पाँचतार होटल ‘शेराटन काठमाडौं होटल’ बन्ने

762 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । एमआईटी ग्रुप होल्डिङसले काठमाडौंमा पाँचतार होटल ‘शेराटन काठमाडौं होटल’ बनाउने भएको छ । सो होटलको गैरआवासीय नेपाली दिवसका अबसरमा आगामी अक्टुवर ११ तारिखमा प्रधानमन्त्री सुशील कोइरालाले शिलन्यास गर्नेछन् ।

करिव ८ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको होटलमा सत प्रतिशत बैदेशिक (अष्ट्रेलियन) लगानी रहने छ । होटलको प्रर्बद्धक अष्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङस रहेको छ भने ब्यबस्थापन तथा संचालन सिंगापुरको स्टारवुड ग्रुपले गर्ने छ ।

काठमाडौंको कान्तिपथस्थित केशरमहलसँगै रहेको करिव १४ रोपनी क्षेत्रफलमा होटल निर्माण हुने छ । १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेष्टरुम हुने जनाएको छ ।

हाल होटलको डिजाइन र नक्सा पास भइसकेको छ भने शिलन्यास लगत्तै निर्माण कार्य सुरु हुने छ । सन् २०१७ को अन्त्यसम्ममा निर्माण सम्पन्न गरी सन् २०१८ फेब्रुअरी महिनाबाट होटल संचालन गर्ने लक्ष्य लिइएको छ । पाँचतारे लक्जरी होटल शेराटन काठमाडौंमा २१८ वटा गेष्टरुम र सुइट रहने छन् । हेल्थ क्लव, स्पा, वातानुकुलित स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुबिधा उपलब्ध हुनेछन् । होटलभित्रै रिटेल सपिङ सुबिधा हुने छ भने स्थानीय र अन्तरराष्ट्रिय स्वादका खानाको आनन्द लिन सकिने छ ।

बिबाह तथा सभा समारोहका लागि करिव एक हजार सिट क्षमताको सभाकक्ष हुने छ जुन काठमाडौंमा हालसम्म उपलब्धमध्ये सवैभन्दा ठूलो हुने छ । यसबाहेक थप दुईवटा सभाकक्ष, तीनवटा मिटिङ रुम र बोर्ड रुम पनि रहनेछन् ।

भवनको निर्माण आधुनिक ‘पोष्ट टेन्सन्ड कंक्रिट’ बिधिमार्फत् गरिने छ, जुन काठमाण्डौमा पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसले भवनलाई बलियो र सुरक्षित बनाउने छ ।