नेजाद्धारा एनआरएन अमेरिकाका उम्मेद्वारहरुसँग अन्तरक्रिया 

659 पटक पढिएको

सम्पादक: Dhadingnews.com

     न्युयोर्क,- अमेरिकामा पहिलोपटक हुन लागेको एनआरएन अमेरिकाको आसन्न  चुनावको पूर्वसन्ध्यामा चुनावी मैदानमा रहेका उमेद्वारहरुसँग नेपाल अमेरिका पत्रकार संघ, नेजाले एक अन्तक्रिया कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । आगामी जुन ४ देखि ९ सम्म हुने एनआरएनए अमेरिकाको चुनावमार्फत् नेतृत्व लिने प्रयासमा रहेका अध्यक्ष पदका तीनै जना प्रत्यासी उम्मेद्वारसहित विभिन्न पदका २५ जना उमेद्वारहरुको रोचक उपस्थिति रहेको सो कार्यक्रममा सहभागीहरुले विचारोत्तेजक धारणा राखेका थिए ।
    nrn3शनिवार न्यूयोर्कमा सम्पन्न यो कार्यक्रम गत मे ३ तारिखमा निर्वाचित नेजाको नयाँ कार्यसमितिको पहिलो सार्वजनिक कार्यक्रम हो । उक्त अन्तक्र्रिया कार्यक्रममा सहभागी एनआरएनएका उम्मेदवारहरुले सामूहिक लगानी र नेपालीको अपनत्वको भावना जागरुक गराउँदै समृद्ध नेपालको परिकल्पनामा विदेशमा बस्ने नेपालीहरुको भूमिका रहनेमा जोड दिएका छन् । उम्मेदवारहरुले मत माग्ने सिलसिलामा एक पटकको नेपाली सधैंको नेपाली भन्ने भावनालाई कदर गर्न नेपाल सरकारसँग माग पनि गरेका छन् । विदेशी भूमिमा बसेर आफनो भाग्य र भविष्यको खोजी गरिरहेका नेपालीले भोग्नु परेको समस्यालाई एनआरएनको सामूहिक मुद्दा हुनुपर्नेमा उनीहरुको जोड रहेको थियो ।
    सो अन्तरक्रियामा सहभागी अध्यक्षका प्रत्यासीहरु खगेन्द्र जिसी, शिवकुमार राई र विष्णुहरि द्यौरालीले आफनो एजेण्डा पेश गरेका थिए । तीनै जना उमेदवारहरुले आफ्नो घोषित कार्ययोजना र मतदाताको माझमा आफना एजेण्डाहरुलाई स्पष्ट रुपमा राख्ने मौका पाएकोमा खुशी समेत व्यक्त गरेका थिए ।
   एनआरएन आइसीसीका क्षेत्रीय उपसंयोजक सोनाम लामाले सवैको चासो र चिन्ताको विषयलाई उमेदवारहरुले जिम्मेवार ढंगले अगाडी बढाउनुपर्ने वताए ।
    नेजाको उक्त कार्यक्रममा आफ्ना एजेण्डा प्रस्तुत गर्नेहरुमा चुनावी प्रतिस्पर्धामा रहेका बरिष्ठ उपाध्यक्षका प्रत्यासीहरु सानुवावु सिलवाल र लोक तिवारी, उपाध्यक्षका प्रत्यासी श्री प्रसाद पराजुली, सुर्य लम्साल र वनिता कतिलाले आफ्नो धारणा राखेका थिए ।
त्यसैगरी महासचिवका वीआर लामा, तिलक श्रेष्ठ र कृष्ण पोखरेलले पनि आफुलाई मतदाताहरुको माझमा विजयको माला पहिराउन आग्रह गर्दै आफनो कार्ययोजनालाई आकर्षक रुपमा प्रस्तुत गरेका थिए ।
झन्डै चार घण्टासम्म चलेको उक्त कार्यक्रममा आइसीसी उम्मेदवारहरु डा विनोद शाह, नविन शेरचन र राजा घलेले एनआरएन अमेरिकालाई संसारमै प्रभावकारी एवं सहयोगी बनाउनुपर्नेमा जोड दिए । मतदातासमक्ष प्रत्यक्ष भेटघाट गरेर आफ्ना विचार राख्नेहरुमा सहसचिव पदका उमेद्वारहरु उपेन्द्र भट्ट र सतेन्द्र साह पनि थिए । कोषाध्यक्ष पदका प्रत्यासी मिलन शाही, सुमन सापकोटा, सह कोषाध्यक्ष पदका  सञ्जीवकुमार श्रेष्ठ, मिडिया कोर्डिनेटर पदका प्रत्यासी रामप्रसाद खरेल र सदस्य पदका सरोज श्रेष्ठ, विष्णुमान प्रधान, लक्ष्मी बजगाँई, शुक्रराज घिमिरे र रविन वज्राचार्य थिए । न्यूयोर्कमा रहेका स्थानिय नेपाली समुदायको प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तिहरु अवैतनिक महावाणिज्य दूत प्रेमराजा महत, प्रा डा तारा निरौला, आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष लुईसाड वाईवाले सक्षम नेतृत्वको पक्षमा आफुहरु उभिएको धारणा राखेका थिए ।
 सो अन्तक्र्रियामा निर्वाचन कमिटीका संयोजक अधिवक्ता विनोद रोका र विधान मस्यौदा समितिका संयोजक दुर्गा भुर्तेलले निर्वाचनको आचार संहिता, निर्वाचनको प्रक्रिया लगायतका विषयमा प्रकाश पारेका थिए । मतदाताहरुले पनि उमेदवारहरुलाई सुझाव दिदै मतदान प्रक्रियामा देखिएका प्राविधिक समस्याहरु समाधानमा सम्वन्धित पक्षले ध्यानदिनुपर्ने वताएका थिए ।
   नेजाका अध्यक्ष गौतम दाहालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेजाका पूर्व अध्यक्ष एवं सल्लाहकार आडछिरिड शेर्पाले एनआरएन अमेरिकाको आसन्न चुनावको संघारमा मतदाता र उम्मेदवार दुवै पक्षलाई एउटै थलोमा भेटघाट हुनेगरि नेजाले गराएको छलफल निकै उपलव्धिमुलक रहेको वताए । दर्शक दीर्घाबाट उठेका विभिन्न प्रश्नको जवाफ दिदै उम्मेदवार र निर्वाचन कमिटीले निर्वाचन स्वन्तत्र र निष्पक्ष हुने कुरामा विश्वास गरिदिन आग्रह पनि गरेका थिए । नेजाका महासचिव भोला आचार्यले संचालन गरेको उक्त कार्यक्रमलाई इनेप्लिज डटकम र वीआरटी नेपाल डटकमले प्रत्यक्ष प्रसारण गरेको थियो ।