ।
आंफुले गाएको गीतमा रोएका आमाहरुलाई सम्झाउंदै बद्रीले मन्चबाटै युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था सुनिश्चित हुनुपर्ने बताएका थिए ।‘कसैका छोराछोरी पनि विदेश जान नपरोस्, नेपालमै आमाबाबुसँगै बस्ने पाइयोस् ।’ बद्रीले, ‘कोही पनि नेपालीले पेट पाल्न विदेशी भूमिमा गएर रगत पसिना बगाउन नपरोस् ।’ मञ्च प्रवेशसंगै दर्शक रुवाएका पंगेनीले एकैछिनमा दर्शकलाई छमछमी नचाएका थिए ।
‘ढल्के पिपल पलायो जरैबाट,’ ‘मन त थिएन जोगी हुनलाई’, ‘कान्छी सालीमा ’ जस्ता लोकप्रिय गीत गाएर उनले दर्शकलाई मात्र होइन जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल लगायतका सरकारी अधिकारीहरुलाई समेत नचाए । आफै समेत नाच्दै निस्किएका उनलाई महोत्सव हेर्न आएका युवा, बृद्ध र बालबालिकाले समेत नाचेर साथ दिएका थिए । महोत्सवमा मंगलवार नै हांस्यकलाकार द्धय शिवशंकर रिजाल ( जोगिन्दर),सुरेन्द्र केसी (मुलाको साग) लोक गायिका पूर्णकला बिसी लगायतले पनि युवालाई तताए । माघ १५ गतेदेखी शुरु भएको धादिङ महोत्सव माघ २३ गतेसम्म संचालन हुनेछ ।