पौडी खेल्न जान्ने र छेउमा उभिनेलाई पनि निल्न सक्छ त्रिशुलीले

951 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesमिलन तिमिल्सिना

 दिउँसो घाम लागेको बेला त्रिशुली नदी किनारमा पुग्ने जो कोहीलाई पनि एकपटक पानी छुन मन लाग्छ । निलो र सफा पानी देख्दा पौडी खेल्न नजान्ने मान्छे पनि फाल हान्न खोज्छन् । पौडन जान्नेहरु त यताउता केही नसोची झ्वाम्म हाम फालिहाल्छन् ।

तर त्रिशुली नदी यति धेरै डरलाग्दो छ कि पौडिन जान्नेहरुलाई पनि डुबाइदिन्छ । शनिबार मात्रै धादिङ मलेखुमा पिकनिक गएका ललितपुरका तीनजना युवा त्रिशुलीमा डुबेर बेपत्ता भए । उनीहरुलाई पौडिन आउँथ्यो । तर त्रिशुली नदीमा पसेको चाहिँ पहिलोपटक थियो ।

त्रिशुलीमा हरेक वर्ष यस्तै घटना दोहोरिने गरेको छ । ‘काठमाडौंमा स्विमिङ पुलमा पौडी खेलेजस्तो त्रिशुलीमा पौडिन सजिलो छैन’ मलेखु नजिकको त्रिशुली रिभर साइट रिसोर्टका सञ्चालक उद्धव कँडेलले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘पौडी खेल्न आउँछ भन्दैमा त्रिशुलीमा झ्वाम्म फाल हाल्नु हुँदैन, ज्यानै जान सक्छ ।’

यसकारण डरलाग्दो छ त्रिशुली

त्रिशुली नदी तीन कारणले डरलाग्दो छ । नदीको बारेमा राम्रो ज्ञान भएका कँडेलका अनुसार दलदले बालुवा, ठूला ढुंगा र पानीको प्रवाह धेरै हुने भएकाले त्रिशुली नदीमा पौडी खेल्नु जोखिमपूर्ण हुन्छ ।

‘यो ठाडो खोला हो’ कँडेलले भन्नुभयो, ‘पानीको पावर बढी हुने र ढुँगामा ठोक्किने कारण पानी उम्लेजस्तो हुन्छ, जहाँ पुगेपछि मान्छेलाई यताउता सर्न दिंदैन र अड्काउँछ ।’ यस्तै धेरै ठाउँमा भंगालो र भूमरी भएकाले पनि पौडी खेल्नेहरु त्यहीँ फसेर डुब्न सक्छन् ।

यस्तै यो बेला नदी किनारमा नयाँ बालुवा जम्मा भएर बसेको हुन्छ । छेउमा गएर टेक्ने बित्तिकै बालुवा फ्यास्स हुन्छ र टेक्ने मान्छे नदीमा डुब्न सक्छ । यस्तै नदी किनारमा पानीले भिजेको ढुंगामा लेउ लागेको हुन्छ । बाहिरबाट हेर्दा चिप्लो नदेखिएपनि ढुंगामा टेक्दा लेउको कारण चिप्लिन सक्छ । कतिपय बेला नदी हेर्न र उभिएर फोटो खिच्नको लागि नदी छेउको यस्तै ढुंगामा टेक्नेहरु चिप्लिएर डुब्ने गरेका छन् ।

अर्को कुरा नदी किनारमा पुगेर हेर्दा छेउमा त्यति धेरै गहिरो जस्तो लाग्दैन । तर त्यही ठाउँ नजिकैको नदीको भाग गहिरो हुन सक्छ । गहिरो छैन भनेर पानी टेक्दै हिँड्नेहरुलाई नजिकै रहेको गहिराईको बारेमा थाहा हुन्न र जसको कारण पनि दुर्घटना हुने गरेको छ । ‘त्यसैले त्रिशुली लगायतका नदी किनारमा जाँदा र पौडी खेल्दा धेरै कुरामा ध्यान दिनुपर्छ, नत्र दुर्घटना हुन सक्छ’ कँडेलले भन्नुभयो ।

लाइफ ज्याकेट अनिवार्य

डुंगा व्यवसायी र पौडी खेल्न सिकाउने समेत काम गर्ने कँडेलका अनुसार त्रिशुलीमा पौडी खेल्दा लाइफ ज्याकेट अनिवार्य लगाउनुपर्छ । ‘हामीले त लाइफ ज्याकेट बिना पौडी खेल्न दिने गरेका छैनौं’ उहाँले भन्नुभयो, ‘लाइफ ज्याकेट लगाउँदा ९० प्रतिशत सुरक्षित भइन्छ ।’

त्रिशुलीमा धेरैजना लाइफ ज्याकेट नलगाउने र नदीको बारेमा थाहा नभई पौडनेहरु डुब्ने गरेका छन् । ‘पौडी खेल्न जानेर मात्र हुँदैन, नदीको बारेमा ज्ञान हुनुपर्छ’ कँडेलले भन्नुभयो, ‘जस्तोसुकै जान्नेलाई पनि त्रिशुलीले लतार्न सक्छ ।’

त्यसैले त्रिशुली लगायतका नदीमा पौडी खेल्नुअघि जान्ने मान्छेको सहायता लिनु र लाइफ ज्याकेट लगाउनु अनिवार्य हुन्छ । यस्तै नदी किनारमा जाँदा पनि ख्याल गर्नुपर्छ । नत्र त्रिशुलीले निल्न सक्छ ।

उज्यालो अनलाईनवाट