सार्वजनिक शौचालय : महिलाको हुर्मत

500 पटक पढिएको

प्रकाशित मिति: २०७१, १९ श्रावण सोमबार २१:१९

सम्पादक: धादिङ न्यूज

उपत्यकामा पर्याप्त सङ्ख्यामा सार्वजनिक शौचालय नै छैनन् । भएका पनि यति फोहोर र अव्यवस्थित छन् कि त्यहाँ महिला छिर्नै सक्दैनन् ।
 मीना शर्मा
तीन वर्षदेखि काठमाडौंमा सडकव्यापार गर्दै आएकी विमला केसीलाई सधैँ एउटै पिरलो हुन्छ– शौचको । बिहान ६ बजेदेखि सडकमा व्यस्त रहने केसीलाई प्रशस्त पानी खानुपर्छ भन्ने जानकारी छ । तर, शौच कहाँ गर्ने भन्ने तनावले पानी नखाई दिन गुजार्नुपर्छ । नजिक सार्वजनिक शौचालय नहुनु र भएका पनि महिला पस्न कठिन हुने अवस्थाका हुने भएकाले यस्तो समस्या हुने केसीले बताइन् ।
पाँच महिनाअघि पिसाबमा सङ्क्रमण भएपछि अस्पताल पुगेकी केसीलाई डक्टरले औषधिसँगै प्रशस्त पानी खान सुझाए पनि त्यो पूरा गर्न सकिनन् । बिरामी भएपछि केही दिन आराम गर्दा पानी खाए पनि त्यसपछिको दिनचर्या फेरिन नसकेको गुनासो केसीको छ । उनी भन्छिन्, ‘स्वस्थ रहन प्रशस्त पानी खानुपर्छ भन्ने थाहा छ । पानी खाएर घर बस्यो साँझ चुलो बल्दैन । पिसाब रोक्दारोक्दै अर्को समस्या, त्यसैले पानी नखानु नै बेस ।’
उपत्यकामा रहेका शौचालयवरिपरि सवारीसाधन पार्किङ गर्ने ठाउँ नहुँदा पनि कुनै शौचालय आफ्नोअनुकूल नरहेको गुनासो छ दिलकुमारी तामाङको । दुई वर्षदेखि काठमाडौंमा टेम्पो चलाउँदै आएकी तामाङ घुम्ती शौचालयले कहिलेकाहीँ आफ्नो समस्या समाधान गरिदिए पनि धेरै दिन समस्या लिएर हिँड्नुपर्ने बताउँछिन् । कहिलेकाहीँ बिहानदेखि साँझसम्म त्यत्तिकै बस्नुपर्ने बाध्यता रहेको सुनाउँदै तामाङ भन्छिन्, ‘सवारीसाधन चलाउँदा शौचालयको समस्या भोग्ने मजस्ता धेरै साथी छन् । तर, हाम्रो कुरा कसले सुन्छ र ?’ दैनिक कामकाजका लागि धेरैजसो समय सडकमा बिताउने तामाङजस्ता महिलालाई उपत्यकाका नाम मात्रका सार्वजनिक शौचालयले कुनै राहत दिन सकेका छैनन् ।
एक वर्षदेखि काठमाडौंमा सवारीसाधन चलाउँदै आएकी गीता सापकोटा यस्तै समस्याबाट पीडित छिन् । पहिलेको तुलनामा पछिल्लो समयमा बढ्दै गरेको सवारीसाधन र मानिसको चापको कारणले झनै समस्या थपिएको उनको अनुभव छ । सापकोटा भन्छिन्, ‘सवारीसाधनको चापले गर्दा समयमा गन्तव्यमा पुग्न नसक्दा चालक महिला मात्र होइन यात्रुले पनि उत्तिकै सास्ती भोग्नुपर्छ ।’ विशिष्ट व्यक्तिको सवारी हुँदा होस् वा कुनै जुलुस निस्कँदा, त्यस्तो बेलामा सवारीसाधन बाटोमै छोडेर हिँडुजस्तो हुने गुनासो छ सापकोटाको । कुरा सार्वजनिक र अरूका निजी साधन चलाउनेको मात्र होइन, उपत्यकामा गुड्ने लगभग सात लाख सवारीसाधनको भीडमा आफ्नो सवारीसाधन गुडाउने पनि यस्ता समस्याबाट मुक्त छैनन् । आफ्नो सवारीसाधन (मोटरसाइकल) चलाएर हिँड्नेका समस्या पनि उस्तै–उस्तै छन् । काठमाडांैकी अनिशा गिरीलाई त झन् तेलको लाइन बस्दा भोग्नुपर्ने सास्तीले झस्काउँछ । समय–समयमा उपत्यकामा हुने पेट्रोलियम पदार्थको हाहाकारमा यस्तो समस्याले बढी सताउने उनले बताइन् । घन्टौँ लाइनमा बस्दा शौचको सास्ती भोगेकी गिरी भन्छिन्, ‘लाखौँ खर्च गरेर पेट्रोलपम्प सञ्चालन गर्नेले किन एउटा शौचालय पनि नबनाएका होलान् ?’
नेपाल आयल निगमको बिक्रेता विनियमावली ०६५ मा पेट्रोलियम पदार्थ बिक्रीस्थलमा शौचालय अनिवार्य हुनुपर्ने उल्लेख भए पनि उपत्यकाका अघिकांश पेट्रोलपम्ममा शौचालय छैनन् । नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरे पेट्रोलपम्ममा शौचालय प्रयोग गर्न नपाएको गुनासो आए कारबाही गर्ने बताउँछन् । सार्वजनिक शौचालय राखेर सबैलाई सेवा दिन नसके पनि सेवाग्राहीका लागि अनिवार्य हुनुपर्ने उनले बताए ।
आफ्नो स्कुटर चलाएर हिँड्ने बिन्दु थापालाई पनि उस्तै समस्या पर्छ । किनमेल गर्दा, बजार घुम्दा मात्र होइन मर्निङवाकमा हिँड्दासमेत यस्ता समस्या भोग्नुपर्ने बिन्दुको भोगाइ छ । अरूबेलाभन्दा पनि महिनावारीको समयमा अलि बढी सास्ती भोगेकी बिन्दु भन्छिन्, ‘उपत्यकामा भएका सार्वजनिक शौलाचयमा कहाँ महिला पस्न सक्छन र ?’
अर्को साथी बाहिर नउभिदिएसम्म ढुक्कसँग दिसा–पिसाब गर्न नसकिने अनुभव बटुलेकी उमा मरासिनी तीन वर्षदेखि सडकमा व्यापार गर्दै आएकी छिन् । रत्नपार्कवरिपरि सडकमा व्यापार गर्ने उमा ‘भएका शौचालयमा पनि चुकुल र पानीको व्यवस्था नहुँदा त्यो महिलाका लागि कुनै कामको नभएको’ बताउँछिन् । दिनभर पानी नखाँदा पिसाब पोल्ने समस्याले सताए पनि यसो गर्न आफू बाध्य रहेको उनले सुनाइन् । नियमित पानी नखाँदा स्वास्थ्यमा समस्या आउँदैन भन्ने प्रश्न सोध्न नपाउँदै उनले भनिन्, ‘काम नगरी घरको चुलो बल्दैन, स्वास्थ्य बिग्रन्छ भन्दै पानी खाएर घर बस्न त सकिँदैन नि ।’
बिन्दु, अनिशा, विमला, दिलकुमारी, गीता र उमा मात्र होइन, यस्ता समस्याको मारमा धेरै व्यक्ति पर्ने गर्छन् । गर्भवती, महिनावारी भएका महिला र मधुमेह भएका व्यक्तिलाई सार्वजनिक शौचालयको आवश्यकता झनै बढी भए पनि त्यसमा कसैको ध्यान नगएको स्त्रीरोग विशेषज्ञ डा. अर्चना अमात्य बताउँछिन् । गर्भवती तथा महिनावारीको समयमा शौचालय र पानीको समस्या देखाउँदै सरसफाइमा ध्यान नदिनेलाई पिसाब सङ्क्रमण र पाठेघरमा समेत समस्या पर्ने भएकाले स्वास्थ्यमा ध्यान दिन डा. अमात्य सुझाउँछिन् ।
जनस्वास्थ्यका विषयमा कलम चलाउँदै आएकी डा. अरुण उपे्रती पुराना र नयाँ संरचनाले स्वास्थ्यका विषयमा ध्यान नदिँदा संरचना नै अस्वस्थ भएको बताउँछिन् । आवश्यक ठाउँमा शौचालय अभावमा जहाँ पायो त्यहीँ शौच गर्ने बानीले धेरै स्वास्थ्य समस्या निम्त्याउने उनको बुझाइ छ । वर्षाको समयमा देखिने टाइफाइड, झाडापखाला, आउँ र हैजाजस्ता समस्या फैलनुको मुख्य कारण पनि व्यवस्थित शौचालय नहुनु हो भन्ने डा. उप्रेतीको भनाइ छ । ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गरिएका कतिपय क्षेत्रमा व्यवस्थित सार्वजनिक शौचालय नहुँदा यात्रुहरू मारमा परेको उनको अनुभव छ ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप पनि कम हुने भएकाले यसको प्रत्यक्ष असर मिर्गौलालाई पर्ने बताउँछन् । शरीरमा पानीको मात्रा कम हुनेलाई पिसाब सङ्क्रमण हुने र पटक–पटक पिसाब सङ्क्रमण हुनेको मिर्गौलामा समस्या आउने डा. काफ्लेले बताए । शरीरमा पानीको मात्रा कम भयो भने धेरै थाक्ने, रिसाउने, मुख सुक्खा हुने र प्यास लागिरहने लक्षण देखापर्छन् । त्यस्तै मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी प्रमुख डा. पुकारचन्द्र श्रेष्ठ २४ घन्टामा दुई–तीन लिटर पिसाब अनिवार्य फेर्नुपर्ने बताउँछन् । मिर्गौलालाई स्वस्थ राख्न नियमित पानी पिउनु मात्र होइन नियमित पिसाब फेर्न पनि आवश्यक रहेको डा. श्रेष्ठले बताए ।
वरिष्ठ युरोलोजिष्ट डा. अर्जुनदेव भट्टका अनुसार बारम्बार पिसाब रोक्यो भने पिसाब सङ्क्रमण, मिर्गौलाको पत्थरी हुनुका साथै नियमित पिसाब नगर्दा दिसामा पनि समस्या हुन्छ । डा. भट्टका अनुसार नियमित पिसाब रोक्नेलाई दिसा नगरी पिसाब नआउने समस्या पनि हुन्छ । पिसाब लागेको समयमा बाहिर नफाल्दा मिर्गौलाको काम कम हुँदै जाँदा मिर्गौला कमजोर हुनुका साथै नसा पनि कमजोर हुने डा. भट्टले बताए ।
तीन वर्षअघि खानेपानी र सरसफाइका लागि गैसस मञ्च र वाटर एडले काठमाडांै उपत्यकाका सार्वजनिक शौचालयको अवस्थाबारे गरेको अध्ययनले अवस्था दयनीय रहेको देखाएको थियो । उपत्यकामा रहेका ६८ वटा शौचालयमध्ये ६१ वटा मात्र प्रयोगमा छन् । प्रत्येक शौचालयमा दैनिक औसत तीन सय प्रयोगकर्ता हुने र त्यसमा सयजना महिला हुने गरेको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक शौचालयमा सरसफाइको कमी, पानीको अभाव, अँध्यारो ठाउँ, राम्ररी बन्द नहुने ढोका र चुकुल नहुँदा यस्ता शौचालयमा महिला नजाने समस्या अध्ययनमा देखिएको थियो ।
महिला शौचालय प्रयोगकर्ताका लागि सुरक्षा र गोपनीयता मुख्य आवश्यकता भए पनि उपत्यकाका अधिकांश शौचालयमा यसको अभाव छ । आवश्यक सरसफाइ नहुँदा शौचालयमा हुने फोहोरले गर्दा महिलालाई झनै स्वास्थ्यसम्बन्धी समस्या भोग्नुपर्ने हुन्छ । भक्तपुर नगरपालिकामा १७, काठमाडांै महानगरपालिकामा २९, कीर्तिपुर नगरपालिकामा तीन, ललितपुर उपमहानगरपालिकामा ६ र मध्यपुर थिमी नगरपालिकामा ६ वटा शौचालय सञ्चालमा छन् ।
(सञ्चारिका फिचर सेवा)
(मीना, हिमाल खबरपत्रिकाकी संवाददाता हुन्् ।)



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, १९ श्रावण सोमबार २१:१९ मा प्रकाशित