डिप बोरिङबाट काम्राङको एक सय २२ घरमा खानेपानी

1335 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ ७ असार-  धादिङको सिद्धलेक गाउँपालिकाको काम्राङमा डिप बोरिङ प्रविधिबाट खानेपानी आयोजना संचालन गरि गाउँका एक सय २२ घर धुरीमा वितरण गरिएको छ ।

धादिङ जिल्लाकै सुख्खाग्रस्त क्षेत्रका रुपमा चिनिएको सिद्धलेक गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने बेलघारी, झगरे, काम्राङ,कत्लेडाँडा, डाँडाटोल, आदामारा लगायतका बस्तीमा बर्षौ देखिको खानेपानी समस्या समाधान गर्न काम्राङ डिप बोरिङ खानेपानी आयोजना सफल भएको छ ।

बर्षौ देखि खानेपानीको संकट रहेको बस्तीमा २०७२ साल बैशाख १२ गतेको भुकम्प पछि पानीको मुहान सुकेपछि त्यहाँका वासिन्दाले खानेपानीको चरम अभाव झेलिरहेका थिए । सिद्धलेक गाउँपालिका र अक्सफामसँगको सहकार्यमा फोकस नेपालद्वारा सम्पन्न आयोजनाको शनिवार विधिवत रुपमा उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

गाउँका एक सय २२ घरधुरी, एक बिद्यालय र अमा समूहमा एक घर एक धारो निर्माण गरी खानेपानी वितरण गरिएको आयोजनाको प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलबाट शनिवार उद्घाटन गरिएको छ । खानेपानी उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री जम्कट्टेलले प्रदेश सरकारले प्रदेश नम्बर ३ का नागरिकहरुको हितको लागि विभिन्न नयाँ कार्यक्रमहरु सुरुवात गरेको बताउनुभयो ।सफा र स्वच्छ खानेपानी नागरिकको पहिलो आवश्यकता रहेको भन्दै मन्त्री जमकट्टेलले खानेपानीको क्षेत्रमा प्रदेश सरकारले पनि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । सम्मृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकता दिनका लागि प्रदेश तथा स्थानीय तहले अझै सशक्त भएर लाग्नु पर्नेमा उहाँ जोड दिनु भयो ।

प्रदेशका १३ वटै जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउनको लागि ३ नम्बर प्रदेश सरकारले दुग्ध उत्पादक किसानहरुलाई बिक्री भएको दुधमा लिटरको एक रुपैँयाका दरले भुक्तानी दिने योजना लागू हुन लागेको मन्त्री जमकट्टेलले जानकारी दिनु्भयो । यस्ता सहयोग तिनै किसानले पाउँछन जस्ले व्यवसायिक रुपमा दुग्ध उत्पादन गरि बिक्री बितरण गरिरहेका छन् ।

कृषिलाई आधुनिकीकरण गर्दै व्यवसायिक बनाउन आवश्यक पर्ने परामर्श तथा सहयोग उपलव्ध गराउन अब प्रत्येक वडामा २ जना कृषक सहयोगी परिचालन गरिने पनि मन्त्रीले वताउनुभयो । कृषक सहयोगीहरुलाई गाउँमा पठाउनु अघि कृषिका बिषयमा आधारभूत प्राविधिक तालिम दिईने भएको छ । यसै गरी धादिङमा कृषि क्षेत्रलाई विकास गर्नको लागि धादिङको बिशालटारमा कृषि उपज संकलन गर्ने भण्डारण घर बनाईन लागेको र वेनिघाट रोराङमै प्रदेश सरकार मार्फत कृषक तालिम केन्द्र स्थापना हुन लागेको पनि मन्त्री जमकट्टेलले जानकारी दिनु भयो ।

सिद्धलेक गाउँपालिकाको ३० लााख १० हजार,अक्सफाम र फोकस नेपालको ३९ लाख ७७ हजार सात सय ३६ र स्थानीय जनश्रमदान १७ लााख ८२ हजार आठ सय आठ रुपैँया गरी जम्मा ८७ लाख ७० हजार पाँच सय ४४ रुपैयाँको लागतमा डिपबोरिङ खानेपानी आयोजना सम्पन्न भएको हो । आयोजनाबाट स्थानीय १ सय २२ घरधुरीका ६ सय ६५ जना नागरिक लाभान्वित भएका छन् । जमिन मुनि १ सय ३२ मिटर तलबाट बोरिङ गरेर तानेको पानी ५० हजार लिटरको ट्याङकीमा रिजर्भ गरेर दुई हजार एक सय २३ मिटर मुख्य पाईप लाइन र तीन हजार नौ सय ३० मिटर बितरण लाइन मार्फत खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष मानवहादुर घलेले वताउनु भयो ।

पानीको अभावको कारणले बसाई सर्ने क्रम बढ्दै गएको र पछिल्लो समय बस्तीनै खाली हुने अवस्था आएपछि समुदायको माग र उनिहरुले भोग्नु परेको सास्तीलाई ध्यानमा राखी गाउँपालिकाले आयोजना निर्माणमा सहयोग गरेको गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले कार्यक्रममा जानकारी दिनुभयो । एक बर्ष अघि सम्म एक गाग्रो पानीका लागि गाउँदेखि टाढा रहेको खोल्सा र पंधेरोमा चाहर्न वाध्य महिलाहरु अहिले निकै खुसी देखिएका छन । घर घरमा धारो मार्फत पानी आउँदा सपना हो कि विपना हो जस्तो लागेको स्थानीय टेकमाया मगरले वताउनु भयो । गाउँमा घरघरमा खानेपानी पाएपछि गाउँले खुसी भएका छन् ।

आयोजना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला शर्मा, जिल्ला समन्वय समितिका सदस्य कृष्णप्रसाद अर्याल, प्रहरी उपरिक्षक राजकुमार बैदवार, वडाध्यक्षहरु दिलवहादुर घले,लक्ष्मण खतिवडा, सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराई, फोकस नेपालका अध्यक्ष हेमराज छत्कुली का साथै सहयोगी संस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । कार्यक्रममा आयोजनाका लागि सहयोग गर्ने व्यक्ति तथा समूह, जग्गादाता लगायतलाई सम्मान गरिएको थियो ।