विप्रेषण उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने

700 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, २३ असोज । व्यवस्थापिका– संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७१ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भयो ।

श्रम तथा रोजगार, महिला, बालबालिका तथा समाजकल्याण, वाणिज्य तथा आपूर्ति र युवा तथा खेलकुद मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको हो । छलफलमा सभासद्ले नेपालको भारत र चीनसँगको व्यापार घाटा रु सात अर्ब नाघेको, राज्यले आयात प्रतिस्थापन गर्न नसकेको, निर्यात १२ प्रतिशतमा सीमित रहेको, खेलकुदमा राजनीतीकरण बढ्दै गएको, उत्साहजनक खेलमैदान नभएको, दैनिक एक हजार सय व्यक्ति वैदेशिक रोजगारमा गइरहेका, बोक्सी र महिला हिंसा तथा द्वन्द्वमा परेका बालबालिकाको हित हुन नसकेको भनी आआफ्नो धारणा राखेका थिए ।

सभामुख सुभाषचन्द्र नेम्वाङले विनियोजन विधेयकमाथिको छलफलमा सभासद्लाई दलीय आधारमा समय दिएपछि श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको शीर्षकमाथि विभिन्न सभासद्ले वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने, स्वदेशमै रोजगारको व्यवस्था हुनुपर्ने र वैदेशिक रोजगार कम्पनीको अनुगमनको व्यवस्था हुनुपर्ने बताउनुभयो ।

महिला, बालबालिका तथा समाज कल्याणमन्त्रालयका विभिन्न शीर्षकमाथि भएको छलफलमा सभासद्ले महिला, ज्येष्ठ नागरिक, एकल महिला अपाङ्ग र वृद्धको उत्थानका लागि थप बजेटको व्यवस्थाको साथै बोक्सीकी आरोपमा दण्डित हुनुपर्ने रुढीवादी परम्पराको अन्त्यका लागि सचेतामूलक कार्यक्रम सञ्चालन तथा द्वन्द्व र हिंसामा परेका बालबालिकाको पुनः स्थापनाका लागि बजेट हुनुपर्नेमा जोड दिनुभयो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको शीर्षकमाथिको छलफलमा सभासद्ले भारत र चीनसँगको व्यापारघाटा कम गर्न कृषि, जलस्रोत र पयर्टन क्षेत्रको विकासका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो ।