युवाले थाले “बेटर नेपाल” अभियान

588 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

देश–विदेशमा फैलिएका ६४ युवाले “बेटर नेपाल” नामक एक बृहत् अभियानको थालनी गरेका छन् । नेपालका अतिरिक्त भारत, अमेरिका, जर्मनी, अष्ट्रेलिया, जापान आदि देशमा अध्ययनरत अथवा कार्यरत नेपाली युवा यस अभियानमा जुटेका हुन् । अभियानमा यी युवाले आफ्नो ज्ञान, सीप, समय र कला र आम्दामीलाई राष्ट्रिय जीवनको सकारात्मक उन्नतिका लागि प्रयोग गर्ने बताएका छन् । ६४ बाट शुरु भएको अभियानलाई अन्य युवामा क्रमशः बिस्तार गर्दै लगिने जनाइएको छ ।
कार्तिक २० र २१, २०७३ का दिन धादिङ् बेसीको जनजीविका होटेलमा चलेको व्यापक विचार विमर्शपछि जारी गरिएको “धादिङ् घोषणपत्र” मार्फत् यस अभियानको घोषणा गरिएको छ । अभियानमा चिकित्सा, आयुर्वेद, कृषि, कला साहित्य, समाजसेवा, विद्युत प्रविधि, पत्रकारिता आदि विविध क्षेत्रका विद्यार्थी र जानकार समाविष्ट छन् । अभियानको संयोजकको रुपमा धादिङ्का युवा अभियन्ता गणेश ढुङ्गानालाई चयन गरिएको घोषणापत्रमा जानकारी गराइएको छ । अभियानले प्रथम वर्षमा उत्प्रेरणा र शसक्तीकरण, सूचना र प्रविधि तथा साहित्य–संस्कृति गरी तीन क्षेत्रमा देशैभरि कार्यक्रम गर्नेछ, जसमा क्रमशः चिकित्सक नवीन भट्ट, सूचना प्राविधिक अनिल खतिवडा र साहित्यकार अमृत अधिकारीलाई यी क्षेत्रको संयोजक बनाइएको छ । यसैगरी समालोचक महेश पौड्याल, उद्यमी गणेशप्रसाद जोशी र कवि नीरा शर्मालाई सल्लाहकार बनाइएको घोषणापत्रमा जनाइएको छ । अभियानमा नेपालको मधेस क्षेत्रका रोशन कुमार दास, कौशल कुमार दास, धीरज महतो र सञ्जीव दास तथा विकट कर्णालीका कुबेर सोडारी, दीपक पौडेल, सागर खडकालगायतका युवा पनि सम्मिलित रहेको हुँदो यो सम्पूर्ण देशको अभियान भएको संयोजक ढुङ्गानाले जानकारी गराएका छन् ।

अभियानले पहिलो औपाचारिक कार्यक्रम १ जनवरी २०१७ मा गर्ने जनाएको छ ।

मिशनः बेटर नेपाल धादिङ् घोषणापत्र

हामी, विविभ विषयको अध्ययन अथवा कामको लागि स्वदेश र विदेशका विभिन्न ठाउँमा फैलिएका नेपाली युवा, यो निर्णय गर्दछौँ कि हामी “बेटर नेपला फाउन्डेशनको” मातहतमा आफूलाई सङ्गठित गर्दछौँ, जहाँबाट हामी आफ्नो ज्ञान, सीप, शिक्षा, समय र सम्भावनालाई देश–विदेशमा रहेका हामीजस्तै युवामा सकारात्मक प्रभावका लागि प्रयोग गरी उनीहरूलाई अझ शसक्त बनाउँदै, उनीहरू र हाम्रो साझा शक्तिलाई यथाशक्य राष्ट्रको सेवामा समर्पण गर्नेछौँ ।

धादिङ बेसीमा, कार्तिक २० र २१ गते, २०७३ का दिन आयोजित सङ्गठनको उद्भव कार्यशालामा भएका बृहत् छलफलका आधारमा हामीले १ जनवरी सन् २०१७ का दिनबाट “मिशनः बेटर नेपालको” शुभारम्भ गर्नेछौँ ।

मिशनको मूल अवधारणा

“मिशन बेटर नेपालले देश–विदेशमा रहेका नेपाली युवाको ज्ञान, सीप, अनुभव र कलाको प्रयोगद्वारा अन्य युवाहरूलाई सशक्तिकरण र प्रेरित गर्दै, सबैको सङ्गठित उर्जालाई राष्ट्रको जीवनमा सकारात्मक प्रभाव उत्पन्न गर्नका लागि प्रयोग गर्नेछौं, जसका लागि स्थानीय, मौलिक, सास्ंकतिक र घरेलु ज्ञानलाई परीक्षित र सफल वैज्ञानिक र प्राविधिक ज्ञानसग अन्तर्घुलन गर्नेछौँ ।”

निर्णयहरू

दुई दिनको व्यापक विचारविमर्श पछि, यस कार्यशालामा सहभागी, तथा बेटर नेपाल फाउण्डेशनमा आबद्ध हामी युवाहरूले निम्न निर्णयहरू सर्वसम्मतिबाट लिएका छौँः

१. हामी बेटर नेपाल फाउण्डेशन नामक गैरसरकारी समूहको मातहतमा रही, १ जनवरी २०१७ बाट विधिवत रुपमा मिशनः बेटर नेपाल शुरु गर्नेछौँ ।
२. हामी एकअर्कालाई प्रेम, आस्था, विश्वास र आपसी समझदारीका ती मूल्यहरूले बाँध्नेछौँ जुन मूल्य हामीलाई माया र स्नेहले एकताको यस छातामुनि ल्याउनुहुने हाम्रा गुरुहरूले विरासतमा दिनुभएको छ । त्यसैले, यस मिशनमा आबद्ध हामी एकअर्कामा दाजुभाइ, दिदीबहिनीको सम्बन्ध कायम गर्नेछौँ ।
३. हाम्रा कामहरू सञ्चालनका निमित्त हामीले श्री गणेश ढुङ्गानलाई “संयोजक” मनोनित गरेका छाँै ।
४. सन् २०१७ मा हामी तीन क्षेत्रमा काम गर्नेछौँ ः उत्प्रेरणा र सशक्तिकरण, सूचना–प्रविधि, तथा साहित्य–संस्कृति । यी क्षेत्रका लागि क्रमश श्री नवीन भट्ट, श्री अनिल खतिवडा र श्री अमृत अधिकारीलाई संयोजक मनोनित गरेका छौँ । संयोजकज्यूहरूले आ–आफ्नो क्षेत्रका लागि क्षेत्रगत समूह आफैँ निर्माण गरी देशभरिका लागि तय गरिएका कार्यक्रमहरू सम्पन्न गर्नुहुनेछ ।
५. हामीले श्री महेश पौड्याल, श्री गणेशप्रसाद जोशी र श्री निरा शर्मालाई सल्लाहकार नियुक्त गरेका छौँ ।
६. हामी, एक वर्षको कर्यक्रम सम्पन्न गरिसकेपछि समीक्षा र अगामि योजना निर्माणका लागि पुनः यसै गरी भेला हुनेछौँ । तर, आवश्यकता परेमा मिशनका संयोजकले बैठक बोलाउन सक्नुहुनेछ ।