बबरमहलमा बम बिष्फोट गराउने ५ जना दुई बर्ष पछी पक्राउ

732 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ /   दुई वर्षअघि तीन जनाको ज्यान जाने गरी काठमाडौ बबरमहलमा भएको बम विष्फोटमा संलग्न पाँच जनालाई प्रहरीले पक्रेको छ । विष्फोटक सामग्री बनाउने सामग्री सहित संयुक्त जातीय मुक्ति मोर्चाका वीरेन्द्र तामाङ, सनबहादुर परियार, निमा शेर्पा, सन्तोष माझी र भानी नाथलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर हनुमान ढोकाले जनाएको छ  ।

पाँचै जना काठमाडौ उपत्यकामा आतंक मच्चाउने लगायत संविधानसभा चुनाब विथोल्ने सम्मका गतिविधिमा समेत लागेको सूचना पाएको प्रहरीले जनाएको छ । उनीहरुलाई शुक्रबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौ लगिएको छ ।
२०६८  फागुन १५ गते बबरमहलमा बम बिष्फोट हुंदा धादिङ जिल्लाको बैरेनी गाविस वडा नम्बर ६ का मानवहादुर तामाङ, वडा नम्बर १ का कृष्णवहादुर तामाङ र पिडा गाविस भष्मेखर्कका बिरवहादुर तामाङको ज्यान गएको थियो ।

वम विष्फोटमा परेर निर्दोष नागरिक मारिंदा पनि सरकारले आर्थिक सहयोगका लागि कुनै चासो नदेखाएपछि बबरमहल घटनामा पिडितभएकाहरु संघर्ष समिति गठन गरेर सडकमा उत्रिएका थिए । जिल्लाका विभिन्न संघ संस्था,नागरिक समाजका प्रतिनिधीका साथै स्थानीयसमुदायले समेत पिडितहरुको आन्दोलनलाई समर्थन गरि तत्काल आर्थिक सहयोगका लागि सरकारी निकायलाई दवाव दिएपछि सरकारले २०६९  जेठ २ गते मृत्तकका परिवारलाई सहायता वापत प्रतिपरिवार आठ लाख ५० हजार रुपैया सहयोग गर्ने निर्णय गरेको थियो ।