पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने निर्णयको सभासद थापाद्वारा स्वागत

788 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

yagyaपोखरा,  १२,कात्तिक – नेपाली कांग्रेस कास्कीका सभापति तथा कास्की क्षेत्र नं १ का सभासद यज्ञबहादुर थापाले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने सरकारको निर्णयलाई स्वागत गरेका छन् । यो  खबरले नेपाली कांग्रेस कास्की र व्यक्तिगत रुपमा आफू हर्षित भएको जनाउँदै उनले पोखरेली जनताको ४ दशक लामो सपना साकार भएको पनि बताएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङबीच भएको सम्झौता सोमबार मन्त्रिपरिषदको बैठकले अनुमोदन गरेको थियो । सरकारको यो निर्णयपछि विमानस्थल निर्माण सुरु गर्न पर्यटन मन्त्रालयलाई कुनै बाधा पर्ने छैन । प्राधिकरण र सिएएमसीबीच गत जेठ ९ मा २१ करोड ६० लाख डलरमा निर्माण सम्झौता भएको थियो ।

‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने वा नहुने भनेर कतिपयमा छाएको दुबिधाको बादल मात्रै सरकारको निर्णयले चिरेको छैन, यसका विरोधी र विपक्षीलाई पनि चोट दिँदै पोखरेली जनताको चाहनाको उच्च सम्मान गरेको छ,’ बुधबार थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पोखरेली जनताको माग र समयको आवश्यकतालाई मनन् गरी यो प्रक्रिया अगाडि बढाउन ठोस कदम चाल्ने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला साँच्चीकै धन्यवाद र प्रशंसाका पात्र हुनुहुन्छ ।’

मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प चाहिएको र पोखरा लगायत सम्पूर्ण पश्चिमाञ्चलको विकासका लागि अर्काे अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा बन्नुपर्ने धरातलीय यथार्थलाई बोध गर्नुलाई सभासद थापाले प्रधानमन्त्रीसहित सरकारको दूरदृष्टि र विकास प्रेमको संज्ञा दिएका छन् । ‘अनेक बहानाका अनेकथरी बाधा अल्झनलाई परास्त गरेर निर्माण प्रक्रिया अगाडि बढाउने दृढ निर्णय लिनु प्रधानमन्त्री कोइरालाको अत्यन्तै सह्रानीय कदम पनि हो,’ उनले भनेका छन्, ‘यसलाई पोखरेली जनता र इतिहासले उच्च मूल्यांकन गर्ने नै छन् ।’

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखरा र यस क्षेत्रको पर्यटनमा मात्रै होइन मुलुककै विकास र अर्थतन्त्रमा अभूतपूर्व योगदान पुग्ने विश्वास थापाले व्यक्ति गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री सुशील कोइरालासहित आआफ्नो ठाउँबाट पहल कदमी गर्ने पोखराको निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल, मिडिया लगायत संस्था र समुदाय पनि बधाई र धन्यवाद दुवैका पात्र भएको सभासद थापाले उल्लेख गरेका छन् ।