हड्ताल गर्दा मलेसियामा ३४ नेपाली कामबाट निकालिए

549 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मलेसिया, फागुन ३० – स्वदेशमा होस् कि विदेशमा नेपाली युवाहरु आफ्नो माग पुरा गर्न बन्द हड्तालकै साहारा लिन्छन् । यसले स्वदेशमा त उनीहरुको माग पुरा गराउन सजिलो भएको होला तर विदेशमा भने अप्ठेरोमा पनि परेका छन् ।

मलेसिया नेपालीहरुको प्रमुख श्रम गन्तब्य हो । यो देशको कानुन अनुसार कसैले पनि बन्द, हड्ताल गर्न पाइदैन । तर यसको प्रबाह नै नगरी वा थाहा नपाएर बेला बेलामा नेपालीहरुले बन्द हड्ताल गर्छन् । यसै हप्ता यहाँको दुईवटा कम्पनीमा नेपालीले हड्ताल गरे । त्यसको परिणाम भने दुखद र सुखद दुबै रह्यो ।

सेलाङगोर राज्यको ओवाइएल कम्पनीमा ३४ जना नेपाली कामदार हड्ताल गरेका कारण घर न घाटको भएका छन् । मेनपावरले भने अनुसारको तलब र सेवा सुविधा नपाएपछि गएको सोमबारदेखि काम छाडेका उनीहरुलाई कम्पनीले कामबाट निकालिदियो । कम्पनीको यस्तो ब्यबहारपछि कामदारले मेनपावर एजेन्टलाई नेपालबाट मलेसिया झिकाए तर समस्या समाधान हुन सकेन । अहिले उनीहरु राजधानी क्वालालुम्पुरमा रहेको नेपाली दुतावासको शरणमा पुगेका छन् । दुतावासबाट पनि कुनै पहल हुन नसक्ने देखेपछि उनीहरु घर फर्कने तयारीमा छन् ।

खास के भएको थियो ?

सुर्खेतका नरेश खड्का सहितका ४५ जनाले कम्पनीको ओवाइएल कम्पनीमा काम गर्न नेपालको एससिएम मेनपावरमा पासपोर्ट बुझाए । भनेजति १ लाख ३५ हजारदेखि १ लाख ६० हजार रुपैयाँसम्म तिरे । मेनपावरले ३ घण्टा ओभरटाइमको सुविधा, हप्तामा दुई दिनको काम ओभरटाइममा गनिने गरी महिनामा १२ सय रिङ्गेट कमाइ हुन्छ भनेर पठाएको थियो ।

तर यहाँ आएपछि उनीहरुलाई एक सप्लायर्स कम्पनी मार्फत ओवाइएल कम्पनीमा लगियो । उनीहरुको काम ओवाइएल कम्पनीमा भएपनि भिसा र कागजी प्रक्रिया सप्लायर्स कम्पनीको मातहतमा भयो । सप्लायर्स कम्पनीको मातहतमा रहेका कारण कम्पनीको मातहतमा काम गर्ने कामदारको भन्दा उनीहरुको कमाइ आधा मात्र रह्यो । ‘त्यसैले हामी हड्ताल गर्ने निर्णयमा पुगेका हौं’ खड्काले भन्नुभयो ।

हड्तालपछि के भयो ?

एक्कासी काम गर्न छाडेपछि कम्पनीले उनीहरुको स्थानीय एजेन्ट बोलायो । एजेन्टले सम्झाइ बुझाइ काममा लगाउने कोशिस ग¥यो तर कामदारले मानेनन् । केही सीप नलागेपछि स्थानीय एजेन्टले नेपालबाटै एससिएम मेनपावरका निर्देशक नरेश गेलाललाई मलेसिया झिकाए । कम्पनी, स्थानीय एजेन्ट र नेपाली एजेन्ट कतैबाट पनि आफ्नो पक्षमा निर्णय नभएपछि पीडित कामदारले मंगलबार नेपाली दुतावासमा निवेदन दिए ।

बुधबार मलेसियाको प्रगतिशील प्रवासी श्रमिक मञ्चका महासचिव प्रेम पाण्डे, दुतावासको द्धितीय सचिव चक्र सुवेदी र श्रमिकहरुबिच छलफल भयो । तर छलफलमा मेनपावरका निर्देशक गेलाल छलफलमा सहभागी हुनुभएन । श्रमिकहरुले नेपाल फर्कन पाउँ भन्ने कुरामा अडान लिए । उनीहरु नेपाल फर्कन पनि नपाउने भए, कम्पनीले पनि कामबाट निकालिदियो । यसरी ३४ जना नेपाली घरको न घाटको भए ।

अर्को कम्पनीमा दुई दिन हड्ताल

सेलाङ्गोर राज्यकै पोर्ट केलाङको इन्नोलेटेक्स कम्पनीमा भने नेपाली कामदार २ दिन हड्तालपछि काममा फर्किए । होस्टल अब्यवस्थित भएको र सम्झौता अनुसारको काम नपाएपछि कम्पनीका नयाँ कामदारले शनिबार र आइतबार काम बन्द गरेका थिए ।

शनिबार कम्पनीका नयाँ कामदारलाई तलब वितरण गरियो । तलब बुझेपछि तनहुँका दीपक पौडेल साथीसँग रकम सापटी मागेर ४ हजार रिङ्गेट घर पठाउन होस्टलबाट निस्कनुभयो । मूल गेट खोलेर बाहिर निस्कनेवित्तिकै उहाँमाथि ३ जना तमिलले आक्रमण गरी सबै रकम लुटे । घाइते दीपकलाई उपचारका स्थानीय क्लिनिकमा लगियो ।

त्यहाँ उपचार नहुने भएपछि अर्को अस्पताल लैजानुपर्ने भयो । कामदारहरुले कम्पनीका मानव संसाधन अधिकृतलाई फोन गरे । तर उनले फोन नउठाएपछि आक्रोशिन नेपाली कामदारले आफ्नो बिभागका सुपरभाइजरलाई समस्या सुनाएर काम गर्न छाडे ।

पछि कम्पनीका मानव संसाधन अधिकृत घाइते नेपाली कामदार भेट्न अस्पताल पुगे ।  घाइते कामदारको उपचारपछि अहिले होस्टल फर्काइएको छ । त्यसदिन कम्पनीले आफुहरुलाई वेवास्ता गरेको र आफुहरु असुरक्षित भएको भन्दै कामदारहरु २ दिनसम्म काममा गएनन् । कम्पनीले कामदारको सुरक्षा नदिएको भन्दै उनीहरुले आफुहरुलाई नेपाल फर्काइदिन आग्रह गर्‍यो ।

आएको दुई महिनामा नै स्वदेश फर्किने नेपाली कामदारको अडानपछि कम्पनी पछि हट्यो । कम्पनीले होस्टल, पानी, काम गर्न आउन जान परेको समस्या, ओभर टाइम लगायत कामदारले राखेको सबै माग पुरा गरिदिने भयो । तीनवटा होष्टलमा ८२ जना बस्दै आएकामा अब हरेक १०/१० जना मात्र राखिने भयो ।

घटनामा घाइते भएका दीपक पौडेललाई सहयोग गर्न नेपाली कामदारले रकम उठाइरहेका छन् । अब उहाँ चाँडै नेपाल फर्कने तयारीमा हुनुहुन्छ ।

उज्यालो अनलाईनवाट