राष्ट्रव्यापी जुडो प्रतियोगिता यसै साता

654 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

judo 1काठमाडौँ, २२ मङ्सिर । राष्ट्रिय जुडो सङ्घ नेपालको आयोजनामा तेस्रो राष्ट्रव्यापी जुडो प्रतियोगिता यसै साता सञ्चालन हुने भएको छ ।

सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही मङ्सिर २४ र २५ गते नयाँबजारस्थित बहुउेश्यीय मार्सल आटर्स केन्द्रमा हुने सङ्घका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा झापा, इलाम, सुनसरी, मोरङ, बाँके, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, नुवाकोट, काभ्रे, ललितपुर, भक्तपुर, रसुवा, सप्तरी, उपत्यकाभित्रका विभिन्न क्लब, डोजोलगायत ३५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४९, ४५, ५० र ५५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिलामा २४, २८, ३२, ३६, ४०, ४४, ४८, र ५२ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले रु पाँच हजार १११ प्राप्त गर्नेछ भने दोस्रो तथा तेस्रो हुने टिमले क्रमशः रु तीन हजार १११ र रु दुई हजार १११ पाउनेछन् ।

पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेलले यस किसिमको प्रतियोगिताले खेलकुद क्षेत्रको विकास र विस्तारमा केही सघाउ हुने उल्लेख गर्दै खेलकुद क्षेत्रलाई माथि उठाउन र राम्रा खेलाडी उत्पादन गर्न जुनियर खेलकुद प्रतियोगिताको आयोजना गरिनुपर्ने बताउनुभयो ।