आत्माविश्वासले मिल्छ सफलता

678 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

prakash copyजीवनमा सफलताको शिखर छुन सबै चाहन्छन् । तर त्यस्तै व्यक्तिले मात्र पूर्ण सफलता पाउन सक्दछन् जसमा दृढ आत्मविश्वास हुन्छ । सफलताको पहिलो खुड्किलो आत्मविश्वास नै हो । आत्मविश्वास विना मानिस एउटै खुड्किलो पनि चढ्न सक्दैन । जसमा म चढ्न सक्छु भन्ने आत्मविश्वास हुन्छ त्यस्तै व्यक्तिले मात्र चढ्ने प्रयास गर्दछ । अनि जसले चढ्ने प्रयास गर्दछ, त्यस्तै व्यक्तिले मात्र सिंढी उक्लने अवसर प्राप्त गर्दछ । जसमा सिंढी चढ्न सक्छु भन्ने हिम्मत हुँदैन, उसले सिंढी उक्लने प्रयास पनि गर्दैन । अनि जसले सिंढी उक्लने प्रयास गर्दैन त्यसले माथि पुग्ने अवसर पनि प्राप्त गर्दैन । आत्मविश्वास त जीवन रथलाई अगाडि बढाउने इन्धन हो । जसरी इन्धन विना गाडिलाई अगाडि बढाउन सकिन्न त्यसैगरी आत्मविश्वास विना जीवन रथलाई अगाडि बढाएर आफ्नो गन्तव्यमा पुर्याउन पनि सकिन्न ।
धेरै वर्ष पहिलेको कुरा हो एउटा देशमा विद्रोही समुहहरुले आक्रमण गरे । सो देशमा आक्रमण गर्ने समुह ठूलो र शक्तिशाली थियो । विद्रोही समुहको विशाल फौज देखेर त्यस देशको सेनापतिले प्रत्याक्रमण गर्ने हिम्मत गरेनन् उनले राष्ट्र प्रमुखलाई गएर निवेदन गरे– राष्ट्रपती ज्यू ! बिद्रोहीहरुको फौज हाम्रो भन्दा पनि धेरै छ । त्यसमाथि आधुनिक हात हतियारले पनि सुसज्जित छ । यस्तो अवस्थामा प्रत्याक्रमण गर्नु भनेको ठूलो दुर्घटना निम्त्याउनु हो । त्यसैले यतिबेला प्रत्याक्रमण गर्नुभन्दा सन्धि गरेर सुरक्षित हुनु नै उपयोगी देखेको छु । राष्ट्रपतीले मन्त्रि मण्डल बोलाएर सेनापतिको प्रस्ताव राखे । यो प्रस्ताव त्यस देशका मन्त्रिलाई कत्ति पनि मन परेन उनले भने राष्ट्रपति ज्यू ! यसमा मेरो सहमति छैन । तत्काल सेनापतिलाई बरखास्त गरेर त्यस ठाउँमा मलाई नियुक्ति गरी प्रत्याक्रमण गर्ने दायित्व मलाई दिइयोस् । राष्ट्रपतिले उनको कुरा स्वीकार गरी सेनापतिको जिम्मा पनि उनैलाई सुम्पिदिए ।
मन्त्रि सेना लिएर जाँदै थिए । विद्रोहीहरुको शिविर नजिक थियो । विद्रोहीहरुको विशाल फौज देखेर आफ्ना पक्षका सेनाहरु डराउन थाले । त्यसपछि आफ्नो सेनाको आत्मविश्वास जगाउने मन्त्रिले एउटा जुक्ति निकाले । उनले आफ्नो सैनिकहरुलाई बाटामा पर्ने एउटा मन्दिरमा लगेर भने “तिमीहरु नडराऊ । विनाकाममा म तिमीहरुलाई मर्न दिन्न । पहिले यिनै देविमातालाई सोधौँ विजय कस्को ? उनले तिमीहरु नडराऊ विजय तिम्रो पक्षमा हुन्छ भनिन् भने हामी विद्रोहीसँग लड्न जाने । विजय विद्रोही को हुन्छ भनिन् भने फर्कने ।” सबै सेनाले उनको भनाइमा सहमति जनाएपछि उनले हातमा एउटा सिक्का लिएर भने –“म यो सिक्का माथितिर हुत्याउँदैछु । यदि सिक्का भुईमा खस्दा माथितिर त्रिशुल देखियो भने देवीमाताको कृपा हामी माथि भई विजय हाम्रो पक्षमा हुन्छ ः भन्ने बुझ्नु पर्दछ अर्कै चिन्न देखियो भने विजय विद्रोही पक्षको हुन्छ भन्ने बुझ्नु पर्दछ ।” सैनिकहरुले हुन्छ भनेपछि सिक्का हुत्याए । नभन्दै त्रिशुलकै चिन्ह देखापर्यो । त्यसपछि देवीमाताको कृपा आफूमाथि भएको ठानेर त्यस देशका सेनाहरुले पूर्ण आत्मविश्वासको साथ विद्रोहीपक्षसँग लडे । अन्ततोगत्व विजय पनि त्यही देशकै भयो । त्यसपछि सबै सैनिकहरुले भन्न लागे –“यो विजय देवीकै कृपाको फल हो ।” सैनिकहरुको कुरा सुनेर मन्त्रिले मुस्कुराउँदै भने – यो विजय देवी माताको कृपाको फल होइन तपाईहरुकै आत्मविश्वासको हो । नपत्याए होर्नुहोस् भन्दै सिक्का देखाए जसमा दुवैपट्टि त्रिशुलको चिन्ह अङ्कित थियो ।
यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन तर दृढ आत्मविश्वास भयो भने जस्तो सुकै असम्भव ठानिएको काम पनि नकार्न सकिदैँन । कुनै अपाङ्गता भएको व्यक्तिले समाजमा अनौठा कार्यहरु गरिरहेको भेटिन्छ जुन कार्य सपाङ्ग व्यक्तिले गर्न सकेको हुँदैन । जस्तै एउटा उदाहरण लिन सकिन्छ झमक कुमारी घिमिरे । जुन यस्तो कुरो हामी धेरैलै पढेको र सुनेको हुनुपर्दछ । के यो आत्मविश्वासको प्रतिफल होइन र ? बोल्न नसक्ने र हात पनि नचल्ने व्यक्तिले लेखेको साहित्यिक कृतिले मदन पुरस्कार प्राप्त गरेको छ । के यो सफलता प्राप्त गर्नु भनेको चानचुने कुरा होईन र ? त्यो पनि हात नभएका अपाङ्ग व्यक्तिको लागि । तैपनि उसले सफलता हाँसिल गरेरै छाडे । त्यस्तै हामीले केहि वर्ष अगाडि खुट्टा नभएको व्यक्तिले कृतिम खुट्टाको भरमा सगरमाथा आरोहण गरेको समाचार पढ्न र सुन्न पाएका थियो । खुट्टा हुने मानिसको लागि त आरोहण गर्न आकासको फल मानिने सगरमाथा आरोहण खुट्टा नहुने मानिसले कसरी आरोहण गरे होलान् ? के यो पनि दृढ आत्मविश्वसकै प्रतिफल होईन र ?
जतिवेला सम्म हनुमानमा आत्मविश्वास जागृत भएको थिएन त्यतिवेलासम्म सीताजी लङ्कामा छिन् भन्ने जानकारी पाएर पनि समुन्द्र तरेर जाने हिम्मत गर्न सकिरहेका थिएनन् । यद्यपि उनिसँग समुन्द्र तरेर जान सक्ने शक्ति प्रशस्त थियो । तैपनि आत्मविश्वासको कमिले विशाल समुन्द्र तर्ने आँट सकेका थिएनन् । तर जतिवेला जाम्बवान्ले जन्मनासाथ सूर्यलाई फल ठानेर खान जान खोज्ने हनुमानको शक्तिको परिचय गराई आत्मविश्वास जागृत गराईदिए त्यतिबेला उनी गर्जँदै समुन्द्रमाथि कुद्न मात्र लागेनन् । रावणको अयोद्य मानिएको लङ्का शहर दहन गरी सीताजीलाई भेटेर आएका समेत थिए । यस्तो हुन्छ जीवनका आत्मविश्वासको जादु । आत्मविश्वास हुनेको लागि खगोल र भूगोल सबै पानी पँधेरो बन्दछ । आत्मविश्वास नहुनेको लागि आफ्नै पानी खाने पँधेरो पनि परदेश बन्न पुग्दछ ।
मानिसको मन जस्तो बनाउन खाज्यो त्यस्तै बन्दछ । जे पनि सक्दिन भन्न थालियो भने मनले पनि सक्दिन भन्न थाल्दछ र केही पनि गर्न सकिन्न । सक्छु–सक्छु भन्न थालियो भने मनले पनि सक्छ भन्न थाल्दछ त्यही सक्छु भन्दा भन्दै सक्षम भएको मनले उसलाई सफलताको नजिक पुर्याउँछ । मनले भन्छ खान मन लाग्छ पच्छ र फाईदा गर्छ भने जे खाए पनि हुन्छ तर जीवनमा हरेस भने कहिल्यै खान हुँदैन । हरेस खाने मानिसले आफ्नै जीवन ऊर्जालाई नै खाईरहेको हुन्छ । आफ्नो जीवन ऊर्जालाई खानु भनेको आफ्नै रगत मासुलाई आफैले खानुसरह हो । जीवनमा सुख, दुःख र सम्पत्ति एवंम् विपत्ति आई नै रहन्छ । सुखको अनुपस्थिति नै दुःख र दुःखको अनुपस्थिति नै सुख हो, जुन निरन्तर घुमिरहन्छ । जीवनमा संकट पर्यो र विपत्ति आईलाग्यो भनेर कहिल्यै आत्तिने र हरेस खाने गर्नुहुँदैन । डटेर पूर्ण आत्मविश्वासका साथ त्यसलाई पराष्ट गर्ने प्रयास गर्नुपर्दछ । संकट र विपत्तिले स्वतः डाँडो काट्न थाल्दछ । जो डराउँदैन र हिम्मत र आत्मविश्वासले काम लिन्छ उसले डरलाई नै आइरहेको हुन्छ । र जीवनलाई सफलताको शिखरमा पुर्याईरहेको हुन्छ । त्यही नै संसारको नियम हो अनि विधिको विधान हो ।