सियरा लियोन बन्दमा राजधानीमा सत्तरी शव फेला परे

537 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

फ्रिटाउन, ५ असोज । सियरा लियोनमा इबोलाको सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले घोषणा गरेको ७२ घण्टे बन्द आइतबार अन्त्य भएको छ र यसबीच उनीहरूले राजधानीमा यस रोगका कारण ज्यान गुमाएका ७० व्यक्तिको शव फेला पारेका छन् ।

अफ्रिकाको पश्चिमी भागमा अवस्थित यस मुलुकका ६० लाख जनता तीन दिनसम्म आफ्नै घरमा रहे र यस अवधिमा स्वास्थ्यकर्मी तथा सुरक्षा सेनालाई मात्र घरबाहिर जान अनुमति दिइयो ।

यस अवधिमा करिब ३० हजार स्वयंसेवी स्थानीय जनतालाई जानकारी दिन तथा साबुन उपलब्ध गराउन उनीहरूको ढोकाढोका पुगे । यसअवधिमा यी घरमा थप विरामी तथा शव फेला पार्न सकिने अधिकारीहरूले अनुमान गरेका थिए ।

फ्रिटाउन तथा वरपरका पश्चिमी क्षेत्रबाट अधिकारीहरूले हजारौँ फोन सन्देश प्राप्त गरेपनि थोरै विरामी फेला परेको सहायक स्वास्थ्य प्रमुख अधिकारी सरियान कमराले बताउनुभयो ।

उहाँले नयाँ बिरामी फेला परेको र उनीहरूलाई फेला पार्न नसकिएको भए रोग अझै व्यापक हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले आइतबार बिहानसम्म २२ नयाँ विरामी फेला परेको बताउनुभयो । स्वास्थ्य समूहको सहयोग बढेको र मृतक गाड्ने काममा लागेका व्यक्तिहरूले दुई दिनको अवधिमा ६० देखि ७० शव गाडेको उहाँले बताउनुभयो ।

ढोकाढोका पुगी शिक्षा दिने व्यक्तिहरूलाई कमजोर तालिम दिइएकाले उनीहरूले दिएको सल्लाहको गुणस्तरका विषयमा स्वतन्त्र सुपरिवेक्षकहरूले प्रश्न गरेका छन् र यसले बन्दबाट मिश्रित सफलता प्राप्त हुने धारणा उनीहरूले व्यक्त गरेका छन् ।

यसबीच सहयोगी संस्था तथा स्वास्थ्य विशेषज्ञहरूले तीन दिनको समयमा १५ लाख घरसम्म पुग्नसकिने सम्भावना कै विषयमा प्रश्न गरेका छन् । उनीहरूले मानिसलाई आफ्नै घरमा थुनेर राख्ने अवस्थाले सरकार तथा जनताबीच विश्वास घट्नसक्ने बताएका छन् ।

आनवअधिकारका विषयमा वकालत गर्ने तथा न्यु योर्कमा केन्द्रीय कार्यालय रहेको संस्था ह्युमन राइट्स वाचका स्वास्थ्य तथा मानव अधिकार निर्देशक जो आमेनले यो बन्द स्वास्थ्यका विषयमा सरकारले गरेको हस्तक्षेप भन्दा पनि बढी प्रचारप्रसारको नाटक भएको आरोप लगाउनुभयो ।

कमराले जनतालाई इबोलाको विस्तार रोक्ने विषयमा सूचना प्रदान गर्ने उद्देश्यमा यो कार्यक्रम सही स्थानमा रहेको दाबी गर्नुभयो ।

उहाँले घरमै रहन जनतालाई दिइएको आदेश पूर्ण रूपमा पालना भएको र यसैका कारण स्वास्थ्य स्वयंसेवी जनताको घरमा पुगेर इबोलाको विषयमा जानकारी दिने कार्य सम्भव भएको बताउनुभयो ।

इबोलाको ज्वरोका कारण विरामीलाई कमजोर बनाउँछ र उनीहरूको शरीर दुख्ने, बान्ता तथा झाडापखाला गराउने तथा केही व्यक्तिको शरीरभित्र तथा बाहिर रोक्नै नसक्ने गरी रगत बग्ने अवस्था देखिने गर्छ ।

यो रोग यस वर्ष देखा परेपछि गिनी, लाइबेरिया, सियरा लियोनमा दुई हजार ६०० व्यक्तिको मृत्युभइसकेको छ । यसले गाउँका सम्पूर्ण भागलाई रोगको केन्द्रको रूपमा परिणत गरेको छ र ठूलो आर्थिक सङ्कट फैदा गर्ने चेतावनी दिइएको छ ।

यस्तो त्रासबाट प्रभावित भएर भारतले अफ्रिकाका ५० भन्दा बढी मुलुकका प्रतिनिधिले भाग लिने तथा नयाँ दिल्लीमा आयोजना हुने एक शिखर बैठकलाई शनिबार स्थगन गरेको छ ।

इबोलाको विषाणुको फैलावटका तथा जनस्वास्थ्य व्यवस्थापनका कारण तेस्रो भारत–अफ्रिका मञ्चको शिखर बैठक आयोजना कठिन बनाएको विदेश मन्त्रालयका एक अधिकारीले बताए ।

म्याड्रिडमा अधिकारीहरूले सियरा लियोनमा क्याथोलिक धर्मप्रचारको अभियानमा रहेका र इबोलाबाट सङ्क्रमित व्यक्तिलाई फर्काउन एक विमान पठाउन लागिएको जानकारी दिएका छन् ।

इबोलाले लाइबेरियालाई सबैभन्दा बढी प्रभावित बनाएको छ र यहाँ एक हजार ४५० व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूले परम्परागत समाजमा उच्चरूपमा सङ्क्रमित शवनजिकै नबस्न दिइएको सल्लाह नमान्दा यो रोगको फैलावट नियन्त्रण गर्न नसकिएको बताएका छन् ।

राजधानी मोन्रोभियाबाट उत्तरपश्चिममा पर्ने बोमी प्रशासकीय क्षेत्रका स्वास्थ्य अधिकारी गाब्रियल गोर्बी लोगानले परम्परागत रूपमा नातेदारले सङ्क्रमित शव गाड्ने गरेको र उनीहरूले यस्तो काम गर्दा परम्पराअनुसार शवलाई नुहाइदिने गरेको बताउनुभयो ।

यस्तो अवस्थामा शव नुहाइदिने व्यक्ति आफैँ रोगबाट सङ्क्रमित भइसक्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य अधिकारीहरूले इबोलाको विषाणु फैलन नदिन धार्मिक नेताहरूका लागि पनि चेतामूलक कार्यक्रम सञ्चालन गरिएको बताएका छन् ।