साउदीमै थलिएका प्रल्हाद तँग्रिने प्रयासमा, ऋण तिर्न नसकेर श्रीमती भगवान पुकार्दै

182 पटक पढिएको

प्रकाशित मिति: ७ कार्तिक २०७३, आईतवार ०५:०३

सम्पादक: Dhading News

धादिङको नलाङ २ का प्रल्हाद अर्याल शिक्षण अस्पताल महाराजगंजको बेड नं २२ मा तंग्रिने प्रयास गरिरहनु भएको छ । श्रीमती गीता सहारा दिंदै हुनुहुन्छ । साउदीबाट बिरामी भएर ५ महिनामै फर्किएका प्रल्हाद दुई महिनापछि फेरि थला पर्नु भएको हो ।

0-two-man2काठमाडौंबाट अहिले पनि दैनिक १२ देखि १५ सय जनाले रोजगारीका लागि देश छाडिरहेका छन् । विदेश जाने प्रायःले एउटै कारण बताउँछन् ‘देशमा रोजगारी छैन ।’

अर्याल यो भनाईसँग सहमत हुनुहुन्नथ्यो, जतिबेलासम्म उहाँले धादिङवेसीमा कुखुरा फारम सञ्चालन गर्नु भएको थियो । आफूसँग पर्याप्त लगानी गर्ने रकम भएर पनि होइन देशमै रोजगारी सुरु गरेको । भएको जग्गाजमिन कृषि विकास बैंक, धादिङमा धितो राखेर डेढ लाख रुपैंया ऋण लिएपछि काम थाल्नु भएको थियो ।

प्रलाद ७ वर्षको हुँदा बुबा बित्नुभयो । रोजगारी गर्न काठमाडौं आएका दाइ शंकर फर्किनुभएन । काठमाडौंमा काम गर्ने ठाउँबाट ज्याला बुझेर घर हिँडे भनेका दाइको अहिले सम्म पनि अतोपतो छैन । १४ वर्षको उमेरमा दाइले एक्लो बनाए । त्यसपछि घरखर्च टार्न प्रल्हादले नै उपाय लगाउनुपर्ने भयो ।

सानै छँदा कमाउन भारत पनि जानुभयो । तर उहाँको कमाइले परिवारको खर्च टर्ने कुरै थिएन । बुबाको मृत्यु र दाइ बेपत्ता भएपछि दिनदिनै अभाव बढ्दै गयो । प्रल्हाद जति हुर्किदै जानुभयो ऋणको बोझले पनि त्यतिनै थिच्दै गयो । दिदी र बहिनीको विवाह गर्दा, घर गोठ बनाउँदा होस वा आफ्नो विबाह ऋण काढेरै गरिएको थियो ।

तैपनि उहाँले विदेश जाने सोच बनाउनु भएन । गाउँका अगुवासँग सल्लाह गरेर र उनीहरुकै सहयोगमा कुखुरा फारम सुरु गर्नु भएको थियो ।

अव त ऋण तिरिएला परिवारलाई सुख दिन नसकेपनि गरिखान खाँचो नहोला । श्रीमानको मृत्यु र छोरो हराएको वियोगमा रहेकी आमाको मुहारमा केहि खुशी दिन सकिएला यस्तै यस्तै आश जाग्दै थियो ।

तर रोग लागेर सबै कुखुरा स्वाहा भए । कुखुरा फारमबाट सुको हात लागेन । उल्टै ऋण थपियो । त्यसपछि भने प्रल्हादको सोच पनि फेरियो । आफन्तको सल्लाह र सहयोगमा काम गर्न साउदी जानुभयो । साउदी जाँदा म्यानपावर कम्पनीलाई तिरेको डेढ लाख रुपैयाँ पनि गाउँले र आफन्तले नै जुटाएका थिए । जसले कुखुरा फारम सञ्चालन गर्दा पनि सहयोग गरेका थिए ।

तीन सन्तान बुढीआमा र श्रीमतीलाई छाडेर २०७२ सालको फागुनमा साउदी पुग्नुभयो । अस्पतालमा क्लिनिङको काम पाउनुभयो । श्रीमती गीतालाई साउदी पुगेपछि फोनमा भन्नु भएको थियो, “काम सजिलो छ । कमाइ महिनाको ३० हजार हुन्छ” गीताले थप्नुभयो–“तर हाम्रो आश धेरै रहेन । वैसाख २९ गते उहाँको साथीले फोन गरेर मेरो मान्छे बेहोस भएको सुनाए । उहाँलाई अस्पताल भर्ना गरेर टाउकाको अप्रेशन गरिएछ ।”

गीताको भनाईबाट प्रष्ट बुझ्न सकिन्छ यो परिवारको पीडा । विदेशमा प्रल्हादलाई आफ्नै स्वास्थ्यले धोका दिएपनि कम्पनीले भने राम्रै साथ दियो । उपचारमा लागेको २७ लाख रुपैयाँ कम्पनीले नै तिर्‍यो । तीन महिनापछि नेपाल फर्किंदा ८० हजार रुपैयाँ दिएको थियो । प्रल्हादलाई ६ महिना आराम गरेर यहि कम्पनीमा फर्किनु भनेर साउदीको टिकट पनि दियो ।

औषधी खाँदै आराम गरिरहेका प्रल्हाद ६ महिना पछि जाने सोचमा हुनुहुन्थ्यो । तर कम्मर मुनि पछाडीको भागमा घाउ भयो । सुरु सुरुमा सामान्य होला भनेर सहेरै बस्नुभयो । तर घाउ बढ्दै गएपछि असोज १ गते गाउँकै स्वास्थ्य चौकीमा जानुभयो । स्वास्थ्यकर्मीले पायल्स भएको अनुमानमा पायल्सको औषधी दिए ६ दिनलाई । ठिक भएन । फेरि स्वास्थ्यचौकीमा सल्लाह लिनुभयो । औषधीको मात्रा पुगेन अव चार दिन थप्नुस् भनेर फेरि औषधी थपियो । दश दिनसम्म औषधी खाँदा प्रल्हाद सन्चो हुनको साटो झन थला पर्नुभयो ।

स्टेचरमा बोकेर गाउँले र आफन्तले धादिङवेसी पु¥याए । धादिङवेसीबाट माइक्रोबसमा काठमाडौं ल्याइयो र १३ गते राती त्रि.वि शिक्षण अस्पतालमा भर्ना गरियो ।

१४ गते बिहान घाउको अप्रेसन भयो । त्यसैदिन दिउँसोदेखि प्रल्हादलाई झन साह्रो पार्‍यो । उहाँ बेहोस हुनुभयो । डाक्टरले घाउको इन्फेक्सन फैलिएकाले गाह्रो भएको भने ।

प्रल्हादको अवस्था चिन्ताजनक भएपछि डाक्टरले गीतालाई भने “अव जे पनि हुनसक्छ सुधारको संभावना कम छ…!” उपचारमा संलग्न डाक्टरलेनै यसो भनेपछि उनीहरुसँग धेरै विकल्प बाँकी थिएन । जे हुन्छ त्यसैलाई स्वीकार्नु बाहेक । गीताले डाक्टरलाई अनुरोध गर्नुभयो, “डाक्टर साब..हाम्रो बिरामी श्वास हुन्जेल अन्त कहिँ पनि लाँदैनौं । बितेपनि यही बेडमा बित्नुहुन्छ । तपाईंहरुले सकेको प्रयास गरिदिनुस्, खर्च जसरी भएपनि जुटाउँछौं ।”

डाक्टरलाई खर्च जुटाउँछौं भनेपनि खर्च जुटाउन सक्ने अवस्था गीतासँग थिएन । आर्थिक अभावमा यसअघि पनि अस्पतालले १६ गतेदेखि बेड शुल्क फ्रि गरेको थियो । गाउँलेहरुले ५ रुपैयाँदेखि सकेसम्म सहयोग गरेका थिए । आफन्तले पनि सहयोग गरे । भान्जा लक्ष्मण दवाडीको अग्रसरतामा गाउँभर सहयोग संकलन गरियो । अहिले पनि सहयोग गरिरहेका छन् आफन्त र गाउँलेले ।

गीताले ऋण काढेर ल्याएको एक लाख रुपैयाँ बाहेक सहयोगमै उपचार चलिरहेको छ । प्रल्हादको उपचारमा चार लाख रुपैयाँ खर्च भैसकेको छ । बहिनी ज्वाइंले २० हजार, मामाले ३० हजार र गीताका भाइले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । यस बाहेको रकम लक्ष्मणले नै जुटाउनु भएको छ । “खै लक्ष्मण भान्जाले कताबाट ल्याउनु भा हो । मलाई यी माइजु खर्च भन्दै दिनुहुन्छ । अहिले हामीलाई बचाउने भनेकै भान्जा निस्किनु भा छ । उहाँ त हाम्रा लागि भगवान जतिकै हुनु भो । रातसाँझ केही भन्नुहुन्न” गीताले भन्नुभयो ।

माया मार्न लागिएका प्रल्हादको अवस्था अहिले सुधार हुँदै गएको छ । त्रि.वि शिक्षण कस्पतालको बेड नं २२ मा प्रल्हाद खिस्स हाँस्न थाल्नु भएको छ । त्यहि हाँसोमा गीताको पनि खुसी मिसिएको छ । श्रीमानलाई हेर्दै गीताले भन्नुभयो, “हामी त माया मारिसकेका थियौं, अव त आश पलायो । बोल्न थाल्नु भा छ ।”
प्रल्हादको अझै दुईवटा अपे्रशन बाँकी छ । स्वास्थ्यमा आएको सुधारले खुसी थपेपनि अर्कातिर ऋणको चिन्ता बढ्दो छ । अव त आउने बाटोपनि सकिंदै छ । आफन्त र गाउँलेहरुले पहिल्यै सहयोग गरिसके । अव कसलाई गुहार्ने ?

भएको जग्गाजमिन कृषि विकास बैंक, धादिङको नाममा छ । बैंकले फागुन २९ गते पत्र बुझाउँदै सात दिन भित्र ऋण नबुझाए लिलामी गरिदिने चेतावनी दिइसकेको थियो । “मेरो मान्छे कमाउन जानु भाछ पठाएपछि पहिला बैंकमा लिएर आउँछु” भन्दै गीताले अनुरोध गर्नुभयो । तर बैंकले मानेन । लक्ष्मणका बुबाले ४० हजार ऋण खोजीदिएपछि जग्गा जमिन जोगिएको थियो । तर अब त्यो पनि के हुने टुँगो छैन ।

जीवन मरणको दोसादमा पुगेका श्रीमान । जताततै ऋणैऋण । परिवारको विचल्लीले गीता शिक्षण अस्पतालमा छटपटीमा हुनुहुन्छ । उहाँको मधुरो बोलीबाट निस्कने यी शब्दले सहजै बुझाउँछ त्यो छटपटी “घरमा भैंसी बाख्रा छन् । तीन छोराछोरी गाउँकै स्कुलमा पढ्छन् । घाँस काट्नु पर्छ । आफू यता आएर बस्नु परेको छ । आमाले बुढेसकालमा साह्रै दुःख पाउनु भो क्या । खेती लाउने सिजन त हैन तर ६० वर्षको मान्छेलाई दुःख छ नि हैन र ?”

गीताका अनुसार उहाँले सुख र खुसीको अनुभव गर्न नपाएको धेरै भैसक्यो । गीताको बाध्यता पनि उस्तै छ, “पीर लिएर पो के गर्नु र ! फुत्त आउने फुत्त जाने ठाउँ हैन । टाढा छ ।”

ऋण कति पुग्यो उहाँसँग पनि ठ्याक्कै हिसाव छैन । तर अव ऋण कसरि तिर्ने त भन्ने जिज्ञासामा गीताले भन्नुभयो, “कसरी तिर्ने कसरी ! मैले पनि केहि सोच्न सकेकी छैन ।” अर्को प्रश्न गर्न नपाउँदै थप्नुभयो – “भन्न त मैले अरु कसैलाई पनि भनेको छैन । तर आफैं विदेश जाने सोचमा पो छु त सर । ऋण त तिर्न प¥यो नि हैन र ! के गर्ने अर्काको खाएपछि तिर्नै परो । मिल्यो भने आफैं विदेश गएर तिर्छु । मैले पनि सकिन भने छोरा छन छोराले तिर्लान नि !”

अव प्रल्हाद ठिक भएपनि विदेश जान सक्नुहुन्न । गह्रौं काम गर्न सक्नुहुन्न । त्यहि भएर होला गीताले यो सबै आफ्नो थाप्लोमा आएको बुझिसक्नु भएको छ । गीता भन्नुहुन्छ, “श्रीमान बिरामी भएकाले केही पनि भनेकी छैन । उहाँलाई आफ्नै तनाव छ । फेरि ऋणको तनाव बढ्ला । म विदेश जाने कुरालाई फेरि कसरी लिनु होला ! तनाव लिनु भो भने नि !”

अस्पतालले १५/२० दिनपछि घर फर्किन सक्नुहुन्छ तर फेरि आउनुपर्छ भनेको छ । अस्पतालबाट फर्किएपछि के गर्ने गीताले पनि सोच्न बाँकी छ, “श्रीमानको स्याहार त गर्नै पर्‍यो । ऋण तिर्नु छ । छोराछोरीको पढाइ पनि छ । यो गर्छु भन्ने सोच्नै सकेकी छैन । भगवानले पनि कति पीडा दिइरहलान र एक दिन त हेर्लान !”उज्यालो अनलाइनबाट 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

७ कार्तिक २०७३, आईतवार ०५:०३ मा प्रकाशित

समाचार

सबै

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । लायन्स क्लब नेपाल हाईलाईटको आयोजना मा धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ मा पर्ने.....

औषधिको राजा पिपलको पात

हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न सकेर व्यर्थ त्यसलाई नास पार्दै जान्छौ ।.....

कार्तिक १ देखि देशभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड

धादिङ। सरकारले आगामी १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने.....

खेस्टेखोलामा माइक्रो र मोटरसाइकल ठोक्किंदा रामकृष्ण भट्टको मृत्यु

धादिङ ,२४ असोज, । धादिङको गल्छी गाउँपालिका–७ मा पर्ने पृथ्वीराजमार्गको खेस्टेखोलामा माइक्रोबस र मोटरसाइकल एक.....

झुटो समाचार लेखाएर चरित्र हत्या गर्न खोजियो -सांसद लोहनी

धादिङ १८ असोज । धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम नेपाल कम्युनिष्ट पार्टी.....

Categories