मलेसिया पुगेका ६ नेपाली मेनपावरको ठगिमा

715 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मलेसिया ११, असोज – वैदेशिक रोजगारीका लागि करिव ६ महिना अगाडि मलेसिया आइपुगेका ६ जना नेपाली युवाले आफुहरु ठगिमा परेको गुनासो गरेका छन् । पेनाङ्गको सालामामा रहेको हर्वल सेम कम्पनीको मार्केटिङ्ग गर्ने भनेर आएका उनीहरुले मलेसिया आइपुगे पछि त्यहि कम्पनीको जडिबुटी उत्पादन शाखामा काम गरिरहेको भएपनि ३ महिना देखि एक रुपयाँ पनि पैसा पाएका नपाएको गुनासो गरेका छन् ।

सम्झौता भए अनुसार मार्केटिङ्गको काम नभएर अहिले उनीहरु दिनभरि जंगल फडानीको काम गरिरहेका छन् भने सोहि कम्पनीको म्याटेक्स उत्पादन कम्पनीमा काम गर्नु परेको कपिलवस्तुका रामप्रसाद थारुले वताए ।

मलेसिया पठाएको काठमाडौं बसुन्धराको मेनपावर कम्पनीसँग काम वारे कुरा गर्दा म्यानपावरले कुनै वास्ता नगरेको उनीहरुको गुनासो छ । अलपत्र परेका नेपालीहरु मध्ये काभे्र जैशिथोकका गंगानाथ न्यौपाने, कपिलवस्तुका रामप्रसाद थारु, ललितपुरका श्यामकुमार लामा र देवबहादुर घिमिरे, रामेछापका पदम सुनुवार र सप्तरीका विश्वेश्वर चौधरी रहेका छन् ।

उनीहरुले कम्पनीले सम्झौता अनुशार काम नभएकाले हामी नेपाल फर्कन्छौं भन्दा पनि काममै लगाईरहेको र पैसा माग्दा उल्टै मार्ने धम्की आएकोले सहयोगका लागि आग्रह गरेका छन् ।

उनीहरु काम गरिरहेको ठाउँबाट मलेसियाको क्वालालम्पुरमा रहेको नेपाली दुतावासमा पुग्न ६ घण्टा बसमा जानु पर्छ । ‘अहिले कम्पनीले काम भन्दा बाहिर जान पुरै प्रतिबन्ध लगाएर कोठामै थुनेर राखेको छ’ न्यौपानेले टेलिफोनमा भने । समयमा पैसा नदिएर खाना खान समस्या भएको न्यौपाने वताए । जंगलमा तेलको रुख काट्न समेत लगाउछ एउटा काम भनेर अर्र्कौ काममा झुक्काएकाले हामी नेपाल फर्किन चाहन्छौ न्यौपाने भने देश परदेश डट कमले खबर छापेको छ ।