शेयर बजारमा आज पनि गिरावट

82 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । शेयर बजार ओरालो लाग्ने क्रम आज सोमबार पनि थामिएन ।

नेप्से ओरालो लाग्ने दर भने सामान्य मत्थर देखियो । उतार चढावबीच बजार परिसूचक नेप्से ३ अंकले ऋणात्मक रहेर १८ सय ४७ कायम भएर थामियो । दुई पटक सकारात्मक रहेपनि नेप्से अन्तिममा ऋणात्मक रहेर बन्द भयो । कारोबार हिजोको तुलनामा सामान्य सुधारिएर सवा अर्ब हाराहारीमा पुग्यो ।

सोमबार ५ वटा समूह हरियो रहँदा ८ वटा रातो रहे । बीमा, वित्त, विकास बैंक र सामूहिक लगानी कोष हरियो रहँदा अरु रातो रहेका हुन् । जीवन बीमा समूह सबैभन्दा उच्च १ प्रतिशत बराबरले उकालो लाग्यो । उत्पादनमूलक र व्यापार समूह दोहोरो अंकले झर्दा अरु सामान्य अंकले ऋणात्मक रहे ।

सोमबार नेपाल स्टक एक्सचेन्जमा २ सय ९२ कम्पनीको ३८ लाख ९६ हजार कित्ता शेयर १ अर्ब २० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । सोमबार गुमाउने भन्दा कमाउने कम्पनी अधिक रहे । यसदिन १ सय २२ कम्पनीको मूल्य बढ्दा १ सय ९ को घट्यो ।

सोमबार एनआरएन इक्फ्रास्ट्रक्चर डेभलपमेन्ट र माउण्टेन इनर्जीका शेयर नकारात्मक सर्किट लेवलमा कारोबार भयो । घटेको बजारमा पनि समाज लघुवित्तका लगानीकर्ताले ८ प्रतिशत कमाए ।