जथाभावी विषादी प्रयोगको दुष्परिणाम

657 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मुलुकको राजधानी काठमाडौवाट मुश्किलले ६० किलोमिटर पश्चिममा रहेको धादिङको पींडा गाविसमा विषादी मिसिएको गहुँ खाँदा एकै परिवारको ६ जनाको मृत्यु भएको छ । अन्य अठार बढी सिकिस्त बिरामी भएका छन् । घटनाको बारेमा सम्पूर्ण विवरण आउन बाँकी रहेपनि बिउको लागि विषादी मिसाएर राखेको गहुँको रोटी खाएकै कारण ६ जनाको ज्यान गएको बताईएको छ । यसैवाट पुष्टि हुन्छ नेपालमा गरीबीको भयाबह रुप । विषादी मिसिएको गँहुको रोटी खाएकै कारण सर्वसाधारणको ज्यान गएको घटनालाई केबल भुलुचुकको रुपमा हेरिनु हुन्न । चरम आर्थिक संकट नभएसम्म कसैले पनि बिउ राखेकै गहुँ, मकै वा धान खाँदैनन् ।

‘हुलुमुलमा जीउ जोगाउनु अनिकाल बिउ’ भन्ने उखानै छ । यसैवाट पनि भन्न सकिन्छ । विउका लागि छुट्याईको कुनै पनि बस्तु सामान्य अवस्थामा जोसुकैले खाँदैनन् । जसले खाए उनिहरु केबल झुक्किएका मात्रै थिएन् । त्यो भन्दा ठुलो समस्या उनिहरुलाई दुईछाकको समस्याले पिरोलेको थियो । यो घटनासंगै अर्को एउटा डरलाग्दो तस्बिर सार्वजनिक भएको छ । नेपालमा विषादीको प्रयोग कति भयाबह छ । बिउ राखेको गहँुमा त यति कडा विष प्रयोग हुन्छ भने ब्याबसायिक प्रायोजनका लागि गरिने तरकारी लगायत अन्य बालीमा कुन मात्रामा विषको प्रयोग भएको होला । बिउ राखेको कुनै पनि बस्तुमा किरा नलागोस भनेर विषादीको प्रयोग गर्नु आम किसानको शैली हो । तर, कुन वालीमा कति मात्रामा विषादी प्रयोग गर्ने भन्नेमा प्रयोगकर्ता सचेत हुनैपर्छ । जसले विषको प्रयोग गरे तिनलाई त्यसको चौतर्फी असरबारे थाहा नहुन पनि सक्छ । तर, जहाँवाट विष खरीद गरे बिक्री गर्नेले विषको अवधि र प्रभाव यति हुन्छ, यति मात्रामा राख्नुपर्छ जस्ता न्युनतम कुरा सम्झाएर पठाएको भए यो स्थिती आउने थिएन । दुःखको कुरा राज्यले सामान्य पसलेलाई समेत घातक विषादी बेच्ने अनुमति दिन्छ तर, बद्मासी गर्नेलाई कार्वाही गर्दैन ।

जसको मृत्यु भयो तिनलाई फर्काउन सकिदैन । मृत्य सत्य हो । तर, जो बिरामी अवस्थामा छन् तिनलाई सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गर्नु राज्यको कर्तब्य हो । तिनको उपचारमा लागेको सम्पूर्ण खर्च राज्यले बेहोर्नुपर्छ । जसको मृत्यु भयो तिनका परिवारलाई तत्काल राहत उपलब्ध गराउनुपर्छ । सबै भन्दा महत्वपूर्ण कुरो विष बिक्रीलाई नियमन गर्न ढिला भईसकेको छ । तरकारी, बोट बिरुवा, वा अन्य कुनै पनि बनस्पतीमा प्रयोग गरिने विषादीको वारेमा सर्वसाधारण नागरिकलाई जानकारी दिनुको साथै विष प्रयोगपछिको सावधानीका वारेमा पनि जानकारी गराउन ढिला भैसक्यो । आम जनतालाइृ यस्ता विषयमा सूसुचित गर्ने दायित्व मूलत सरकारकै हो । धादिङ्को घटनावाट पाठ सिकेर आजैदेखी विषादी प्रयोग वारे जनचेतना जगाउने काम गर्ने हो भने फेरी यस्तै किसिमका दुर्घटना नहोलान् कि भनेर अपेक्षा गर्न सकिन्छ । आशा गरौं, अब राज्यले विषादी बिक्री वितरणको नियमन मात्रै गर्ने छैन, विषादी विक्री गर्ने संस्था र प्रयोगकर्तालाई यसको प्रयोगबारे बुझिने गरी सम्झाउने दायित्व निभाउन पहल गर्नेछ ।

राजधानी दैनिकको सम्पादकीय