एसियाडमा नेपालको निरासाजनक नतिजा

601 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ५ असोज । दक्षिण कोरियाको इचोनमा जारी १७औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट खेलमा नेपाल आईतवार थाइल्यान्डसँग ६ विकेटले पराजित भएको छ ।

पहिले व्यटिङमा उत्रेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिसँगै थाइल्यान्डसामु ६५ रनको चुनौती पेस गर्यो । जवाफी व्याटिङमा उत्रेको थाइल्यान्डले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै नेपालको चुनौतीलाई पूरा गर्यो । नेपालका लागि नयाँ थालीले १८ र ममताकुमारी चौधरीले १७ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् ।

यसैगरी आज भएको अन्य खेलहरुमा नेपालले निरासाजनक नतिजा ल्यायो । उसुको पुरुष सान्सौतर्फको खेलमा धनवीर महर्जन पहिलो खेलमा नै पराजित भए । महर्जन इरानका हमिद रेजासँग २–० ले पराजित भएका हुन् ।

त्यसैगरी जुडोअन्तर्गत ६३ केजी मुनिको तौलसमूहमा नेपालकी फुपुलामु खत्री पराजित भइन् । उनी चाइनिज ताइपेकी खेलाडी या जाउ चाङसँग पराजित भएकी हुन् ।

पुरुष व्याडमिन्टनको टिम इभेन्ट्समा पनि नेपाली टोलीले उत्कृष्ट प्रर्दशन गर्न सकेन् । नेपाली टोली मलेसियासँग ३–० ले पराजित भयो । नेपालका रत्नजित तामाङ मलेसियाका चोङ वई लीसँग २१–१ र २१–१२ ले पराजित भए भने विकास श्रेष्ठले मलेसिया कै खेलाडी वेई फेङ चोङसँग २१–१० र २१–१३ ले हार भोगे ।

त्यस्तै नेपालका साजनकृष्ण ताम्राकार मलेसिया कै इसकान्दर जुनेदिनसँग २१–३, २१–४ को सोझो सेटमा पराजित हुन पुगे । पौडीतर्फ पुरुष दुई सय मिटर फ्रिस्टायलमा नेपालका शिरिष गुरुङ हिट चरणबाट नै बाहिरिए ।

आजै भएको भारोत्तलन, सुटिङ र टेनिस खेलमा पनि नेपाल पराजित भएको छ ।