एक महिनामा नौ जनाको हत्या

393 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sanchar anugaman_2ललितपुर, मंसिर ८। सञ्चारिका समूह नेपालले कात्तिक महिनामा गरेको सञ्चार अनुगमनका क्रममा एक महिनामा  ९ जना किशोरी तथा महिलाको हत्या भएको देखिएको छ।  ती हत्यासम्बन्धी ५६ वटा समाचार सामग्री प्रकाशित भएका थिए ।
 अनुगमनमा १४ वटा राष्ट्रिय दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीयलाई समेटिएको थियो । महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन  गरिएको सञ्चारिका समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
तीमध्ये बलात्कार, यौन दुर्व्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य  थिए।
सम्प्रेषणका आधारमा २२ वटा बलात्कारको घटनाका १०६ वटा समाचार सामग्री प्रकाशनमा आएका छन्। यो  एक महिनामा १४ वटा दैनिकमा  महिलाबेचविखनका ६ वटा घटनाका ३२ वटा सामग्री प्रकाशित थिए। महिलाकोे स्वास्थ्यअधिकारको हनन् भएका २७  समाचार, विचार तथा सम्पादकीय प्रकाशित भए भने घटनाको संख्या २ थियो।
परम्परागत र धार्मिक हिंसाका ३७ समाचार, विचार तथा सम्पादकीय छापिएकामा १ घटना थिए भने ५ वटा यौन दुर्व्यवहारका घटनाका २४ वटा समाचार सामग्री प्रकाशित थिए।
सोही अध्ययनले महिलामाथि हुने घरेलु हिंसासँग सम्बन्धित ५ वटा घटनाबारे ४२ वटा समाचार, विचार तथा सम्पादकीय छापिएको देखाएकोे छ। त्यस्तै दाइजोसँग सम्बन्धित  १ वटा घटनाको ४ समाचार सामग्री र बहुविवाहका  ३ समाचार सामग्री प्रकाशित थिए।
विज्ञप्ति अनुसार महिला हिंसासम्बन्धी सबैभन्दा बढी समाचार भित्री पृष्ठमा छापिएका थिए। पहिलो पृष्ठमा १९ वटा समाचार छापिएका थिए। सबैभन्दा बढी समाचार पाँचौं पृष्ठमा छापिएको थियो। धेरै समाचारलाई सानो ठाउँ दिइएको थियो।
अनुगमनमा समेटिएका सञ्चारमाध्यमले महिला हिंसासम्बन्धी समाचारलाई  प्राथमिकतामा राखी प्रकाशित गरेको पाइएको  छ। फलोअप समाचार पहिलाको भन्दा धेरै आएको पाइयो। कात्तिक महिनामा हत्याको ९ र बलात्कारको एउटा फलोअप समाचार प्रकाशित भएको थियो। यद्यपि सफ्ट न्यूजमा फोटोको प्रयोग, हिंसा गर्ने व्यक्तिको भनाइ, विद्यमान कानुनी प्रावधानसम्बन्धी जानकारी भने अझै अपुग देखिएको सञ्चारिका समूहले जनाएको छ।
सो सञ्चार अनुगमनमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट,  नेपाली दैनिक तथा द काठमाण्डु पोष्ट, रिपब्लिका, द हिमालयन टाइम्स, र द राइजिङ नेपाल अंग्रेजी दैनिक समेटिएका थिए।
सञ्चारिका समूहले सञ्चारमाध्यममा महिला हिंसाका समाचार कति आएका छन् र ती  समाचारले कस्तो प्राथमिकता पाइरहेका छन्। हिंसाका समाचारमा फलोअप समाचार आएका छन् कि छैनन्। समाजमा लैंगिक हिंसा कस्ता छन् र कस्ता समाचार आइरहेका छन् भनेर समूहले सञ्चार अनुगमन गर्दैआएको  संयोजक रामशरण सेढाईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

– सञ्चारिका अनलाइन