अमेरिकाबाट ठूलो संख्यामा नेपालीलाई डिपोर्ट र एयरपोर्टबाटै फिर्ता : पक्राउ पर्ने नेपाली अहिलेसम्मकै बढी

678 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

किशोर पन्थी न्युयोर्कमानव तस्करहरुलाई लाखौं रकम बुझाएर गैर कानुनी रुपमा अमेरिका छिर्ने उद्देश्यले दक्षिण र मध्य अमेरिकी देशहरुको बाटो हुँदै आउदै गर्दा सेप्टेम्बरमा मात्रै ५४ जना नेपालीहरु कोष्टारिकामा पक्राउ परेका छन् । गत साता सेप्टेम्बर २९ मा ८ जना नेपालीहरु कोष्टारिकामा पक्राउ परेपछि एकमहिनाको अवधिमा पक्राउ पर्नेहरुको संख्या ५४ पुगेको हो । यसअगाडि सेप्टेम्बर ५ मा ७ जना र सेप्टेम्बर ८ मा २७ जना नेपालीहरु कोष्टारिकामा पक्राउ परे । सन् २००८ देखि इक्वेडरले सबैलाई ९० दिनको पर्यटक भिसा दिने नियम बनाएपछि नेपालीहरुलाई इक्वेडर आएर कोष्टारिका लगायतका देशहुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न सजिलो हुँदै आएको छ ।
images सन् २०१४ को सेप्टेम्बरसम्म त ८० जना नेपालीहरु कानुनी रुपमा नै कोष्टारिकामा प्रवेश गरेका थिए । कोष्टारिकामा मात्र होइन, नेपालीहरु अमेरिका छिर्न खोज्दा अन्य देशमा पनि पक्राउ पर्ने गरेका छन् । गत अप्रिलमा कोलम्बियामा पनि अमेरिका छिर्ने उद्देश्यले हिडेका ११ जना नेपालीहरु पक्राउ परेका थिए । अमेरिका छिर्ने क्रममा कैयन नेपालीहरुले डुंगा डुबेर , जंगली जनावरले आक्रमण गरेर वा बिरामी भएर बीचैमा ज्यान समेत गुमाउने गरेका छन् । त्यो बाहेक अमेरिका छिरिसकेका  कैयन नेपालीहरु अमेरिकामा नै समेत पक्राउ पर्ने गरेका छन् । पक्राउ परेका कैयन नेपालीहरु पुन नेपालमा डिपोर्ट हुने गरेका छन् । यसरी अमेरिकामा पक्राउ पर्ने र डिपोर्ट हुने नेपालीहरुको संख्या उल्लेख्य छ । अमेरिकामा पक्राउ पर्ने र डिपोर्ट हुने नेपालीहरुमा धेरैजसो गैरकानुनी रुपमा अमेरिका छिरेका र अध्यागमन कानुनको उल्लंघन गरेकाहरु छन् भने केही नेपालीहरु उनीहरुले गरेको अपराधका कारण पनि डिपोर्ट हुने गरेका छन् ।

एकवर्षमा ४ सय ८८ जना नेपाली अमेरिकामा पक्राउ

अमेरिकी सरकारले गत बुधबार अर्थात् अक्टोबर १ मा सार्वजनिक गरेको तथ्यांक अनुशार गत वर्ष अर्थात् सन् २०१३ मा मात्रै अमेरिकामा ४ सय ४८ जना नेपालीहरु पक्राउ परे । पक्राउ पर्नेहरुमध्ये अधिकांश सीमा सुरक्षा बलले पक्राउ गरेकाहरु छन् भने कैयन नेपालीहरुलाई अमेरिका भित्रै छिरिसकेपछि विभिन्न अपराधका आधारमा पक्राउ गरिएको छ । नेपालीहरु यसरी अमेरिकामा पक्राउ परेको यो अहिलेसम्मकै ठूलो रेकर्ड हो । अर्थात् अहिलेसम्म यति धेरै नेपालीहरु अमेरिकामा पक्राउ परेका थिएनन् ।
अघिल्लो वर्ष सन् २०१२ मा जम्मा २ सय ४८ जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । सन् २०११ मा भने १ सय ८० जनामात्रै नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । सन् २०१० मा अमेरिकामा पक्राउ पर्ने नेपालीहरुको संख्या ह्वात्तै बढेका थिए । यो वर्ष २ सय ३० जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । सन् २००९ मा १ सय ४८ जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । त्यस्तै सन् २००८ मा १ सय २ जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । यसअगाडि भने अमेरिकामा पक्राउ पर्ने नेपालीहरुको संख्या अत्यन्तै कम रहेको थियो । सन् २००८ सम्म नेपालीहरुलाई इक्वेडर आउन पनि त्यती सहज थिएन । तर सन् २००८ मा इक्वेडरले सबैलाई विमानस्थलमा नै ९० दिनको पर्यटकभिसा दिन थालेपछि इक्वेडरको बाटो हुँदै अमेरिका छिर्ने नेपालीहरुको संख्या बढेकाले अमेरिकाको सिमाक्षेत्रमा पक्राउ पर्ने नेपालीहरुको संख्या पनि बढेको हो । इक्वेडरको नयाँ नीतिका कारण नेपाली मानव तस्करहरुलाई सहज हुन गएको हो भने नेपालबाट अमेरिकामा मानव तस्करी पनि यसैवर्षदेखि गुणात्मक रुपमा बृद्धि भएको हो ।
सन् २००७ मा त जम्मा ४४ जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । ति मध्ये केही अमेरिकाभित्र अपराध लगायतका विभिन्न कारणले पक्राउ परेका थिए भने केहीलाई सीमा सुरक्षा बलले पक्राउ गरेको थियो । सन् २००६ मा ४८ जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । त्यस्तै सन् २००५ मा अमेरिकामा पक्राउ पर्ने नेपालीहरुको संख्या ३३ रहेको थियो । सन् २००४ मा भने ६० जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । अमेरिकाको अध्यागमन र सीमा सुरक्षा बलले सबैभन्दा धेरैलाई पक्राउ गर्दै आएको छ । अमेरिकाको सीमा क्षेत्रको रक्षा र अमेरिका छिर्ने स्थल, हवाई तथा सामुन्द्रिक नाकाहरुमा यो बल कार्यरत रहदै आएको छ ।
अमेरिकाको मेक्सिको र क्यानडासँग सिमा जोडिएको झण्डै ७ हजार माइलको क्षेत्रमा र समुन्द्रको २६ सय माइलको सिमा क्षेत्रमा अमेरिकी सिमा सुरक्षा गस्ती तैनाथ रहेको छ । त्यो बाहेक अमेरिकाको अध्यागमन कार्यान्वयन इकाईले तस्करी , अपराध लगायतका गतिविधिमा संलग्नहरुको निगरानी र पक्राउ गर्दै आएको छ । अमेरिकामा पक्राउ परेका नेपालीहरुमध्ये कैयनलाई यही इकाईले पक्राउ गरेको छ । उनीहरु गलत तरिकाले अमेरिकी नागरिकता लिन खोजेको, मानव तस्करीमा संलग्न भएको, लागुऔषधमा संलग्न रहेको, गाडी चलाउने क्रममा कसैलाई ठक्कर दिएर भागेको, आक्रमण गरेको, डकैती गरेको, हातहतियार सम्बन्धि अपराधमा संलग्न भएको, यौन दुब्र्यबहार गरेको र किर्ते काममा संलग्न भएको अभियोगमा पक्राउ परेका हुन् ।

भिसा लिएरै अमेरिका आएकाहरुलाई अमेरिका छिर्न नदिई फिर्ता 

अमेरिकाको भिसा पाउनै मुस्किल । पाइहाले पनि त्यो भिसाले अमेरिका छिर्न पाउने ग्यारेन्टी हुँदैन । किनभने अमेरिका भिसा सम्बन्धि नियममा नै त्यो भिसा अमेरिकाको हवाई, स्थल वा सामुन्द्रिक नाकासम्म पुग्नका लागि मात्र भएको र अमेरिका छिर्न दिने वा नदिने कुराको निर्णय प्रवेश नाकामा कार्यरत अध्यागमन अधिकारीहरुले गर्ने स्पष्ट उल्लेख हुने गरेको छ । त्यसैले अमेरिकाको भिसा लिएर सिमा नाका सम्म आएका कैयन नेपालीहरुलाई अमेरिका छिर्न नदिएर नेपाल नै फिर्ता पठाउने समेत गरिएको छ । अक्टोबर १ मा नै अमेरिकी सरकारले सार्वजनिक गरेको तथ्यांक अनुशार गत वर्ष अर्थात् सन् २०१३ मा ७७ जना नेपालीहरुलाई अमेरिका प्रवेशका लागि अयोग्य ठहराउँदै अमेरिका छिर्न दिइएको थिएन । उनीहरुमध्ये कैयन अमेरिकाको भिसा बोकेर अमेरिकाको विमानस्थलसम्मै आइपुगेका थिए । उनीहरुलाई अमेरिकाको कानुन अनुशार अमेरिका छिर्न अयोग्य सावित गर्दै उनीहरुकै देशमा फिर्ता पठाइएको थियो । पहिलोपल्ट अमेरिका आउदै गरेका नेपालीहरुको तुलनामा दोश्रोपटक वा त्यो भन्दा बढी अमेरिका आउदै गरेका नेपालीहरुलाई विमानस्थलबाट नै फर्काइएका उदाहरणहरु प्रसस्तै रहेका छन् । अन्य भिसाका तुलनामा भिजिटर भिसा वा विद्यार्थी भिसामा दोश्रोपटक अमेरिका आउदै गरेका नेपालीहरु एयरपोर्टबाटै फर्काइएका घटनाहरु धेरै रहेका छन् ।
नेपाली विद्यार्थीहरु पहिलोपटक अमेरिका आउदा इमिग्रेशन अफिसरले एयरपोर्टबाटै फिर्ता पठाएका घटना प्रकाशमा आएका छैनन् । तर अमेरिकामा अध्ययन गर्दा गर्दै विदाको समयमा नेपालमा गएर अमेरिका आउन खोज्दा भने नेपाली विद्यार्थीहरुलाई एयरपोर्टबाट नेपालमा नै फिर्ता पठाइएका घटनाहरु भने निकै रहेका छन् । विदामा नेपाल गएर फर्कने क्रममा इमिग्रेशन अफिसरले धेरै प्रश्नहरु सोध्ने र नेपालमा नै फर्काउनसक्ने सम्मको डर भएको भन्दै धेरै नेपाली विद्यार्थीहरु विदामा नेपाल जान समेत डराउने गरेका छन् । नेपाल जाने चाहना भएपनि अमेरिका आउँदा विमानस्थलबाटै  फर्काउन सक्ने डरकै कारण नेपाल नै नगई अमेरिकामा बसिरहेका नेपाली विद्यार्थीहरुको संख्या निकै ठूलो रहेको छ । विशेषत अमेरिका छिर्दै गरेको व्यक्तिले अमेरिकामा त्यसभन्दा पहिले गैरकानुनी रुपमा काम गरेको पाइएको खण्डमा त्यस्ता व्यक्तिलाई विमानस्थलबाटै फिर्ता पठाइने गरेको छ भने अमेरिका छिर्दै गरेको व्यक्तिको गैरकानुनी रुपमा नै अमेरिकामा बसेर काम गर्ने आशय रहेको पाइएमा पनि त्यस्ता व्यक्तिलाई एयरपोर्टबाटै फिर्ता पठाइने  गरेको छ । अमेरिका आउदै गरेको व्यक्तिलाई शंका लागेमा उसले बोकेको सामान समेत चेक गरिन्छ । यदि उसले बोकेको सामानबाट उसको अमेरिकामा बस्नै आशय देखिएमा पनि एयरपोर्टबाटै फिर्ता पठाउने गरिएको छ ।
त्यो बाहेक कुनै आतंककारी वा आपराधिक संगठनसंग सांठगांठ रहेको पाइएमा, कुनै अपराध गरेको पाइएमा, पहिले अमेरिकामा आउदा भिसा अवधी भन्दा धेरै समय बसेको पाइएमा पनि अमेरिका छिर्न नदिई विमानस्थलबाटै फिर्ता पठाउने गरिएको छ । पर्यटक भिसामा अमेरिका छिर्न लागेको व्यक्तिले आफू बस्दै आएको देशमा फर्कनुपर्ने अवस्था देखाउन नसकेको खण्डमा पनि त्यस्ता व्यक्तिलाई भन्सार तथा सिमा सुरक्षा अधिकारीले एयरपोर्टबाटै फर्काउन सक्ने अधिकार रहेको हुन्छ । भन्सार तथा सिमा सुरक्षा भन्छ – “कुनै पनि व्यक्ति अमेरिकामा छिर्नु उसको अवशर हो, अधिकार होइन । ”
फेसबुक वा ट्वीटरमा जोक गर्दा एयरपोर्टबाटै फिर्ता पठाइएका उदाहरणहरु पनि अमेरिकामा छन् । केही अगाडि ट्वीटरमा जोक गर्दा दुईजना युरोयिपनहरुलाई एयरपोर्टबाटै फिर्ता पठाइएको थियो । लेघ भेन ब्राइन र इमली बन्टिङलाई लज एन्सलसको एयरपोर्टमा रातभर हिराशतमा लिएर भोलिपल्ट युरोप नै फिर्ता पठाइएको थियो ।     यसरी अमेरिका छिर्नै नदिई फिर्ता पठाउनुको कारण थियो, ब्राइनले आफ्नो ट्वीटरमा आफूहरु अमेरिकालाई ध्वस्त पार्न र अमेरिकी कलाकार मार्लिन मुनरोको चिहान खन्न अमेरिका जान लागेको भन्दै ट्वीटरमा जोक गरेका थिए । युरोप फिर्ता पठाइएका ब्राइनले भनेका थिए –“ विमानस्थलमा आतंककारीलाई जस्तै व्यवहार गरियो । ”
यसरी सिमा नाकाबाटै फिर्ता पठाइएका नेपालीहरु सन् २०१२ मा ६७ जना र सन् २०११ मा १ सय ४ जना रहेका थिए । सन् २०१० मा ६३ जना नेपालीलाई र सन् २००९ मा ६६ जना नेपालीहरुलाई सीमा नाकाबाट फिर्ता पठाइएको थियो । त्यसैगरी सन् २००८ मा १ सय २२ जना नेपालीहरुलाई सीमा नाकाबाट फिर्ता पठाइएको थियो । सीमा नाकाबाट फिर्ता पठाइएका नेपालीहरुमा यो नै अहिलेसम्मको ठूलो रेकर्ड हो । सन् २००७ मा ६५ जनालाई , सन् २००६ मा ७० जनालाई र सन् २००५ मा ९० जना अमेरिकाको भिसा बोकेर आएका नेपालीलाई सीमा नाकाबाट अमेरिका छिर्न नदिई नेपाल फिर्ता पठाइएको थियो । सन् २०१३ मा विश्वभरबाट अमेरिकाले २ लाख ४ हजार १ सय ८ जनालाई सिमा नाकाबाट अमेरिका छिर्न नदिई उनीहरुकै देशमा फिर्ता पठाएको थियो । सन् २०१३ मा अमेरिकामा छिर्न नदिएर फिर्ता विश्वभरबाट फिर्ता पठाइएकाहरुमध्ये विमानस्थलबाट २४ प्रतिशत, सामुन्द्रिक नाकाबाट २५ प्रतिशत र बाँकी स्थलनाकाबाट अमेरिका आउँदै गरेकाहरु थिए ।

ठूलो संख्यामा अमेरिकाबाट नेपालीहरु डिपोर्ट

अमेरिका छिरिसकेका नेपालीहरु हरेकवर्ष ठूलो संख्यामा नेपाल डिपोर्ट हुने गरेका छन् । यसरी डिपोर्टहुनेहरु गतवर्षमात्र ६४ जना रहेका थिए । उनीहरुमध्ये २५ जनालाई कुनै कानुनी आदेशविना नै नेपाल डिपोर्ट गरिएको थियो भने ३९ जनालाई अमेरिकाबाट डिपोर्ट गर्ने कानुनी आदेश अनुशार डिपोर्ट गरिएको थियो । कानुनी आदेश अनुशार डिपोर्टहुनेहरुमध्ये १२ जना त मानव तस्करीमा संलग्न भएको, लागुऔषधमा संलग्न रहेको, गाडी चलाउने क्रममा कसैलाई ठक्कर दिएर भागेको, आक्रमण गरेको, डकैती गरेको, हातहतियार सम्बन्धि अपराधमा संलग्न भएको, यौन दुब्र्यबहार गरेको र किर्ते काममा संलग्न भएको जस्ता अपराधका आधारमा डिपोर्ट हुनेहरु थिए । बाँकी २७ जना चाँही एसाइलम अस्वीकृत हुँदा वा अन्य कारणले डिपोर्टको कानुनी आदेश प्राप्त गर्नेहरु थिए ।
पक्राउ परे लगत्तैको अन्तरवार्तामा अमेरिकामा बस्नुको कारण पुष्टि गर्न नसक्नेहरु कुनै कानुनी आदेश विना नै डिपोर्ट हुने गरेका छन् । अमेरिकामा एसाइलम गर्न खोज्दा एसाइलम अस्वीकृत हुनेहरु र कुनै अपराध गरेको पुष्टी हुनेहरुभने कानुनी आदेश अनुशार डिपोर्ट हुने गरेका छन् । कुनै कानुनी आदेश विना पक्राउपछि सिधै डिपोर्ट हुने नेपालीहरु सन् २०१२ मा ३६ जना, सन् २०११ मा ६३ जना, सन् २०१० मा ४३ जना र सन् २००९ मा ५२ जना रहेका थिए । अमेरिकामा कुनै अपराध नै गरेर कानुनी आदेशपछि डिपोर्ट हुने नेपालीहरु सन् २०१२ मा ९ जना, सन् २०११ मा ९ जना, सन् २०१० मा ८ जना, सन् २००९ मा ११ जना, सन् २००८ मा ८ जना, सन् २००७ मा ५ जना, सन् २००६ मा ८ जना, सन् २००५ मा ८ जना र सन् २००४ मा ४ जना रहेका थिए । त्यसैगरी अमेरिका बस्नुको औचित्य पुष्टी गर्न नसकेर कानुनी आदेशपछि डिपोर्ट हुने नेपालीहरु सन् २०१२ मा २९ जना, सन् २०११ मा ४१ जना, सन् २०१० मा ४९ जना, सन् २००९ मा ४४ जना, सन् २००८ मा ३८ जना, सन् २००७ मा ३८ जना, सन् २००६ मा २२ जना, सन् २००५ मा ३० जना र सन् २००४ मा ४५ जना रहेका थिए ।
मेक्सिकोबाट अमेरिका छिर्ने टेक्सासको लारेडो नाका र सुरक्षामा खटिएका सीबीपी अफिसर । गत वर्ष यो नाकाबाट अमेरिका छिर्न खोज्ने ३१ हजार ७ सय ८१ लाई फिर्ता पठाइएको थियो भने ५० हजार ७ सय ४९ जनालाई पक्राउ गरिएको थियो । जसमध्ये कैयन नेपालीहरु थिए ।
खसोखास साप्ताहिकबाट